८ वैशाख २०८१ शनिबार
अर्थ

ग्यास कमिसन बढाउन माग

काठमाडौ-  ग्यास बिक्रेताले डिलर कमिसन बढाउन माग गरेका छन्। अहिले दिँदै आएको कमिसनले व्यवसाय धान्न कठिन भएको भन्दै कमिसन बढाएर पाँच प्रतिशत पुर्‍याउन माग गर्दै आपूर्ति मन्त्री जयन्त चन्दलाई ज्ञापन पत्र पेश गरेका छन्। ग्यास बिक्रेता महासंघ नेपालले मंगलबार ज्ञापन पत्र बुझाउँदै माग सम्बोधन नगरे आन्दोलनमा उत्रिन बाध्य हुने जनाएको छ।  आयल निगमले आफ्ना मागलाई बेवास्ता गरेको व्यवसायीले गुनासो गरे।

व्यवसाय धान्नै सक्ने अवस्था नरहेको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । ‘पाँच वर्षदेखि कमिसन बढेको छैन,’ अर्यालले भने, ‘कमिसन नबढाए व्यवसाय धान्नै कठिन भयो ।’ आयल निगमले २० प्रतिशत नाफा खाए पनि बिक्रेताको विषयमा ध्यान नदिएको अर्यालले बताए । सरकारले बढाउन ध्यान नदिए स्वघोषित रुपमा मूल्य बढाउन बाध्य हुने अर्यालले चेतावनी दिए।

महासंघले मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा मूल्य वृद्धिको तुलनामा कमिसन नबढेको बताएका छन् ।अहिलेको मूल्य अनुसार प्रतिसिलिण्डर १२ सय ९३ रुपैयाँ लगानी गरी आउने ३२ रुपैयाँ कमिसनले घरभाडा लगायतका खर्च धान्न कठिनाई भएको ज्ञापन पत्रमा उल्लेख छ । त्यसमा चार रुपैयाँ सरकारालई भ्याट बुझाउने गरेका छन् । अहिले ग्यास प्रतिसिलिन्डर १३ सय २५० रुपैयाँमा बिक्री हुन्छ ।

महासंघका महासचिव चन्द्रबहादुर थापाद्वारा हस्ताक्षर गरी मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा तत्काल डिलर प्रमाणीकरण प्रक्रिया अघि बढाउनु पर्ने, ग्यास खपत तथा विक्रेताको स्पष्ट पहिचान गर्नुपर्ने माग अघि सारेको छ । संघले भ्याट रकम खारेज गर्न माग गरेको छ । ज्ञापन पत्रमा ४० प्रतिशत ग्यास ठूला घरानामा प्रयोग हुने र ६० प्रतिशत ग्यास सर्वसाधारण जनताले विहान बेलुका खाना पकाउन प्रयोग गर्ने भएकाले लोककल्याणकारी राज्यले जनतालाई राहात दिने गरी ग्यासमा लगाएको भ्याट हटाउनु पर्ने उल्लेख छ।

आपूर्ति मन्त्री चन्दले व्यवसायीको मागलाई सकरात्मक रुपमा लिएको बताए। ‘यहाँको मागको विषयमा सल्लाह गर्छु,’ मन्त्री चन्दले ज्ञापन पत्र बुझ्दै भने, ‘सकिन्छ भने मागलाई सम्बोधन गर्न प्रक्रियामा लैजान्छु ।’

प्रकाशित: ७ कार्तिक २०७४ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App