१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यस्ता छन् पाँचथर–भोजपुरका उम्मेदवार

एक्सन राई /गिरिराज बाँस्कोटा

 पाँचथर/भोजपुर-    मंसिर १० गते हुने केन्द्र–प्रदेशको निर्वाचनमा प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला पाँचथर र भोजपुरबाट दलका हेभिवेट उम्मेदवार प्रतिस्पर्धामा छन् । केन्द्रीय र प्रादेशिक राजनीतिमा ‘पकड’ राख्न दलहरूले चुनावी प्रतिस्पर्धामा धेरै पुराना र केही नयाँ अनुहार प्रतिस्पर्धामा उतारेका छन् । 

                पाँचथरको एक केन्द्रीय सिट र दुई प्रादेशिक सिटमा १३ दलका २९ जना चुनावी मैदानमा उत्रिएका हुन् । यीमध्ये ११ जना प्रतिनिधिसभा र १८ जना प्रदेशसभाका लागि मत माग्दैछन् । पाँचथरमा मुख्य दलले पुरानै अनुहार दोहो¥याएका छन् । साना दलले नयाँ अनुहारका उम्मेदवार बनाएका छन् ।

                पाँचथरमा प्रतिनिधिसभा, प्रदेशसभामा नेपाली कांग्रेस र एमाले–माओवादीको वाम गठबन्धनका उम्मेदवारबीच कडा प्रतिपस्र्धा हुने आकलन छ । दुवै दलका हेभिवेट उम्मेदवार चुनावी मैदानमा छन् । पाँचथरको सिटलाई दलले प्रतिष्ठाको लडाइँ ठानेका छन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस र एमाले एक–एक स्थानमा जितेको थियो । स्थानीय तहको निर्वाचनमा चार तहमा कांग्रेस, तीन तहमा एमाले र एक तहमा माओवादीले जितेको थियो ।

                कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे र एमालेले जलस्रोत विभाग सचिव वसन्तकुमार नेम्वाङ प्रतिनिधिसभाका लागि उठाएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका आङदेम्बे निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए । पहिलो संविधानसभा निर्वाचनमा उनी यही क्षेत्रबाट पराजित भए ।

                नेम्वाङ २०५६ सालको निर्वाचनमा क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । दुईवटै संविधानसभा निर्वाचनमा चर्चा चले पनि पार्टीले उनलाई उम्मेदवार बनाएन । २०५१ सालको निर्वाचनमा उनी पराजित भए । उनी जलविद्युत् लगानीकर्ता पनि हुन् । माओवादीको समर्थनमा उनले कांग्रेसका आङदेम्बेलाई कडा चुनौती दिँदैछन् । कांग्रेसलाई कमल थापाले नेतृत्व गरेको राप्रपाको साथ छ । राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभामा राजकुमार जोशीको मनोयन दर्ता भएको छ । संघीय समाजवादी फोरमले प्रेमकुमार लावतीलाई उम्मेदवार बनाएको छ । लावती नयाँ अनुहार हुन् । संघीय लिम्बुवान मञ्चले पार्टी अध्यक्ष सागर केरुङलाई उम्मेदवार बनाएको छ । केरुङ पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन् ।

                दुईवटा प्रदेश सिट रहेको पाँचथरमा कांग्रेस र एमाले–माओवादी गठबन्धनबीच नै प्रतिस्पर्धा देखिन्छ । प्रदेश (क) मा कांग्रेसले जिल्ला सभापति नरेन्द्रकुमार केरुङ र (ख) मा सुरेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ । एमाले–माओवादी गठबन्धले (क) मा एमालेका केन्द्रीय सल्लकार परिषद् सदस्य गणेश काम्वाङ र (ख) मा माओवादीका पोलिटब्युरो सदस्य इन्द्र आङबो मौसमलाई उम्मेदवार बनाएको छ । केरुङले दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

उनले एमाले काम्बाङको सामना गर्नुपर्छ ।  काम्वाङ पूर्व सासद हुन् । केरुङ र काम्वाङ पूर्व प्रतिस्पर्धी हुन् । काम्वाङले दोस्रो संविधानसभामा केरुङलाई हराएका थिए । काम्वाङ पुराना नेताका रूपमा चिनिन्छन् ।

                (ख) मा दाहाल पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसका पूर्वसचिव दाहाल पुराना नेता हुन् । उनको प्रतिस्पर्धा माओवादीका उम्मेदवार मौसमसँग हुन्छ । मौसम युवा नेता हुन् । (ख) मा राप्रपा प्रजातान्त्रिकका सगुनसुन्दर लावती पनि दाबेदार छन् । उनी राप्रपाका नेता पदमसुन्दर लावतीका छोरा हुन् ।

मैदानमा हेभिवेट उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभाका लागि भोजपुर (ख) मा एमालेका शेरधन राईले उम्मेदवारी दिएका छन् । एमालेका पोलिटब्युरो सदस्य राईले प्रदेशमा उम्मेदवारी दिनुको पछाडि उनलाई एमालेबाट प्रदेश १ को मुख्यमन्त्रीको दाबेदार मानिएको चर्चा छ । तर, एमालेले प्रदेश १ को मुख्यमन्त्री को हुने आधिकारिक निर्णय गरिसकेको छैन ।

२०४४ सालदेखि विद्यार्थी राजनितिबाट यात्रा सुरु गरेका राई २०५६ सालमा भोजपुर क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भए । २०७० सालको संविधानसभामा पनि उनी निर्वाचित भए । पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा राई सञ्चारमन्त्री भए । राईको प्रतिस्पर्धीमा नेपाली कांग्रेसका गोविन्द कार्कीको उम्मेदवारी परेको छ । कार्की कांग्रेसका पूर्वसचिव हुन् ।

                यसपटकको वाम गठबन्धनमा आफंैले हराएकालाई आफैंले जिताउनुपर्ने बाध्यता थपिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका सुदन किरातीले एमालेका उम्मेदवार शेरधन राईलाई हराएका थिए । २०७० सालको निर्वाचनमा सुदन किरातीलाई हराउँदै राई संविधानसभा सदस्य भएका थिए । तर वाम गठबन्धनपछि भने सुदन किराती प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

                भोजपुरको प्रदेशसभाका लागि भोजपुर (क) मा पनि चर्चित युवा नेताको उम्मेदवारी परेको छ । वाम गठबन्धका तर्फबाट  एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले उम्मेदवारी दिएका छन् । उनी अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।

                लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङमाङको उम्मेदवारी परेको छ । एमालेबाट राजनीति थालेका काङवाङ तत्कालीन प्रजातान्त्रिक युवा संघका अध्यक्षसमेत भएका थिए । एमालेबाट बाहिरिँदा उनी केन्द्रीय सदस्य रहेका थिए ।

                नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार उमेशजंग रायमाझी नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री हुन् । रायमाझीसँग वाम गठबन्धनका किरातीको प्रतिस्पर्धा छ । भूमिगत किरात जनवादी वर्कस पार्टी माओवादीमा विलय भएपछि उनी माओवादी भएका हुन् । माओवादीका पोलिटब्युरो सदस्य किराती २०६४ सालमा पहिलो संविधानसभामा भोजपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भए ।

महिला उमेदवार शून्य

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार उम्मेदवारी दर्ता गराएका १२ दलमध्ये कुनै दलबाट पनि महिलाको उम्मेदवारी नपरेको हो ।  १२ वटा दलका तर्फबाट २२ जनाले नाम दर्ता गराएका भए पनि महिला उम्मेदवार कोही पनि छैनन् । दलहरूले दिएका उम्मेदवारीमध्ये प्रतिनिधिसभा सदस्यतर्फ आठ, प्रदेशसभा सदस्य भोजपुर (क) बाट  आठ  र भोजपुर (ख) बाट ६ गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित: ८ कार्तिक २०७४ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App