८ वैशाख २०८१ शनिबार
अन्य

एमाले र माओबादी केन्द्रले पार्टीको झण्डा साटे

प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराई र प्रदेशसभा सदस्यका उम्मेद्वार बनेका माओबादी केन्द्रका रामकुमार राई पार्टीको झण्डा साट्दै । तस्बिर: दमन राई

खोटाङ– बाम एकताका क्रममा खोटाङमा एमाले र माओवादी केन्द्रले आपसमा झण्डा साटेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार रहेका एमाले र माओबादी नेताले सुर्य चिन्ह अंकित झण्डा र गोलाकारभित्रको हँसिया हथौडा अंकित झण्डा साटेका हुन्। मंगलबार सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा आयोजित अन्तरघुलन एबं संयुक्त अगुवा कार्यकर्ता भेलामा एमालेकातर्फबाट बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराई र क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका नेता रामकुमार राईबीचमा पार्टीको झण्डा साटासाट गरिएको हो।

भट्टराई र राईले आफ्नो पार्टीको झण्डा एकले अर्कोलाई सुम्पिरहँदा क्षेत्र नम्बर १ बाट प्रदेशसभा निर्वाचनमा उठेका एमाले नेता राजन राईले भने कम्युनिष्टको झण्डा फहराएका थिए। उम्मेद्वारद्वयबीचमा एमाले सूर्य चिन्ह अंकित र गोलाकारभित्रको हँसिया हथौडा अंकित झण्डा साटिँदा हलमा उपस्थित नेता तथा कार्यकर्ताले तालीले स्वागत गरेका थिए। 

विगतका कुरालाई भुलेर नयाँ तरिकाले बाम गठबन्धनलाई सफल बनाएर अघि बढाउनका लागि पार्टीको झण्डा साटिएको बताइएको छ। बाम एकताले पार्टी एक भएको सन्देश दिएर दुबै दलका नेता तथा कार्यकर्तालाई निर्वाचनमा जीत सुनिश्चितताका लागि उत्साहित बनाउन दुई पार्टीको झण्डा साटिएको एमाले खोटाङका उपसचिव कुमार आचार्यले बताए। बाम एकताको विषयमा कतिपय कार्यकर्ता पंक्तीमा असपष्टता रहेको भन्दै दुई दलका नेता सम्मिलित संयुक्त बाम संयोजन समितिले अन्तरघुलनका लागि संयुक्त अगुवा कार्यकर्ता भेला राखेको हो।

आगामी चुनावमा विजय प्राप्तिका लागि इमान्दार भएर तालमेलअनुशार लाग्न बाम संयोजन समितिले मातहतका कमिटिलाई विशेष परिपत्र पठाएर निर्देशन दिएको जनाएको छ। गठबन्धनको निर्णयलाई उत्साहकारुपमा लिएर चुनावको तयारीमा लाग्न भनिएको माओबादी नेतृ दुर्गाजयन्ती राईले बताइन्। 

१ हजार ७७७ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी
आगामी मंसिर १० गते हुने निर्वाचनका लागि एमाले अध्यक्ष बबी चामलीङ संयोजक र माओबादी केन्द्रका संयोजक देवान किराती सह–संयोजक रहेको १ हजार ७७७ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिइएको छ। यस्तै, प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा माओबादी केन्द्रकी नेतृ दुर्गाजयन्ती राई संयोजक र एमाले नेता सुरेन्द्रकुमार राई उप–संयोजक रहेको ७७७ सदस्यीय तथा क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष रामप्रसाद दंगाल संयोजक र माओबादी केन्द्रका कोषाध्यक्ष दिपक पाण्डे सह–संयोजक रहेको ७७७ सदस्यीय संयुक्त प्रदेशसभा निर्वाचन परिचालकन कमिटि गठन गरिएको छ। 

बाम एकताका कारण कार्यकर्तामाझमा निम्तिएको भ्रम र अस्पष्टतालाई मेटाउँदै निर्वाचन परिणाम आफ्नोपक्षमा पार्नका लागि दुई दलले जिल्लाका दश वटै पालिकामा संयुक्त प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ । बाम एकताको औचित्य र भावी योजनाका विषयमा स्पष्ट बनाउनका लागि हलेसी, कुभिन्डे र बराहपोखरीमा कार्तिक १३ गते तथा ऐसेलुखर्क, बाक्सिला, खोटाङबजार, पञ्चमी र मानेभञ्ज्याङमा मंसिर १४ गते संयुक्त प्रशिक्षण कार्यक्रम राखिएको जानकारी दिइएको छ।

निर्वाचनमा एमालेका सचिव देबक्रिम राई र माओबादी केन्द्रका संयोजक देवान किरातीलाई स्वयंसेवक परिचालन संयोजक तथा एमाले नेता दिलचक्र राई, दिनेश राई र माओबादी केन्द्रका युवा नेता अकिल राई, गगन राईलाई स्वयंसेवक परिचालनकै जिम्मा दिइएको छ। 

प्रकाशित: ७ कार्तिक २०७४ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App