नयाँ दिल्ली – भारतको पुणेमा बुधबार भारत र न्यूजिल्याण्डबीच भएकाे एक दिवसीय क्रिकेट खेल अगाडि पिच फिक्सिङलागि क्यूरेडर पाण्डुरंग सलगांवकर तयार भएको खुलासा भएको छ ।
इन्डिया टुडेले गरेको स्टिङ्ग अपरेशनमा उक्त कुराको खुलासा भएको हो । बुधबार हुन लागेको खेलमा आफ्ना खेलाडीलाई उपयुक्त हुने पिच बनाइदिने प्रस्तावसहित बुकीस् बनेर गएका रिपोर्टहरूसँग उनी पिच भने बमोजिम बनाइदिन राजी भएका हुन् ।
रिपोर्टरको आफ्ना दुई खेलाडीका लागि पिचमा केही परिवर्तन गर्ने प्रस्ताव उनले सहर्ष स्वीकार्दै भने, ‘जुन पिच म बनाउँछु त्यसमा ३३७ रन सम्म सजिलै बनाउन सकिन्छ।’ रिर्पोटरले पिच हेर्न खोज्दा सजिलै उनले पिच देखाउन राजी भएको समेत उक्त अपरेशनमा खुलेको छ । नियम अनुसार खेल हुनु अगाडि कप्तान र कोच बाहेक अरु कसैले पनि पिच हेर्ने अनुमति छैन् । तर क्यूरेटर सलगांवकरले भने पैसाका लागि जो कोहीलाई पनि पिच हेर्ने अनुमति दिए।
पिच देखाउँदै पाण्डुरंगले ५ मिनेटमा नै पिच बदल्न सक्ने कुराको खुलासा समेत गरे उनका अनुसार यदी पिचमा थोरै मात्र माटो थपिदिने, पानी हालिदिने जस्ता कार्य गर्दा पिचमा सजिलै बदलाव आउँछ।
इन्डिया टुडेको उक्त अपरेशन हेरिसकेपछि बीसीसीआइका कार्यवाहक सचिव अमिताभ चौधरीले उनलाई कडा भन्दा कडा कारवाही गरिने बताए । त्यसैगरी भारतीय क्रिकेट टिमका पूर्व कप्तान शौरव गांगुलीले यदी सलगांवकरले पिच फिक्सिङ गर्न खोजेको हो भने उनलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने बताए।
यसअघि पनि अष्ट्रेलिया र भारतबीच भएको खेलमा पुणेको पिच सबैभन्दा नराम्रो भएको भन्दै सलगांवकरको आलोचना भएको थियो।
प्रकाशित: ८ कार्तिक २०७४ ०८:२३ बुधबार