coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

टिकट नपाएपछि दलमा असन्तुष्टि

काठमाडौं- केन्द्रीय नेताले टिकट नपाएपछि विभिन्न पार्टीमा असन्तुष्टि देखिएको छ । टिकट नपाएका नेतामध्ये केहीले टिकट पाउन अन्तिम समयसम्म दौडधूप गरेका थिए । अन्तिम समयमा टिकट खोसिएपछि उनीहरूले पार्टीमा मूल्यमान्यता मिचिएको गुनासो गरेका छन् । टिकट नपाएकामध्ये अधिकांशले सार्वजनिक रूपमा असन्तुष्टि नपोखे पनि अनौपचारिक रूपमा नेतृत्वप्रति गुनासो गरेका छन् ।

टिकट नपाएकामध्ये अधिकांश नेताले सार्वजनिक रूपमा असन्तुष्टि नपोखे पनि अनौपचारिक रूपमा नेतृत्वप्रति गुनासो गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे र सुरेन्द्र पाण्डेले टिकट पाएनन् । यसअघि बद्रीले बाजुरा र सुरेन्द्रले गोरखामा टिकट पाउने चर्चा थियो । अन्तिम समयमा बाजुरामा कविराज पण्डितले टिकट पाए भने गोरखामा कांग्रेसले नयाँ शक्तिसँग  तालमेल गरेको छ । कांग्रेस नेता तारामान गुरुङ (संखुवासभा) र पूर्वसांसद ललितजंग शाही (हुम्ला) ले पनि टिकट पाएनन् । बद्रीले आफूले टिकट नपाएको कारण चुनावपछि खोतल्ने बताए । चुनावको बेलामा भने कांग्रेसलाई जिताउन हर प्रयास गर्ने उनले बताए । उनले भने, ‘मैले टिकट पाउनुपर्छ भन्ने मेरो दाबी थियो तर पाइनँ । किन पाइनँ यसबारेमा चुनावपछि खोतल्छु’, उनले भने, ‘तर चुनावमा कांग्रेसलाई जिताउन पूरै प्रयास गर्छु ।’
यसैगरी हुम्लाकी निवर्तमान सांसद रीता शाहीले पनि यसपटक टिकट पाइनन् । एकपटक समानुपातिकमा अवसर पाइसकेका सीता गुरुङ, सुजाता परियार, मधु शाहीलगायतका नेताले यसपटक फेरि पनि समानुपातिकमा अवसर पाएका छन् । कांग्रेसमा कार्यसम्पादन समितिको बैठकमै दोस्रो संविधानसभाका चुनावमा समानुपातिकमा अवसर पाइसकेकालाई पुनः समानुपातिकमा अबसर दिन नहुनेबारे कुरा उठेको थियो । तर बैठकको  माइन्युटिङमा भने ‘अपवाद’ भन्ने शब्द थपिएको थियो । सोही शब्दको कारण केही नेता समानुपातिकमा दोहरिएका हुन् । यसपटक पुष्पा भुषाल, उमा रेग्मी, रीता खनाललगायतका नेत्री समानुपातिकमा परेका छन् ।
उता एमालेका केही पोलिटब्युरो सदस्यले पनि टिकट पाएनन् । पोलिटब्युरो सदस्यद्वय अमृत बोहरा (सिन्धुपाल्चोक) र महेन्द्र पाण्डे (नुवाकोट) ले यसपटक प्रत्यक्षमा टिकट पाएनन् ।  । उनीहरूको नाम समानुपातिकमा पनि नपरेको स्रोतको भनाइ छ ।
यसैगरी नुवाकोटका राजेन्द्र लोहनीले पनि यसपटक अवसर पाएका छैनन् । एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल (रामेछाप) ले पनि यसपटक अवसर पाएनन् । यसैगरी भोजपुरका कृपाशुर शेर्पा, खोटाङका टिके राई, दोलखाका आनन्द पोखरेल पनि टिकट नपाउनेमा परेका छन् । पोखरेलले आन्तरिक व्यवस्थापनका कारण आफूले टिकट नपाएको बताए । रामेछापका देवशंकर पौडेल, बझाङका भानुभक्त जोशी, ताप्लेजुङका डम्वर तुम्बाहाम्फेलगायतका नेताले पनि यसपटक टिकट पाएनन् । यसैगरी एमालेका संसदीय दलका पूर्वसचेतक गोकुल घर्ती पनि टिकट नपाउनेमा परेका छन् ।
यस्तै टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजपा पार्टी कार्यालयमा जारी धर्ना नेतृत्वले गल्ती सच्याउने आश्वासन दिएपछि आइतबार टुंगिएको छ ।
राजपाका अध्यक्ष मण्डलका सदस्यले असन्तुष्टको माग पूरा गर्ने आश्वासन दिएपछि धर्नाकारीले धर्ना रोकेका हुन् । आइतबार धर्नामा बसेका पार्टीका सल्लाहकार दिपेन्द्र अग्रवालले माग पूरा गर्ने आश्वासन अध्यक्ष मण्डलका सदस्यले दिए पछि  धर्ना स्थगति गरेको बताए । उनले भने,‘हाम्रो आन्दोलन पार्टी शुद्धीकरणका लागि हो । माग पूरा भएन भने नयाँ आन्दोलनको लागि छलफल गर्छौ’ । केन्द्रीय सदस्य सवर प्रजापतिले समानुपातिकतर्फको सिफारिस सच्याउनुपर्ने अडान राखे ।
असन्तुष्ट नेताले नरमाया ढकाल, रिमा छिरिङ गुरूङ, लिलाराम भण्डारीलगायतको नाम समानुपातिक उम्मेदवारको सूचीबाट हटाउनुपर्ने अडान राखेका छन् ।

प्रकाशित: ७ कार्तिक २०७४ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App