६ वैशाख २०८१ बिहीबार
राजनीति

बागी फकाउँदै वाम गठबन्धन, काँग्रेसलाई पनि आफ्नैको डर

बागलुङ-  नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्दै पार्टी एकता गर्नेसम्मको घोषणा गरेपछि एकाएक दुई ध्रुवमा बाँडिएको यहाँको राजनीतिक चहल पहल एक पटक छताछुल्ल भएको छ। स्थानीय स्तरमा जनमतको ख्यालै नगरी केन्द्रले निर्णय गरेर उम्मेदवार तय गरेको भन्दै यहाँको वाम गठबन्धनमा आवद्धबाटै बागी उम्मेदवारी दर्ता भएको छ। काँग्रेसमा बागी उम्मेदवारी नदिए पनि भित्रै भित्रै चर्को असन्तुष्टी भने देखिएको छ। वाम गठबन्धन गरेर चुनावी प्रक्रियामा अगाडी बढेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा अहिले विद्रोही नेता कार्यकतालाई फकाउन थालेका छन्।

वाम तालमेल गरेर जाँदा बागलुङ क्षेत्र नम्बर १ मा मात्र एमालेले उम्मेदवारी पाउने भएपछि एमाले क्षेत्र नम्बर २ का नेताहरुले असन्तुष्ट नेताहरुले विद्रोही उम्मेदवार उठाएका छन्। असन्तुष्ट समूहले क्षेत्र नम्बर २ को प्रदेश सभा ख का लागि ददिराम शर्मालाई प्रदेश सभाका सदस्यको लागि उम्मेदवार बनाएको हो। नेकपा एमाले बागलुङमा जिल्लाको पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने एमाले जिल्ला नेताहरुले दुई नम्बर क्षेत्रको एमाले जनमतलाई पार्टीले वेवास्ता गरेको भन्दै स्वतन्त्र उम्मेदवार उठाएका हुन् । ‘जिल्ला सदरमुकाम वरिपरिका नेताहरुलाई जिताउनका लागि हामीले पटक पटक कुर्वानी दिएका छौं,’ नेकपा एमाले क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य चिन्तामणि शर्माले भने,‘तालमेल या विभीन्न बहानामा हामीलाई सत्ता प्राप्त गर्ने भर्‍याङ मात्रै बनाउने गरिएकाले हामीले विद्राही उम्मेदवारी स्वतन्त्र रुपमा दर्ता गरको हौं।’

 क्षेत्रीय कमिटीको एकमत निर्णय भएकाले फिर्ता नहुने उनले बताए। ‘२०५१ सालदेखि नै तालमेल भन्दै पश्चिम क्षेत्रका एमाले जनमतको अवमूल्यन हुँदै आएको छ, त्यसले हामीले हाम्रो उम्मेदवारलाई जिताउनका लागि पहल गर्छौं,’ उनले भने । विद्रोही नेताहरुको मागबारे एमाले जिल्ला र केन्द्रीय स्तरमै छलफल चलिरहेको एमाले निकट स्रोतले बतायो । विगतमा पनि विभीन्न आश्वासन मात्रै दिएर कार्यान्वयन नगरेको भन्दै अहिले लिखित समझदारी नगरे उम्मेदवारी फिर्ता नलिने उनीहरुले अडान लिएको बुझिएको छ । नेकपा माओवादी केन्द्रका धनबहादुर विक 'हिमाल'ले प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट बागी उम्मेदवारी दिएका छन्। उनले नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलको विरुद्धमा उम्मेदवारी दिएका हुन्।

 जनस्तरमा नभिजेको नेतालाई उम्मेदवार बनाईएको भन्दै उनले आफुले उम्मेदवारी दिएको बताएका छन् । ‘जिल्लामा संगठन निर्माण तथा जनताका कामका लागि खटिने हामी अहिले निर्वाचनमा चाँही जनताले चिन्दै नचिनेको नेतालाई उम्मेदवार बनाईएको छ,’ उनले भने,‘गठबन्धनको नाममा जस्तो पायो त्यस्तै व्यक्तिलाई उम्मेदवार बनाउँदा निर्वाचन जितिदैन। त्यसैले साथीहरुसंग सल्लाह गरेरै मैले उम्मेदवारी दिएको हुँ।’ राष्ट्रिय जनमोर्चाका विद्यार्थी नेता गंगा थापाले पनि बागलुङ क्षेत्र नम्बर १ को प्रदेश ख बाट बागी उम्मेदवारी दिएका छन् । एमाले माओवादीका जिल्ला नेताबाट बागी उम्मेदवारी दिएपछि उनले पनि उम्मेदवारी दर्ता गराएको निकट स्रोतले जानकारी दिएको छ । उम्मेदवारी छनोटको सवाललाई लिएर राष्ट्रिय जनमोर्चा भित्र पनि चर्को असन्तुष्टी रहेको स्रोतले बतायो ।

 ‘बागलुङ १ बाट प्रतिनिधि सभाका लागि जिल्ला अध्यक्ष अमर थापालाई नै उम्मेदवार बनाउने निर्णय केन्द्रीय समितिबाटै भैसकेको सन्दर्भमा नेकपा मसालका महामन्त्री मोहन विक्रमसिंहले प्युठान मिलाउनका लागि दुईटा प्रदेश सदस्यमा सहमती गरेपछि जनमोर्चामा पनि असन्तुष्टी बढेको छ,’ स्रोतले भन्यो। बाम गठबन्धनलाई एक मत गराएर लैजाने प्रयास भैरहेको नेकपा माओवादी नेता कृष्ण केसीले बताएका छन्।  ‘पार्टीको आधिकारीक उम्मेदवारी विरुद्ध आफ्नो उम्मेदवारी दर्ता गराएका साथीहरुसंग अहिले पनि छलफल चरिहेको छ,’ केसीले भने,‘आ—आफ्ना पार्टीका विद्रोही उम्मेदवारलाई मिलाउनका लागि सम्बन्धीत पार्टीलाई जिम्मा दिएका छौं ।’ उम्मेदवार छनोटप्रति असन्तुष्टहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको आधिकारीक उम्मेदवारलाई सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

 ‘यो ऐतिहाँसिक कार्यलाई चुनावी परिणाममा बदल्नका लागि विद्रोह गरेका साथीहरुले पनि उम्मेदवारी फिर्ता लिएर एक ढिक्का हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ नेता केसीले भने,‘पार्टीको निर्णय नमान्नेहरुलाई कारबाही हुन्छ ।’ यता नेपाली काँग्रेस पनि आफ्नै भित्रको असन्तुष्टी मेटाउने प्रयासमा लागेको छ । निर्वाचनका लागि उम्मेदवार बन्न चाहाने करिब एक सय हाराहारीका आँकाक्षीहरुबाट दुई प्रतिनिधि सभा र चार प्रदेश सदस्यका लागि उम्मेदवार छान्नुपर्ने बाध्यताले काँग्रेस भित्र पनि चर्को असन्तुष्टी रहेको निकट स्रोत बताउँछ । उम्मेदवारको नामावली सार्वजनिक भएसंगै पार्टीको पदबाट राजिनामा दिएर फिर्ता लिने देखि सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गर्ने क्रम देखिएका छन्।

काँग्रेस बलियो शक्ति भएकाले नै काँग्रेस विरुद्ध गठबन्धन भएकाले पार्टीलाई एकढिक्का बनाएर जाने प्रयास भैरहेको बागलुङ १ प्रदेश क का उम्मेदवार समेत रहेका नेपाली काँग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले बताए । ‘अहिले पार्टीको आन्तरीक एकतालाई बजबुत गराउने र साथीहरुलाई जिम्मेवारी दिने कार्यमा लागेका छौं,’ थापाले भने,‘केही दिनमा चुनावी घोषणापत्र तयार भएपछि जनताको घरदैलोमा लाग्छौं ।’ स्थानीय निर्वाचनमा आफ्नैबाट धोका हुँदा धेरै ठाउँमा मतपरिणाम आफ्नो पक्षमा पार्न नसकेको भन्दै यस पटक त्यस्तो गल्ती गर्न नहुने काँग्रेस कार्यकर्ताहरु बताउँछन्।

प्रकाशित: ७ कार्तिक २०७४ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App