८ वैशाख २०८१ शनिबार
अर्थ

६.६ अर्बमा सर्वोत्तम सिमेन्ट

सौरभ ग्रुप अन्तर्गत जगदम्बा सिमेन्ट उत्पादन गरेर सफल व्यवसायीको रुपमा स्थापित छन् विष्णुप्रसाद न्यौपाने। जगदम्बा सिमेन्टसहित लक्ष्मी स्टिल, जगदम्बा टी प्रोसेसिङ, सौरभ फोटो इन्टरनेसनल लगायत नौभन्दा धेरै कम्पनी सञ्चालन गरिरहेको समूहले नयाँ ब्रान्ड सर्वोत्तम सिमेन्ट स्थापना गरेको छ। ६ अर्ब ६० करोड रुपैयाँ लगानी गरेर नयाँ ब्रान्डका रुपमा सर्वोत्तम सिमेन्टले व्यावसायिक सुरुआत गरेको अवसरमा नागरिकका सन्तोष न्यौपानेले सौरभ ग्रुपका अध्यक्ष न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश :    

जेठ मै तपाईंहरूले सफ्ट लन्च गरिसक्नुभएको छ। औपचारिक रुपमा बजारमा कहिले आउनु हुन्छ?

हो, जेठ १७ गते सफ्ट लन्च गरिसकेका छौं। ग्राहकलाई बोलाएर, सबै देखाएर सार्वजनिक गरेका थियौं। व्यावसायिक रुपमा उत्पादन गरिरहेका छौं। तर औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी छ। हामी तयारी अवस्थामा छौं। भदौं १५ गतेभित्र औपचारिक रुपमा सार्वजनिक गर्ने लक्ष्य छ। 

जगदम्बा नाम लोकप्रिय सिमेन्ट उत्पादन गरिरहेकै बेला 'सर्वोत्तम' ब्रान्डमा आउनुभएको छ। के यो ब्रान्ड नाम जस्तै सर्वोत्तम बन्न सक्ला? 

हाम्रा यसअघिका धेरै उत्पादनका नाम भगवानसँग जोडिएकाले हामीले नयाँ सिमेन्ट त्यस्तो भगवान, ठाउँ, जात, व्यक्ति विशेष कोहीसँग नजोडियोस् भनेर सर्वोत्तम रोजेका हौं। उत्तम किसिमको सबैलाई समान राख्ने उत्पादन ल्याउनुपर्‍यो भनेर सर्वोत्तम नाम राखेका हौं। बजारमा उपलब्ध सिमेन्टमध्ये गुणस्तर, मूल्य, उत्पादन प्रविधि लगायत सबैमा सर्वोत्तम हुन्छौं भन्ने हाम्रो विश्वास छ।

यो ब्रान्डको सिमेन्ट उत्पादनमा कति लगानी गर्नुभयो?

अहिलेसम्म नेपालमा चलेका फ्याक्ट्रीमध्ये सबैभन्दा धेरै लगानी भएको हाम्रै हो। धेरै लगानी हुनुको कारण आफ्नै पावर प्लान्ट, नयाँ प्रविधि सहितको मेसिन लगायत हुन्। यो फ्याक्ट्री स्थापना र सम्पूर्ण प्रोजेक्ट सम्पन्न गर्दा ६ सय ६० करोड (६ अर्ब ६० करोड) रुपैयाँ लगानी गरेका छौं। उद्योग स्थापनाका क्रममा भूकम्प, नाकाबन्दी जस्ता समस्या भोग्नु परेकाले लगानी बढी हुन गयो।

सर्वोत्तम सिमेन्टको उद्योग, खानी र यसको क्षमताबारे भनिदिनुस् न!

हाम्रो प्लान्ट नवलपरासीको रामनगर गाविस, भूमिमा छ। हामीले प्रयोग गर्ने सिमेन्टको खानी पाल्पाको दोभाव गाविसमा छ। हामी आफैं देशको सबैभन्दा ठूलो क्लिंकर उत्पादक हौं। पिपिसी, ओपिसी र पिएससी सिमेन्ट उत्पादन गरिरहेका छौं। ओपिसी र पिएससी सार्वजनिक गरिसकेका छौं भने पिपिसी सार्वजनिक गर्ने तयारीमा छौं। हाल ओपिसी र पिएससी दुवै गरेर एक करोड २० लाख बोरा स्टल क्षमता छ। यो हाम्रो देशको अवस्थामा धेरै क्षमता हो।

पछिल्लो समय सिमेन्ट उद्योग धमाधम थपिँदै छन्। प्रतिस्पर्धा बढिरहेको बेला तपाईंले सिर्वोत्तम सिमेन्टलाई कसरी फरक रुपमा उभ्याउन सक्नुहुन्छ?

हामीले सौरभ ग्रुप अर्न्तगत सर्वोत्तम सिमेन्ट ल्याएका छौं। दाबीसाथ भन्छु– केही विषयमा हामी अरुभन्दा फरक छौं। पूर्ण प्लान्टसहित नेपालमै पहिलोपटक आफ्नै पावर प्लान्ट स्थापना गरेका छौं। भारतमा यो धेरै प्रचलित छ। यसले गर्दा लोडसेडिङको समस्याबाट मुक्त हुनेछ र उत्पादन लागत कम हुने विश्वास पनि छ।

अर्को हाम्रो विशेषता भनेको हामीले प्रयोग गरेको नयाँ प्रविधिको मेसिन हो। हामीले एफएलस्मिड्थ कम्पनी डेनमार्कबाट मेसिन ल्याएका छौं जुन प्रविधि नेपालमै पहिलोपटक हो। यसलाई बल मिल भनिन्छ जसमा भिआरएम टेक्नोलोजी प्रयोग गरिएको छ। बल मिलले पिसेको सिमेन्ट कण गोलो हुन्छ। ४५०० ब्लेइन फाइननेस (मसिनोपन)को गुणस्तर भएको नेपालको पहिलो सिमेन्ट हो। कानुन अनुसार २२५० ब्लेइन फाइननेस भए पुग्छ। सिमेन्ट जति मसिनो भयो त्यत्ति राम्रो हुन्छ। यस्तो फाइननेस नेपालमा भएका अन्य मेसिनले बनाउनै सक्दैनन्। साथै, यसमा सिक्स स्टेज प्रोसेसिङ हुन्छ। यसमा क्रसबार कुलर टेक्नोलोजी पनि छ।

यसको फाइदा भनेको यसले अन्यले भन्दा झन्डै ४० प्रतिशत विद्युत कम प्रयोग गर्छ। कोइला हो भने २० प्रतिशत कम खान्छ। यसलाई ग्रिन टेक्नोलोजी पनि भनिन्छ। त्यसैले यसलाई 'इको फ्रेन्ड्ली' पनि भनिन्छ। यस बाहेक मेसिनमा अन्य नयाँ धेरै फिचर छन्। युरोपबाट सिधै आउने भएकाले यो मेसिन अलि महँगो छ।

हामी नयाँ प्रविधिबाट इको फ्रेन्ड्ली हिसाबले चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो। हाम्रो प्रमुख नारा 'टेक्नोलोजी, फाइननेस, स्ट्रेन्थ एन्ड इको फ्रेन्ड्ली' हो।

बजारमा प्रतिस्प्रधा बढिरहेको छ। गुणस्तर, मूल्य र पुनर्निर्माणका विषयलाई कसरी लिनु भएको छ?

हाम्रो प्रविधिमा सुरुको लगानी बढी भए पनि प्रतिस्पर्धात्मक मूल्यमा सिमेन्ट दिन सक्छौं। हाम्रो सिमेन्टको मूल्य अन्यको तुलनामा कम नै हुन्छ, धेरै हुँदैन। हाम्रो प्रतिस्पर्धा भनको जो आफैं क्लिंकर बनाएर सिमेन्ट उत्पादन गरिरहेका छन् उनीहरूसँग हो।

यस्तो खालको फ्याक्ट्रीलाई २४ सै घन्टा बिजुली चाहिन्छ। अहिले सरकारले १२–१३ घन्टाभन्दा धेरै दिन सकेको छैन। सरकारको बिजुली हामीले अहिले प्रयोग नै गरेका छैनौं। त्यसले गर्दा हाम्रो लागत पक्कै सस्तो पर्छ।

तपाईंले ठूलो स्तरको उद्योग स्थापना गर्नुभएको छ। लगानी, समय, मेहनत धेरै लगाउनुभएको छ। यसबीचको अनुभव कस्तो रह्यो?

हामीले यो उद्योग स्थापना गर्न सुरु गरेको चार वर्षमा सकिएको छ। यी चार वर्षमा विभिन्न चरणमा उद्योग स्थापना सम्पन्न गरेका छौं। पहिलो दुई वर्षमा हामीले क्लिंकर उत्पादन गरेर बेच्न थाल्यौं। हामीले अहिले देशमा रहेका लगभग सबै फ्याक्ट्रीमा क्लिंकर सप्लाई गरेका छौं।

दोस्रो चरणमा पावर प्लान्ट स्थापना गर्‍यौं। पावर प्लान्ट स्थापना गर्न झन्डै एक वर्ष लाग्यो। तेस्रो चरणमा सर्वोत्तम ब्रान्डको सिमेन्ट उत्पादन गर्ने योजना थियो। तेस्रो चरणको काम सक्न हामीलाई झन्डै १६ महिना लाग्यो। भूकम्प, नाकाबन्दीका कारणले झन्डै ९ महिना ढिला हुन गएको हो।

भूकम्प र नाकाबन्दीले लगानी वा निर्माण चरणमा कस्तो असर गर्‍यो?

यी घटनाले हाम्रो लगानी बढायो भने धेरै समय पनि लाग्यो। सिमेन्ट लन्च गर्ने लक्ष्य माघ–फागुन थियो। माघदेखि जेठसम्म सिमेन्टको लागि सिजन हो। हामीले यो समयलाई छुटाएका छौं। बर्खा घर बनाउने समय होइन। हामीले औपचारिक रुपमा सार्वजनिक गर्न कुर्न परिरहेको छ।

कलकत्ता पोर्टमा त हामीले झन्डै २ करोड भारु डेमरेज चार्ज तिर्नुपर्‍यो। यातायात खर्च धरै लाग्यो। सामान युरोपबाट आउनुपर्ने नाकाबन्दीले समस्या पारिदियो। लक्षित समयमा काम सम्पन्न गर्न नसकेकाले ब्याज धेरै तिर्नुपर्‍यो। भूकम्प र नाकाबन्दीले हाम्रो लगानी झन्डै १५ देखि २० करोड रुपैयाँ बढायो।

सिमेन्ट उत्पादनमा तपाईंको लामो अनुभव छ। नयाँ ब्रान्ड स्थापना गर्न तपाईंको अनुभवले कस्तो सहयोग पुर्‍यायो?

म आफैं सिमेन्ट उद्योगमा लागेका झन्डै २० वर्ष भयो। हामीले सिमेन्ट व्यापार गर्थ्यौं। हामीले सिमेन्ट उत्पादन गरेकै १५ वर्ष हुन लाग्यो। अहिले पनि वीरगन्ज र भैरहवामा गरेर जगदम्बा सिमेन्ट नेपालकै सबैभन्दा धेरै बिक्ने सिमेन्ट हो। यो अनुभवले पनि हामीलाई नयाँ ब्रान्ड ल्याउन प्रेरित गरेको छ।

म आफैं पनि प्राविधिक ज्ञान भएको, एक इन्जिनियर भएकाले पनि व्यवसाय गर्न सजिलो भयो। खानी छनोट, प्रविधि छनोट, कस्तो ठाउँमा जग्गाको छनोट गर्‍यो भने भविष्यमा समस्या आउँदैन जस्ता विषयमा मेरो आफ्नो ज्ञान र अनुभवले धेरै सहयोग पुर्‍याएको छ।

यहाँको सरकारको ऐन नियमले पनि अलिकति अप्ठेरो बनायो। केही समस्या हुँदाहुँदै पनि हामी व्यावसायिक रुपमा सफल हुँदै आएका छौं। हामीले सिमेन्टमात्र नभएर अन्य थुप्रै ब्रान्डमा काम गरिरहेको अनुभव छ।

हामीले अहिले तपाईंको एउटा ब्रान्डको मात्र कुरा गर्‍यौं। समग्रमा भन्दा नेपालको सिमेन्ट उद्योगको अवस्था कस्तो छ? के तपाईंले जस्तै प्रगति अरुले पनि गरेका छन्?

सिमेन्ट उत्पादनमा दुई पाटा छन्। पहिलो क्लिंकर अरुसँग किन्ने वा आयात गर्ने। अर्को आफैं क्लिंकर र सिमेन्ट उत्पादन गर्ने। अहिले पनि हाम्रो स्वदेशमा उत्पादन भएको क्लिंकरले पुगेको छैन। अझै पनि भारतबाट ४० प्रतिशत क्लिंकर आयात भइरहेको छ। क्लिंकरको उत्पादनमा अझै पनि ठूलो भविष्य छ।

सिमेन्ट उत्पादन भनेको संसारभरि नै चुनढुंगादेखि नै सुरु हुन्छ। हामीले क्लिंकर विदेशबाट ल्याएर सिमेन्ट उत्पादन गर्न सुरु गरेका थियौं। अहिले पनि अन्य मुलुकको तुलनामा प्रतिव्यक्ति सिमेन्ट प्रयोग अत्यन्तै कम छ।

पुनर्निर्माणले सिमेन्टको प्रयोग कति धेरै बढाउला?

पक्कै पनि बढाउँछ। मैले यसलाई ठूलो स्कोपको रुपमा लिएको छु। झन्डै ६ लाख घर बनाउनु पर्नेछ। हजारौं स्कुल बनाउनु पर्नेछ। अहिलेका हाम्रो क्षमता अनुसार सिमेन्ट उत्पादनले पुग्छ तर क्लिंकरको क्षमताले पुग्दैन। सिमेन्ट पिस्नेमा २० करोड बोरा उत्पादन गर्ने क्षमता छ।

प्रकाशित: १७ श्रावण २०७३ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App