७ वैशाख २०८१ शुक्रबार
विचार

केपी ओली र बडी ल्याङ्वेज

नेपालका राजनीतिक दलहरुको सत्ता हत्याउने दाउपेच र अपरिपक्व चलखेल अझै रोकिएन। सरकार गठनको एक वर्ष  पुग्न नपाउँदै अर्को फेर्नका लागि दलभित्र सुरु हुने कित्ता परिवर्तन तथा अदृश्य जोड/घटाउको चक्रब्यूह जारी नै देखियो। यस्तो चक्रब्यूहको पछिल्लो निशाना बनेका छन् वर्तमान कामचलाउ सरकारका प्रधान मन्त्री केपी ओली। सरकार गठन गरेर एक वर्ष पनि काम गर्न नपाएको अनुभूति संगाल्दै सरकारबाट बाहिरिने उनीमात्रै हैनन्, अन्य प्रधान मन्त्रीको सूची निकै लामो भइसकेको छ। तर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिले निम्त्याएको जटिल कालखण्डलाई पाखा लगाउँदै समृद्धितर्फ अघि बढ्न खोजिरहेको वर्तमान सरकार यति छिटै बहिर्गमनमा पर्ला भनेर नेपालीले सायदै सोचेका थिए। २०४६ सालपछि हालसम्मको २७ वर्षे अवधिमा २२ वटा सरकार बने। उक्त अवधि तथा सरकार गठन/विघटनको शृङ्खलाले बताउँछ कि हामी कति अस्थिर राजनीतिक परिपाटीबाट गुजि्रएका रहेछौं? २०७२ असोज २५ गते प्रधान मन्त्री बनेका केपी ओली अलि भिन्न परिस्थितिमा सत्ता सम्हाल्न आइपुगेका थिए। भूकम्पले जर्जर बनाएको देशको आन्तरिक स्थिति अनि भारतले थोपरेको नाकाबन्दी यी दुवै तत्कालीन सरकारका प्रमुख चुनौती थिए। तर नेपाली जनताको साथ र भरोसामा राष्ट्रिय स्वाभिमानलाई डगमगाउन नदिई बाह्य समस्या सुल्झाउन उनी सफल भए। नाकाबन्दी नहटी भारतको भ्रमण नगर्ने अडानमा अडिग रहेका ओलीको भ्रमणअगावै देशमा सोही अवस्था कायम गर्न भारत बाध्य भयो।

भारत भ्रमणका दौरान पनि उनले नेपाल र नेपालीको गरिमालाई एकरत्ति झुक्न दिएनन्। भारतीय प्रधान मन्त्रीसँगको औपचारिक भेटका सन्दर्भमा सार्वजनिक भएका दृश्य तथा तस्बिरमा उनी निकै आत्मविश्वासी र आफ्नो मर्यादामा एकदम अडिग देखिन्थे। बरु कतिपय तस्बिरमा भारतीय प्रधान मन्त्री नै हाम्रा प्रधान मन्त्रीसँग नतमस्तक भएको देखियो। भारतीय विदेश मामिला मन्त्री सुष्मा स्वराजले त भेटका क्रममा प्रधान मन्त्री ओलीसमक्ष हदैसम्मको विनयी चरित्र प्रदर्शन गरिन्। तस्बिर हेर्दा लाग्थ्यो, ओली उनीप्रति कम परवाह गरिरहेका छन् तर स्वराज नाकाबन्दीको क्षमायाचनासहित ओलीलाई रिझाउने शैलीमा प्रस्तुत भएको उनको 'बडी ल्याङ्वेज' ले बताइरहेको थियो। एक साता लामो भारत भ्रमणका दौरान भारतीयहरुका अगाडि ओलीको शिर कहिल्यै नुहेको देखिएन। हिँडाइ, बोलाइ, औपचारिक भेटघाट/सम्बोधनलगायत जे/जति दृश्य सञ्चार माध्यमबाट सार्वजनिक भए, ती कुनैमा उनको बडी ल्याङ्वेजप्रति नकारात्मक टिप्पणी गर्ने ठाउँ भेटिएन। बरु भ्रमण अवधिभर संयम र स्वाभिमानपूर्ण उनका प्रत्येक गतिविधिले सम्पूर्ण राष्ट्रभक्त नेपालीलाई गौरवान्वित बनायो। विगतका प्रधान मन्त्रीहरुको तुलनामा नेपालको तर्फबाट निकै गौरवपूर्ण दृष्टान्त प्रस्तुत गर्न उनी सफल भएको टिप्पणी सबैतिरबाट भएको थियो।

सत्ता गठबन्धनको प्रमुख साझेदार माओवादी (केन्द्र) ले गत साता समर्थन फिर्ता लिनासाथ ओली प्रधानमन्त्रित्वको सरकार अल्पमतमा पर्‍यो। अझ माओवादी, कांग्रेस, मधेसवादी र अन्य दलसहित संसद्मा पेश भएको अविश्वासको प्रस्तावले ओलीसमक्ष नैतिकताको प्रश्न खडा गरिदियो। तर ओलीले राजीनामा दिनुको सट्टा संसद भंग गर्न सक्ने, नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिबाट आलटाल हुनसक्नेलगायतका शंकामा अविश्वास प्रस्तावका समर्थक बढी वेचैन देखिन्थे। नयाँ प्रधान मन्त्रीको निर्वाचन तथा सरकार गठनबारे संविधानको संक्रमणकालीन व्यवस्थामा केही उल्लेख नभएकाले सरकार छाड्न नपर्ने सुझाव संविधानविद्हरुले ओलीसमक्ष गराएका पनि थिए। तर यी सबैका बाबजुद ओलीले साउन ९ गते अविश्वासको प्रस्तावउपर आफ्ना कुरा राख्नुअगावै आफूले राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको बताए। साथै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारीका लागिसमेत राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिँदै आफ्नो राजनीतिक कुशलताको परिचय दिए। उनको यस कदमले राजनीतिमा पनि मर्यादित संस्कार सुरु हुने अपेक्षा अहिले सबैतिर छाएको छ भने उनको साख अझै माथि चुलिएको छ।

अविश्वास प्रस्तावउपर आफ्ना कुरा राख्ने क्रममा संसद्मा प्रस्तुत ओलीको निर्भिक र शालीनपनको चर्चा यतिबेला सबै नेपालीले गरिरहेका छन्। शब्द छनोटमा रोचकता त उनका हरेक भाषणको विशेषता नै हो तर त्यतिबेलाको उनका भनाइ रोचकभन्दा पनि बढी मननीय थिए अनि प्रस्तुतिको परिस्थितिजन्य गाम्भीर्यलाई पनि सबैले महसुस गर्ने गरी उनले अभिव्यक्ति दिए। 

'सरकार सञ्चालन गर्न गठित उच्चस्तरीय राजनीतिक समितिका संयोजक र सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने माननीयज्यू एउटै हो?' भन्ने उनको प्रश्न (सुवास नेम्वाङबाट सापटी लिएको) जति परिलक्षित थियो, उति नै यथार्थपरक पनि। सरकारमा संलग्न रहँदै आएको दलका नेताले सरकारकै विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने शैली संसारमा हुने विरलै घटनामा पर्ने राजनीतिक विश्लेषकहरुले समेत टीप्पणी गर्न थालेका छन्। माओवादी केन्द्र सरकारमा संलग्न दोस्रो ठूलो दलको भूमिकामा थियो भने पुष्पकमल दाहाल सरकारलाई प्रभावकारी ढंंगले अघि बढाउनका लागि गठित उच्चस्तरीय राजनीतिक समितिका संयोजक थिए यसका बाबजुद उनीबाट नसोचिएको भूमिका जसरी प्रस्तुत भयो, यसले उनको नैतिक धरातललाई तल गिराउन मद्दत गरेको छ। हुन त दुई महिनाअघि पनि गत जेठमा सत्ता बदल्ने उनको अभ्यास सतहमा आइसकेको थियो त्यतिबेला प्रधान मन्त्री ओलीकै चातुर्यका कारण उनी पछाडि फर्किएर वर्तमान सरकारलाई नै अघि बढाउने निर्णयमा आइपुगेका थिए। त्यतिबेला जनस्तरबाट दाहालको निक्कै प्रशंसा भएको थियो र उनीबाट सधैँ त्यस्तै सुझबुझपूर्ण निर्णय आइरहनेमा जनता विश्वस्त थिए तर दाहालले आफूमाथिको विश्वासलाई दुई महिना पनि टिकाउन सकेनन्।  

अविश्वास प्रस्तावमाथि ओली स्पष्टोक्तिका दौरान संसद्मा गजवको विरोधाभाष देखिन्थ्यो। सत्ताबाट बाहिरिँदै गरेका ओलीको आत्मविश्वास जति घनिभूत देखिन्थ्यो, अविश्वास प्रस्तावका समर्थकहरुको उति नै क्लान्त। व्यक्ति किटान नगरे पनि ओलीका कतिपय व्यक्तिलक्षित यथार्थपरक प्रसंगले केही सांसद्लाई अलि असहज बनाएको प्रष्टै देखिन्थ्यो। ओलीको शान्त, निर्भिक तर चोटिलो अभिव्यक्तिका अगाडि नयाँ गठबन्धनका लागि एकताबद्ध हुँदै गरेका सांसद भने निकै नै अशान्त देखिन्थे। आफैँले सुरु गरेको सत्ताको झिनाझपटीको निरन्तरताले आफ्नै आगामी कार्यकाल कति होला र? भन्ने मनस्थितिमा उनीहरु त्यतिबेलै पुगिसकेका बुझिन्थ्यो। संसद् बैठकमा सम्बोधन सकेर फर्कदै गर्दा पुष्पकमल दाहाल ओलीसँग हात मिलाउन आतुर देखिए। हात मिलाइको त्यो क्रममा ओली नब्बे डिग्रीको कोणझैँ सिधा पोजिसनमा उभिएका थिए भने नयाँ प्रधान मन्त्रीका दाबेदार पुष्पकमल दाहाल धनुषझैँ आधा शरीर झुकाएर ओलीतर्फ समर्पित देखिए। ती दुई दमदार नेताहरुको फरक फरक बडी ल्याङ्वेजले धेरै कुरा आफँै स्पष्ट पार्छ। व्यक्तिको बाह्य चरित्रको विश्लेषण गर्ने क्रममा उसको बडी ल्याङ्वेजले ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ। यो सबै क्षेत्रका लागि उत्तिकै आवश्यक भए पनि राजनीतिमा यसको विशेष महत्व छ। विकसित देशका नेताहरु आफ्नो बडी ल्याङ्वेजप्रति सधैँ सतर्क र चनाखो रहन्छन् ताकि त्यसमा कसैले कहिल्यै खोट लगाउने अवसर नपाओस्। यो बाहिरी चरित्रसँग मात्र सम्बन्धित जस्तो देखिए पनि यसको नाता अन्तरआत्मादेखि नै जोडिएर आएको हुन्छ। व्यक्ति आफ्नो कामप्रति हृदयदेखि नै जति आत्मविश्वासी छ, उसको बडी ल्याङ्वेज पनि सोहीबमोजिम निर्भिक बनेर बाहिर देखा पर्छ। यसर्थ, यदि राष्ट्रिय स्वाभिमानको भाव ओलीको अन्तरआत्मामा नहुँदो हो त सबै कुरामा भर पर्नुपर्ने भारतको अगाडि त्यो किसिमको गर्विलो बडी ल्याङ्वेज प्रस्तुत हुनै सक्दैनथ्यो। त्यस्तै अविश्वासको प्रस्तावमा आरोप लगाएजस्तै ओलीको कार्यकाल निकम्मा भइदिएको भए सत्ताबाट बाहिरिँदा समेत विपक्षीलाई निहुराउने उनको बडी ल्याङ्वेज न प्रस्तुत हुन सक्थ्यो न त राजनेताको पद्वी नै पाउने स्थिति रहन्थ्यो।

प्रकाशित: १७ श्रावण २०७३ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App