८ वैशाख २०८१ शनिबार
समाज

रङमा ‘सिसा’ को मात्रा अत्यधिक, जनसाधारणको स्वास्थ्य जोखिममा

काठमाडौं- बजारमा पाइने ४० प्रतिशत पेन्ट्स (रङ) मा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘सिसा’ अत्यधिक मात्रामा पाइएको छ।

चिकित्सकका अनुसार सिसाले मानव शरीरका अधिकांश अंगलाई काम नगर्ने बनाइदिन्छ । यसबाट सबैभन्दा बढी बालबालिका प्रभावित छन् ।

मंगलबार सार्वजनिक एक अध्ययन प्रतिवेदनले सरकारले तय गरेको मापदण्डभन्दा बढी मात्रामा सिसा मिसिएका र प्रयोग अवधि नाघेका रङ बजारमा पाइएको देखाएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्घन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले २०७२ असार ५ गतेबाट लागू भएको सरकारी मापदण्डको रङ उत्पादकबाट उल्लंघन भइरहेको जानकारी दिए । ‘सरकारले धेरै कसरत गरेर पेन्ट्स (रङ) हरूको मापदण्ड लागू ग¥यो तर पालना भएन’, उनले असोजको आफ्नो सर्भे प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘मापदण्ड पालना नगर्ने पेन्ट्स (रङ) उत्पादन गर्ने कम्पनी बन्द गर्नुपर्छ ।’

सरकारले नेपालमा आयात एवं उत्पादन हुने रङहरूमा सिसाको अधिकतम मात्रा ९० पिपिएमभन्दा बढी हुन नहुने, रङको बट्टामा सिसाको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । ‘मापदण्ड लागू हुनुपूर्व बजारमा पाइने ७० प्रतिशत रङमा पिपिएम ९० भन्दा बढी  हुन्थ्यो । अहिले ४० प्रतिशतमा त्यस्तो अवस्था पाइएको छ’, उनले भने, ‘यो सकारात्मक पक्ष हो । तर अझै पनि उत्पादक र आयातकर्ताले मापदण्ड पालनामा आलटाल गरिरहेका छन् ।’

साहले नाम चलेका कम्पनीले उत्पादन गरेका रङमा समेत सिसाको मात्रा मापदण्डभन्दा धेरै पाइएको बताए । ‘नेपालका नाम चलेका कम्पनीले समेत सरकारी मापदण्ड पालना गरेका छैनन् । उत्पादनमा सिसाको मात्रा घटाएका छैनन्’, उनले भने ।

साहका अनुसार मापदण्ड लागू भएपछि बजारबाट रङका ३७ वटा नमुना संकलन गरिएको थियो । ती नमुना काठमाडौं र पर्वत जिल्लाबाट संकलन गरिएको थियो । ती नमुना १८ वटा कम्पनीका थिए ।  

उनका अनुसार १८ कम्पनीमध्ये ८ वटाले मात्र सरकारी मापदण्ड पालना गरेका छन् । सातवटा कम्पनीले उत्पादन गरेका रङमा सरकारी मापदण्डभन्दा धेरै गुणा बढी सिसा पाइएको छ । ती रङमा ५०३४७.२२ पिपिएमसम्म सिसा पाइएको छ, जुन सरकारी मापदण्डभन्दा ५६० गुणा बढी हुन्छ । तीनवटा उद्योगको कम्तीमा एउटा उत्पादनले मापदण्ड पालन नगरेको पाइएको छ ।

संकलित नमुनामध्ये ११ वटामा गुणस्तर चिह्न थियो । बजारमा पाइएका तर प्रयोग अवधि नाघेका ४ वटा नमुनामा ५६ देखि ४०४ गुणा बढी सिसा पाइएको उनले बताए ।  ‘बजारमा मिति नाघेका रङहरू बेच्ने अधिकार व्यापारीले कसरी पाए ? अझ उनीहरूले जति पुरानो भयो त्यति राम्रो हुन्छ भन्दै उपभोक्तालाई बेचिरहेका छन्’, साहले भने ।

उनका अनुसार धेरै चम्किलो र छिटो सुक्ने बनाउन रङमा सिसा प्रयोग गरिन्छ । ‘उपभोक्ताले पनि यस्तै रङ रोज्छन्, जसले गर्दा सिसा विभिन्न माध्यमबाट मानिसको रगतमा मिसिन पुग्छ’, साहले भने ।

डा. केयुर गौतमले भने, ‘सिसा हाम्रो शरीरलाई चाहिँदैैन तर अहिले हरेक चिजमा सिसा हुन्छ । गाजलदेखि लिपस्टिकसम्ममा सिसा मिसाइएको हुन्छ ।’ उनका अनुसार सिसाले सबैभन्दा बढी दिमागलाई सुस्त बनाइदिन्छ । साथै डिप्रेसन, एनिमिया, मिर्गौला फेल हुने, उच्च रक्तचापजस्ता रोग लाग्छन् ।

डा. गौतमले पनि एक वर्षअघि वीरगन्ज औद्योगिक क्षेत्रका बालबाबालिका र काठमाडौंका बालबालिको रगत परीक्षण गरेका थिए । ‘अध्ययन परिणाम धेरै डरलाग्दो छ’,  गौतमले भने । उनले बालबालिकाको रगतमा सिसाको मात्रा मापदण्डभन्दा अत्यधिक पाइएको बताए । ‘सिसा रगतमार्फत दिमागमा पुगेर स्मरण शक्तिमा ह्रास आउ“छ । दिमागलाई सुस्त बनाइदिन्छ’, उनले भने । गौतमका अनुसार यो क्याल्सियम र आइरनको रुप धारण गरेर रगतमा छिर्छ । ‘एनिमिया भएर रगतको मात्रा कम हुँदै जान्छ र  चिकित्सकले आइरन खान सुझाव दिइरहेका हुन्छन् । खास कारणचाहिँ रगतमा सिसाको मात्रा बढेपछि यस्तो हुन्छ’, उनले भने ।

अमेरिकाको वातावरण संरक्षण संस्थाअन्तर्गतको सेन्टर फर डिजिज कन्ट्रोलले तोकेको मापदण्डअनुसार रगतमा ५  माइक्रोग्राम परडेसिलिटरभन्दा बढी सिसा हुनुहँुदैन । यो संस्थाले यसलाई पनि परिमार्जन गरेर २ माइक्रोग्राम परडेसिलिटरमा झार्ने तयारी गरेको छ ।

 केयुरसहित पा“चजना चिकित्सकको समूहले काठमाडौंका ५० र वीरगन्जका ५० जना विद्यार्थीको रगत परीक्षण गरेको थियो । उनका अनुसार वीरगन्जका सतप्रतिशत विद्यार्थीको रगतमा सिसाको मात्रा मापदण्डभन्दा बढी पाइएको छ । यसमध्ये ८४ प्रतिशतभन्दा बढी विद्यार्थीमा १० माइक्रोग्राम परडेसिलिटरभन्दा बढी पाइएको छ । बढीमा ४२ माइक्रोग्राम परडेसिलिटरसम्म पाइएको छ । १२ प्रतिशनमा ५ देखि १० माइक्रोग्राम परडेसिलिटर पाइएको छ ।

यसैगरी काठमाडौंका विद्यार्थीको रगत परीक्षण गर्दा ६२ प्रतिशतमा ५ माइक्रोग्राम परडेसिलिटरभन्दा बढी सिसा पाइएको छ ।  ‘यो अत्यन्त भयावह अवस्था हो’, केयुर भन्छन्, ‘अझ औद्योगिक क्षेत्रका बालबालिका सबैभन्दा जोखिममा छन् ।’

प्रकाशित: ८ कार्तिक २०७४ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App