coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समयमा नपुग्दा मनोनयन फिर्ता भएन

खोटाङ– निर्धारित समयमा नपुग्दा खोटाङमा राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले मनोनयन फिर्ता गर्न पाएनन् । निर्वाचनमा कांग्रेसलाई सघाउने केन्द्रीय सहमतिअनुसार मनोनयन फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार १ बजेपछि पुग्दा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका धर्मराज पोखरेल मनोनयन फिर्ता गर्नबाट वञ्चित भएका हुन् । 

बिहान १० बजेदेखि दिउँसो १ बजेभित्रमा मनोनयन फिर्ता लिन सकिने निर्वाचन आयोगको कार्यतालिका भए पनि उम्मेदवार पोखरेल करिब ४ बजे पुगेकाले मनोनयन फिर्ता नभएको सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताए । कतिपयले भने नोमिनेसन फिर्ता नगर्ने मनस्थितिका कारण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनी ढिलो पुगेको अथ्र्याएका छन् । समयमा नपुग्दा अर्का एक उम्मेदवारसमेत मनोनयन फिर्ता गर्नबाट वञ्चित बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नयाँ शक्तिका दुई उम्मेदवारको मनोनयन फिर्ता 
खोटाङमा नयाँ शक्ति नेपालका दुई उम्मेदवारले मनोनयन फिर्ता लिएको छ । प्रतिनिधिसभा सदस्यमा उठेका कृषिविज्ञ मदन राईलाई जिताउनका लागि अन्य दलसँग छलफल चलिरहँदा प्रदेशसभामा उठेका दुई उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन् । तालमेल गर्दै संघमा राईको सुनिश्चितताका लागि क्षेत्र नम्बर १ बाट प्रदेशसभामा उठेका मोहन गुरुङ र क्षेत्र नम्बर २ बाट उठेका मणि राईलाई ‘ब्याक’ गरिएको नयाँ शक्तिका नेता सूर्यबहादुर राईले बताए । निर्वाचन आयोगले निर्धारण गरेको मनोनयन फिर्ता गर्ने समय बुधबार बिहान १० बजेदेखि १ बजेभित्रमा उम्मेदवारद्वयले मनोनयन फिर्ता लिएका हुन् । ‘संघमा मदन राईलाई जिताउन अन्य दलसँग तालमेल गरेर जानका लागि छलफल चलाइरहेका छौं,’ राईले भने, ‘छलफल टुंगिएपछि मनोनयन फिर्ता लिन सम्भव नहुने भएकाले छलफलकै क्रममा प्रदेशसभा उम्मेदवारको मनोनयन फिर्ता गरिएको हो ।’ 

आगामी मंसिर १० गते हुने प्रदेशसभा निर्वाचनमा चुनिने दुईजना र प्रतिनिधिसभा सदस्यमा चुनिने एक सदस्यका लागि खोटाङमा कांग्रेस, एमाले–माओवादी गठबन्धन, संघीय समाजवादी फोरम, नयाँ शक्ति, नेकपा माले, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा प्रजातान्त्रिक, नेसनल मंगोल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत पार्टीका २१ उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । 

प्रकाशित: ९ कार्तिक २०७४ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App