७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

गाडी निषेधपछिको ठमेल

काठमाडौं – पर्यटकीय क्षेत्र ठमेललाई सवारी साधन निषेधित क्षेत्र घोषणा गरिएलगत्तै पर्यटकहरुको चहलपहल बढेको छ। सधैं अस्तव्यस्त रहने ठमेल मंगलबार शान्त र रमणीय देखियो। बाटोको मध्य भागमा पर्यटक र मानिसहरु आनन्द मान्दै आ–आफ्नो शैलीमा हिँडिरहेका थिए। बाटोमा उनीहरुलाई अवरोध गर्ने न कुनै सवारी साधन थियो, न मानिसहरु एकअर्कामा ठोकिन्न बाध्य थिए।


काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले संयुक्त रुपमा आइतबारदेखि लागू हुने गरेर ठमेललाई सवारी साधन निषेधित क्षेत्र घोषणा गरेका हुन्। नयाँ नियमले ठमेलको जेपी स्कुलदेखि उत्तर, नसिर्ङचोकदेखि पश्चिम र सातघुम्तीमा सवारी साधन प्रवेशमा निषेध छन्। ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालका अनुसार बेलुका १० बजेदेखि बिहान ५ बजेसम्म सामान ओसारपसारको लागि ठमेल क्षेत्रमा सवारी साधन चलाउन पाइनेछ।


‘पर्यटकीय क्षेत्र ठमेलमा साना सडकहरु धेरै छन्। यसले अत्यधिक ट्राफिक जाम गराएपछि पैदल यात्रुहरुलाई हिँड्न समस्या भयो। त्यसैले सवारी साधन निषेधित क्षेत्र घोषणा गरेका हौं,’डिआइजी खनालले भने,‘संसारभरका अधिकांश पर्यटकीय क्षेत्रमा सवारी साधन निषेधित गरिएका छन्। नेपालका पर्यटकीय क्षेत्रमा विस्तारै सवारी साधन निषेधित क्षेत्र घोषणा गर्ने तयारीमा छौं।’


ठमेलमा पानी, एम्बुलेन्स, दमकल, पर्यटन र सुरक्षालगायतका अत्यावश्यकबाहेक अन्य सवारी साधन प्रवेशमा निषेध भएपछि महाशाखाले पार्किङको लागि स्थान समेत तोकिदिएको छ। ‘आइतबारदेखि त्रिदेवी मार्गमा जथाभावी रोकिएका ट्याक्सी, भ्यान र मोटरसाइकलाई कारबाही गरिरहेका छौं। त्यस्तै धेरै धुवाँ फाल्ने र हर्न बजाउने सवारी साधनलाई निगरानी गरिएका छौं’, उनले भने। ठमेल छिर्न नपाएका सवारी साधनहरुलाई सोह्रखुट्टे, लैनचौर र खुशीबुँ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App