coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओखलढुंगा काँग्रेसमा बल्झियो बागीको घाउ

खोटाङ– ओखलढुंगामा काँग्रेसका आधिकारिक उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दोहोरिएको छ। फरक भूगोलका नेतालाई उम्मेद्वार बनाएको विरोधमा २०६४ सालमा बागी उम्मेद्वारी खेपेको ओखलढुंगा कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि बागी उम्मेद्वारी बेहोर्नु परेको हो।

आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर (ख) बाट प्रदेशसभा सदस्यमा उठाइएका काँग्रेसका आधिकारिक उम्मेद्वार प्रदीप सुनुवारविरुद्ध ज्ञानेन्द्र रुम्दालीको बागी उम्मेद्वारी परेको हो। टिकट वितरणमा केन्द्रबाट गलत निर्णय भएको भन्दै जिल्ला सभापति रहेका सुनुवारबिरुद्ध तरुण दलका जिल्ला सभापति रुम्दालीको बागी परेको हो।

२०६४ सालको संविधानसभा निर्वाचनमा फरक भूगोलका नेतालाई फरक क्षेत्रबाट उठाएको बिरोधमा बागी उम्मेद्वारी दिएका रुम्दालीले प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर (क) का सुनुवारलाई क्षेत्र नम्बर (ख) बाट टिकट दिएको भन्दै पुःन दोस्रोपल्ट बागी उम्मेद्वारी दिएका हुन् । फरक क्षेत्रका नेतालाई फरक क्षेत्रको टिकट दिएको विरोधमा २०६४ सालको निर्वाचनमा रुम्दालीले आधिकारिक उम्मेद्वार बालाराज कार्कीविरुद्ध पनि बागी उम्मेद्वारी दिएका थिए। बागी उम्मेद्वारको मार खेपेका कार्की निर्वाचनमा पराजित भएका थिए।

‘२०६४ सालको निर्वाचनमा पनि फरक क्षेत्रको मान्छे ल्याएर उम्मेद्वार बनाईदा बागी उम्मेद्वार दिन बाध्य भएको थिएँ,’ रुम्दालीले भने, ‘पार्टी र संगठनका लागि मेहनत गरिएको छ, रातदिन खटिएको छ, जीवन समर्पण गरिएको छ। दुःखको कुरा यसपल्ट पनि सोही नियती दोहोरिँदा बागी उम्मेद्वार दिनु परेको हो। आफ्नो कार्यकर्ताको योगदानको मूल्यांकन हुँदैन भने नेतृत्व के का लागि ? योगदान केका लागि गर्ने ?’

पार्टीको गलत निर्णयबिरुद्धमा सभापति शेरबहादुर देउवालाई समेत भनिएको रुम्दालीले बताए। क्षेत्र नम्बर (ख) मा काँग्रेसको पकड बलियो भए पनि अर्कै ठाउँको नेतालाई उम्मेद्वारी बनाउँदा अन्य नेता कार्यकर्तामाथि अन्याय भएको उनको भनाई छ।

पार्टीले टिकट वितरणमा त्रुटि गरेको भन्दै असन्तुष्ट महासमिति सदस्य तथा महाधिबेसन प्रतिनिधि सहित ३१ जनाले कार्तिक ३ गते विज्ञाप्तीमार्फत् जिम्मेवारीबाट हटेको जानकारी गराइसकेका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै महासमिति सदस्य कुमार लुईंटेल र बाला अधिकारी, महाधिवेश प्रतिनिधि बालकृष्ण दाहाल, रामजी बाँस्तोला, टिकटका दावेदार लिलाबल्लभ दाहाल, ज्ञानेन्द्र रुम्दाली, कमल तामाङ लगायतले पार्टीको जिम्मेवारीबाट हटेको बताएपछि रुम्दालीको बागी उम्मेद्वारी परेको हो।

प्रतिनिधिसभाका लागि ओखलढुंगामा काँग्रेसकातर्फबाट रामहरि खतिवडा तथा प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर (क) बाट मित्रसेन दाहालको उम्मेद्वारी परेको छ। आफ्नो सिट सुरक्षित गर्नका लागि खतिवडाले सभापति सुनुवारलाई आफ्नो क्षेत्रमा ल्याएर उम्मेदवार बनाएको सन्तुष्टपक्षको आरोप छ। एमाले र माओवादी गठबन्धनका तर्फबाट भने प्रतिनिधिसभा सदस्यका लागि एमालेका यज्ञराज सुनुवार तथा प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर (क) बाट अम्बिरबाबु गुरुङ र (ख) बाट माओवादी केन्द्रका मोहन खड्काको मनोनयन दर्ता भएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

ओखलढुंगामा काँग्रेस, वाम गठबन्धन, संघीय समाजवादी फोरम, नेकपा माले, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बुवान लोकतान्त्रिक, देशभक्त जनगणतान्त्रिक मोर्चा र नयाँ शक्ति पार्टी नेपालका २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रकाशित: ७ कार्तिक २०७४ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App