coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

मौका परीक्षा नहुँदा विद्यार्थी शोधपत्र लेख्न वञ्चित

काठमाडौं –त्रिभुवन विश्वविद्यालयले समयमै मौका परीक्षा सञ्चालन नगर्दा भौतिक शस्त्र स्नातकोत्तर तहका ६० विद्यार्थी शोधपत्र (थेसिस) लेख्न वञ्चित भएका छन् । यसले विद्यार्थीको स्वदेश तथा विदेशमा गएर अगाडिको उच्च शिक्षा हासिल गर्ने बाटो छेकेको छ। 

सेन्ट जेभियर्स कलेज माइतीघरका स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थी आशीष पौडेलले दुई वर्षअघि त्रिभुवविश्वविद्यालयअन्तर्गतको यो कलेजमा  भौतिकशास्त्रमा भर्ना भएका थिए । निजी कलेज र स्तरीय पठनपाठन भए पनि त्रिभुवन विश्वविद्यालयले समयमै मौका परीक्षा सञ्चालन नगर्दा उनको एक वर्ष खेर जान लागेको हो। 

विश्वविद्यालयको लापरबाहीका कारण भौतिक शास्त्र स्नातकोत्तर तहमा शोधपत्र लेख्न चाहने ६० विद्यार्थीको भाविष्य अन्योल बनेको छ ।

मौका उनी मात्र होइन, विश्वविद्यालयको लापरबाहीका कारण भौतिक शास्त्र स्नातकोत्तर तहमा शोधपत्र लेख्न चाहने ६० विद्यार्थीको भाविष्य अन्योल बनेको छ । उनीहरुसँग शैक्षिक योग्यताको प्रमाणपत्र नभएपछि थुप्रै अवसरबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न भएको पाटन संयुक्त क्याम्पसका विद्यार्थी प्रदीप लुइँटेलको गुनासो छ । ‘पहिलो सेमेस्टरको परीक्षा ०७३ पुस  १६ गते सकियो,’ लुइँटेलले नागरिकसँग भने, ‘यसको नतिजा एक महिनाभित्र नआएर परीक्षा सकिएको ६ महिनापछि गत वर्ष असारमा आयो ।’ मौका परीक्षा आउँदो मंसिर २६ गते हुने तय भएको छ।

विश्वविद्यालयले दुई वर्षअघि विश्वविद्यालय शिक्षामा सुधार गर्ने उद्देश्यसाथ समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने लक्ष्यसहित  स्नातकोत्तर तहमा अनिवार्य सेमेस्टर प्रणाली लागू गरेको थियो । तर त्रिविको ज्यवस्थापकीय पक्ष पुरानै शैलीमा सञ्चालन भएकाले दुईवर्षे स्नातकोत्तर तीन वर्ष पुगेको छ । अर्कोतर्फ विश्वविद्यालयले भौतिक शास्त्र संकायका विद्यार्थीका हकमा पहिलो सेमेस्टर पास हुनेले मात्र थेसिस गर्न पाइने व्यवस्था गरेर पीडामाथि पीडा थपिदिएको अमृत साइन्स कलेजका विद्यार्थी पोषण कार्कीको भनाइ छ। 

‘विश्वविद्यालयको लापरबाहीको सिकार हामी विद्यार्थीलाई बनाइयो,’ कार्कीले भने, ‘थेसिस गर्ने विषय र सुपरभाइजर चयन भएपछि विद्यार्थीले थेसिस गर्न पाउनुपर्छ । तर हाम्रो पहिलो सेमेस्टरको मौका परीक्षा ढिला भएकाले थेसिसको प्रक्रिया बढाउन मुस्किल परेको छ।’

सेन्ट जेभियर्स कलेजका आशीष पौडेलका अनुसार कलेजमा १६ विद्यार्थीको थेसिसको विषय र सुपरभाइजर तय भए पनि विश्वविद्यालयको गैरजिम्मेवारीपनका कारण विद्यार्थी थेसिस प्रक्रिया अघि बढाउन वञ्चित बनेका हुन्। 

विश्वविद्यालयको नियम धेरै राम्रो बनाइने र कार्यान्वयन पक्ष व्यावहारिक हुन नसकेका कारण विद्यार्थीले समस्या भोग्नुपर्ने बाध्यता रहेको पाटन संयुक्त क्याम्पसका विज्ञान संकाय संयोजक प्रकाशमान श्रेष्ठको ठहर छ । उनले विश्वविद्यालयले शैक्षिक सुधार गर्न खोजे पनि देशको परिस्थितिले साथ नदिएका कारण चुनौती थपिएको जिकिर गरे । उनले भौतिक शास्त्र अनुसन्धानमा आधारित विषय भएको र अन्तरष्ट्रिय स्तरममा पनि विद्यावारिधि (पिएचडी) गर्न थेसिस चाहिने भएकाले समयमै सम्पन्न गर्नुपर्ने बताए।

‘दुई वर्षअघि आएको भुइँचालो र चुनावका कारणले विद्यार्थीको सेमेस्टर प्रणाली ढिला भएकै हो,’ उनले भने, ‘यसमा विद्यार्थीको भविष्य अन्योल बनेको देखिन्छ।’ 

त्रिवि विज्ञान तथा प्रविधि संकायका सहायक डिन सुमनलाल श्रेष्ठले विश्वविद्यालयले सेमेस्टर लागू गरे पनि त्यसअनुसारको जनशक्ति र व्यवस्थापकीय सुधार गर्न नसकेका कारण शैक्षिक व्यवस्थापनमा चुनौती बताए । ‘मेरो कार्यालयमा दिनहुँ विद्यार्थीले थेसिसको गुनासो लिएर आउने गरेका छन् । उनीहरू वास्तविक रुपमै पीडित बनेका छन्,’ श्रेष्ठले भने, ‘विश्वविद्यालयले समयमा मौका परीक्षा सञ्चालन गर्न नसकेकै कारण विद्यार्थीहरू अवसरबाट वञ्चित हुनुपरेको हो।’ 

प्रकाशित: ९ कार्तिक २०७४ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App