८ वैशाख २०८१ शनिबार
राजनीति

राणा दसौंपटक चुनावी मैदानमा

सिन्धुपाल्चोक – २०४७ को राजनीतिक परिवर्तनपछि लगातार छैटौंपटक चुनावी मैदानमा उत्रिँदा पञ्चायती हस्ती एवं राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा यसपटक ‘बदला’ लिने दाउमा छन्। 

राणा कांग्रेस–राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनका तर्फबाट सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा उत्रिएका छन् । तत्कालीन क्षेत्र नं. ३ बाट लगातार २०४८, २०५१ र २०५६ का संसदीय चुनाव जितेका उनी संविधानसभाका दुवै निर्वाचनमा पालैपालो माओवादी र एमाले उम्मेदवारसँग पराजित भएका थिए । त्यतिबेला उनलाई हराउने दलले गठबन्धन गरी साझा उम्मेदवार प्रस्तुत गरेका छन्। 

कांग्रेससँग गठबन्धन बनेपछि उत्साही पशुपतिशमशेर राणा ‘प्रत्यक्ष निर्वाचन लड्ने यो पटक अन्तिम’ भन्दै प्रतिस्पर्धामा होमिएका छन् । त्यसैले उनी वाम गठबन्धनलाई हराएर एकैपटक बदला लिँदै पुरानो साख फर्काउने दाउमा देखिएका हुन् । आफ्नो पुरानो पकड रहेको क्षेत्रमा कांग्रेसको मत थपिएपछि चुनाव जित्नेमा उनी विश्वस्त छन् ।

कांग्रेससँग गठबन्धन बनेपछि उत्साही राणा ‘प्रत्यक्ष निर्वाचन लड्ने यो पटक अन्तिम’ भन्दै प्रतिस्पर्धामा होमिएको उनी निकट स्रोतले बतायो । त्यसैले उनी वाम गठबन्धनलाई हराएर एकैपटक बदला लिँदै पुरानो साख फर्काउने दाउमा देखिएका हुन् । राणा निकट स्रोतका अनुसार आफ्नो पुरानो पकड रहेको क्षेत्रमा कांग्रेसको मत थपिएपछि चुनाव जित्ने विश्वास उनको छ। 

सेडा परियोजनाको कार्यकारी निर्देशक छाडेर ४४ वर्षदेखि सिन्धुपाल्चोकलाई राजनीतिक थलो बनाउँदै आएका उनी फरकफरक राजनीतिक प्रणालीमा भएका संसदीय निर्वाचनको प्रत्यक्ष प्रतिस्पर्धामा होमिएको यो १० औं पटक हो । उनले चारपटक लगातार राष्ट्रिय पञ्चायत सदस्य सिन्धुपाल्चोकबाटै जितेका थिए। 

उनले चुनाव लड्दै आएको तत्कालीन क्षेत्र नं.३ को सिंगो भूगोल अहिले क्षेत्र नं. २ मा समेटिएको छ । यहाँ तत्कालीन क्षेत्र नं. २ को आधा भूभाग मिसिएको छ, जहाँ अझै राप्रपाका पुराना नेताकार्यकर्ता रहेको उनी ठान्छन् । पुरानो क्षेत्रमा उनको लोकप्रियता अझै छ । सोही कारण दोस्रोपटक २०७० को निर्वाचन हार्नुअघि ‘अन्तिम पटक’ भन्दै चुनावी मैदानमा उत्रेका उनले आफ्नो निर्णय सच्याएको राप्रपाका कार्यकर्ता बताउँछन्। 

झन्डै साढे तीन दशक लामो राजनीतिक यात्रामा राणा पहिलोपटक २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका थिए । उनलाई हारको स्वाद चखाएका थिए, माओवादी नेता दावा तामाङले । त्यतिबेला १० हजार मत ल्याएका उनी तेस्रो स्थानमा खुम्चिए । ३ हजारभन्दा बढी मतान्तरले हार्दा एमाले उम्मेदवार शेरबहादुर तामाङ सय मतले पछाडि पर्दै दोस्रो स्थानमा परे । दोस्रो संविधानसभामा राणालाई उनै शेरबहादुरले २ हजार ४ सय ३६ मतअन्तरले पराजित गरे । राणाले १० हजार २ सय ९० मत पाउँदा उनले १४ हजार ५ सय २६ मत ल्याएका थिए।  

संविधानसभा चुनावताका माओवादीको लहर र दोस्रो संविधानसभा निर्वाचन जनजाति बहुल क्षेत्रमा एक्लो तामाङ उम्मेदवार हुँदा हार्नुपरेको तर्क राणाले गर्दै आएका छन् । यसपटक पनि राणा उनै शेरबहादुर तामाङसँग प्रतिस्पर्धा गर्दैछन् । एमालेका केन्द्रीय सदस्य तामाङ वाम गठबन्धनका साझा उम्मेदवार हुन्।  

स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई अध्ययन, विश्लेषण गर्दा कांग्रेसले भोट थपिदिँदैमा उनी जित्ने सम्भावना कम छ । अघिल्ला संविधानसभामा राणाले ल्याएको जति मत सिंगो निर्वाचन क्षेत्रकै जोड्दा पनि उनका उम्मेदवारले ल्याएका छैनन् । उनको मत नै हराएको छ। 

स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई पार्टीको मानेर अध्ययन, विश्लेषण गर्दा राणा चुनावी मैदानमा होमिएको यो क्षेत्रमा राप्रपाको ४ हजार ८ सय ३ भोट छ । कांग्रेसले १९ हजार ४ सय ९१ मत ल्याएको थियो । दुवैका मत जोड्दा यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको २४ हजार २ सय ९४ मत मात्र छ । स्थानीय चुनावमा वाम गठबन्धनको मत हिसाब गर्दा एमाले–माओवादी केन्द्रका पक्षमा ४३ हजार १ सय २९ मत छ । यहाँ एमाले २३ हजार ४ सय ३३ र माओवादी केन्द्रले १९ हजार ६ सय ९४ मत प्राप्त गरेका थिए। 

स्थानीय तहको मात्रै मत केलाउँदा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा अझै १८ हजार ८ सय ३५ मतले अगाडि देखिएको छ । यस्तोमा राणालाई चुनाव जित्नु ‘फलामको चिउरा चपाउनु’ सरह हुनेछ । यद्यपि स्थानीय तहमा राप्रपाको मत कसलाई गयो भन्ने महŒवपूर्ण हुन्छ । राप्रपाको मत कांग्रेसलाई नगएर एमाले, माओवादीलाई गएको अवस्थामा राणा अझै प्रतिस्पर्धामा आउन सक्ने देखिन्छन् । त्यही भएर राणासहित उनका नेताकार्यकर्ता हराएको मत खोजी गरिरहेका छन्। 

रजतजयन्तीसँगै ओरालोतिर

राणाले २०३१ मा तत्कालीन थुम्पाखर गाउँ पञ्चायतको उपप्रधानपञ्च जितेर राजनीति सुरु गरेका हुन् । त्यहाँ घरघडेरी जोडेर जिल्लावासीको हैसियतमा राजनीति थालेकै वर्ष उनले सिन्धुपाल्चोक जिल्ला पञ्चायतको उपसभापति हुँदै राष्ट्रिय पञ्चायत सदस्य जिते । त्यसपछि २०५६ को संसदीय चुनावसम्ममा उनी दोस्रो हुनु परेन । उनले २५ वर्षसम्म एकछत्र राज गरे । तेस्रोपल्ट संसदीय चुनाव जितेको साल उनले रजत उत्सवसमेत मनाए । २०३१ पछि २०३४, २०३८ र २०४३ मा भएका राष्ट्रिय पञ्चायत चुनावमा उनी लगातार विजयी भएका थिए। 

२०४७ पछि जिल्लाको क्षेत्र नम्बर ३ लाई चुनावी क्षेत्र बनाए पनि उनले क्षेत्र नं. १ नम्बर बाट समेत उम्मेदवारी दिन्थे । १ बाट पराजित भए पनि ३ नम्बरबाट उनले लगातार संसदीय निर्वाचन जिते । २०६४ को संविधानसभा निर्वाचनसम्म १ नम्बरबाट पनि उम्मेदवारी दिँदै आएका उनले २०७० मा भने यो क्षेत्र छाडेका थिए। 

प्रकाशित: ९ कार्तिक २०७४ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App