coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जर्मनीमा पहिलोपटक नेपथ्य

ह्यामवर्ग- नेपाली लोक–रक ब्यान्ड नेपथ्यले शनिबार पहिलोपटक जर्मनीमा कन्सर्ट दिएको छ। ह्यामबर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको थियो।  

'ब्यान्डका माध्यमबाट हाम्रो समुदायको पहिचान र आत्मबल उच्च पार्न सघाउ पुग्ने विश्वासले निम्ता गरेका हौं,' आयोजक तमु समाजका तर्फबाट कार्यक्रम संयोजक रहेका सुन्दर गुरुङले भने, 'निम्तो स्वीकार्दै यति टाढा आएर कार्यक्रम प्रस्तुत गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं।'

नेपथ्यको सदाबहार पुराना हिट गीतदेखि लिएर भर्खरैका ताजा सिर्जनासम्म अटाएको कार्यक्रम गुरुङ बोलबाट सुरु हुने गीत 'नासे छ्यावा'बाट थालनी भएको थियो। त्यसपछि नेपथ्यको सदाबहार 'छेक्यो छेक्यो', 'चरी मर्‍यो', 'जोमसोमे बजार' हुँदै 'रेशम', 'तालको पानी', 'जोगले हुन्छ भेट' बाट अघि बढेर भर्खरै तयार गीत 'कोशीको पानी यो जिन्दगानी'सम्म गुन्जिएको थियो।

गीत गाउने क्रममै नेपालका बाढीपहिरो पीडितहरुलाई सहयोग गर्न गायक अमृत गुरुङले आग्रह गरे। 'हामीले आफ्नो जीवनकालमा थुप्रै परिवर्तन देखेका छौं। प्रजातन्त्रदेखि लिएर गणतन्त्रसम्मका अनुभव भए। तर, यस्तो लागिरहेको छ कि हाम्रो स्वतन्त्रताको वास्तविक लडाइ चाहिँ अझै सकिएको छैन,' गुरुङले थपे, 'सामाजिक सञ्जाल प्रभावकारी बन्दै गइरहेको अहिलेको समयमा तपाईंहरुले पनि आफ्नो मत र विचारमार्फत् त्यस्ता समाज सुधारकहरुको प्रयासमा ऐक्यवद्धता जनाउन सक्नुहुन्छ। आफ्नो मुलुकमा भइरहेको न्याय र स्वतन्त्रताको लडाइँमा तपाईहरुले विदेश बसेरै दिएको योगदान पनि महŒवपूर्ण बन्न सक्छ।'

ह्याम्बर्गमा आयोजित कन्सर्टमा दर्शकहरु केही घन्टा परका सहरबाट समेत आएका थिए। जर्मनीको शानदार प्रस्तुतिसँगै नेपथ्य डेनमार्कको कोपेनहेगनतर्फ लागेको छ। डेनमार्कमा पनि नेपथ्यको पहिलो कर्न्ट आयोजना हुन लागेको हो। स्थानीय अमागरवियो हलमा अगस्त २ मा नेपथ्यले गीत सुनाउने छ।

जर्मनीको प्रस्तुतिमा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिइरहेका छन्। डेनमार्कको कार्यक्रमलाई त्यहाँस्थित आइएनएएस (इन्टरनेसनल नेपलीज आर्टिस्ट सोसाइटी)ले आयोजना गर्न गइरहेको छ।

प्रकाशित: १७ श्रावण २०७३ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App