८ वैशाख २०८१ शनिबार
राजनीति

टिकट लोभले दलबदल तीव्र

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव तिथि नजिकिँदै जाँदा दलबदल तीव्र बनेको छ । पार्टी फेर्नेमा धेरैजसो दोस्रो चरणको निर्वाचनमा टिकटको आकांक्षा राख्ने छन्। 

एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने क्रम २ नम्बर प्रदेशमा बढी देखिएको छ । केही दिनअघि मात्र राजपाबाट फोरम लोकतान्त्रिकमा प्रवेश गरेका विमल श्रीवास्तव आगामी शुक्रबार संघीय फोरममा प्रवेश गर्ने भएका छन् । बुधबार उनले आफू संघीय फोरममा प्रवेश गर्ने जनाए। 

तेस्रो चरणको स्थानीय निर्वाचनमा राजपाबाट वीरगन्ज महानगरपालिकामा मेयरको टिकट नपाएपछि उनी उम्मेदवारी मनोनयन गर्ने दिनमै राजपा छाडेर फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । फोरम लोकतान्त्रिकबाट उनले वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दिए। 

एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने क्रम २ नम्बर प्रदेशमा बढी देखिएको छ ।

फोरम लोकतान्त्रिक कांग्रेसमा एकीकृत भएपछि उनी संघीय फोरममा जाने भएका हुन् । संघीय फोरममा प्रवेश गर्नुअघि उनी माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका थिए । यसका लागि उनले माओवादीका नेतासँग पनि कुुराकानी गरेका थिए तर अन्तिम समयमा माओवादी छाडेर संघीय फोरम रोजेका छन् । पार्टी प्रवेश गर्न माओवादी केन्द्रका नेतासँग कुराकानी भइरहेको उनले स्विकार गरे । उनले भने, ‘माओवादीका नेतासँग कुराकानी भइरहेको थियो तर अब संघीय फोरममा नै प्रवेश गर्ने निर्णय गरेको छु।’

श्रीवास्तवसँगै पर्साका नेता पुरुषोत्तम झा पनि संघीय फोरममा प्रवेश गर्ने भएका छन् । श्रीवास्तवलाई भिœयाउन फोरमका अध्यक्ष उपेन्द यादव शुक्रवार वीरगन्ज जाने भएका छन्।

बुधवार नै नेकपा मालेकी निवर्तमान सांसद कमला विक संघीय फोरममा प्रवेश गरेकी छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले विकलाई पार्टी प्रवेश गराए । स्रोतका अनुसार यादवले समानुपातिकको अन्तिम सूचीमा विकको नाम राख्ने आश्वासन दिएपछि उनी संघीय फोरम प्रवेश गरेकी हुन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संघीय फोरम र राजपाले तालमेल गर्ने घोषणा गरेका छन् तर जिल्लाजिल्लामा भने राजपाका कार्यकर्ता संघीय फोरममा प्रवेश गरेका छन् । यसलाई राजपाका नेताले भने रुचाएका छैनन् । ‘केन्द्रमा तालमेल गर्ने सहमति भइसकेपछि राजपाका कार्यकर्तालाई किन फोरममा भिœयाउनुप¥यो’, राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले भने।  

राजपाका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता अघिल्लो साता संघीय  फोरममा प्रवेश गरे ।उनलाई पार्टीमा प्रवेश गराउन यादव आफैं कपिलवस्तु गएका थिए।

मंगलवार जनकपुरमा दुईवटा प्रवेश कार्यक्रम भए । कांग्रेसका स्थानीय नेता रामपुकार यादव र साधुसरण यादव राजपामा प्रवेश गरे भने राजपाका केही नेता संघीय फोरममा प्रवेश गरे। 

यसैबीच नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक एकीकरणमा असन्तुष्ट फोरम लोकतान्त्रिकका शिवलाल थापाले निर्वाचनमा फोरम नेपाललाई साथ दिनेभएका छन् । संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग बुधबार कुराकानी भएपछि थापाले यस्तो निर्णय गरेका हुन् ।

प्रकाशित: ९ कार्तिक २०७४ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App