coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ६ : वाम गठबन्धनमा बागीको बिगबिगी

नेपालगन्ज- माओवादी केन्द्रका ‘शक्तिशाली’ नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आइतबार वाम गठबन्धनका तर्पmबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा उम्मेदवार बने । ‘गठबन्धनकै प्रभावशाली नेताबाट बागी उम्मेदवारी पर्ला भन्ने त उहाँ (बस्नेत) ले सोच्नुभएको थिएन,’ माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता भन्छन्, ‘तर उहाँले आफ्नै जिल्लामा असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आयो ।’
    वाम गठबन्धले आकांक्षीका असन्तुष्टि समयमै व्यवस्थापन गर्न नसक्दा र स्थानीय तहको ‘भावनाविपरीत’ केन्द्रमा टिकट भागबन्डा हुँदा ६ नम्बर प्रदेशमा गठबन्धका उम्मेदवारविरुद्ध थुप्रै ठाउँमा बागी उठेका छन् । लामो राजनीतिक पृष्ठभूमि बोकेका प्रभावशाली नेताबाटै उम्मेदवारी परेपछि गठबन्धनसामु चुनौती झन् चुलिएको छ । ‘अहिले पनि मलाई पार्टीले न्याय गरेर सूर्य चुनावचिन्ह दिन्छ भन्ने विश्वास छ,’ एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य शाहले भने, ‘यदि दिएन भने पनि म आफ्नो उम्मेदवारीबाट पछि हट्दैन, न्यायका लागि जनतासँग जान्छु ।’
२०४८ को आमनिर्वाचनमा जनमोर्चाबाट सांसद जितेर हुम्लाको राजनीतिमा गहिरो जरा गाडेका पूर्वसहायकमन्त्री छक्कबहादुर लामाले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य लामाको उम्मेदवारीले गठबन्धनका तर्पmबाट उम्मेदवार बनेका आफ्नै पार्टीका छिमी दोर्जे लामालाई अप्ठेरोमा पार्ने आकलन गरिएको छ । २०७० सालको प्रतिकूल चुनावी माहोलमा मैदानमा उतार्ने, तर अहिले अनुकूल अवस्था हुँदा अर्कैलाई टिकट दिने पार्टीको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको लामाको भनाइ छ । हुम्लामा गठबन्धनका तर्पmबाट उम्मेदवार बनेका छिमी माओवादी केन्द्रका जिल्ला इन्चार्ज हुन् ।
हुम्लामा माओवादी केन्द्रका नेता प्रदेशसभामा पनि बागी बनेका छन् । प्रदेशअन्तर्गत ‘ख’ निर्वाचन क्षेत्रको टिकट हातमा समातेर बसेका पार्टी केन्द्रीय सदस्य लालकेश जैशीको टिकट आइतबार दिउँसो एकाएक खोसिएपछि उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गरे । उनले पाएको टिकट गठबन्धनको तर्पmबाट एमाले जिल्ला अध्यक्ष दल रावललाई दिइएको छ । जिल्लाको तल्लो भेग (ताँजकोट र अदानचुली गाउँपालिका) मा राम्रो प्रभाव भएका जैशीले उम्मेदवारी फिर्ता नलिए रावलका लागि प्रदेशसभायात्रा फलामको चिउरा चपाउनुझैं हुने गठबन्धनका नेता बताउँछन् ।
स्थानीय स्तरमा व्यापक बिरोध भएपछि गठबन्धनले ६ नम्बर प्रदेशको हुम्ला र जाजरकोटमा प्रदेशको एक–एक सिट साँटेको थियो । जाजरकोट ‘क’ मा एमालेका निरज आचार्यको नाममा आएको टिकट माओवादी केन्द्रका गणेशबहादुर सिंहलाई र हुम्ला ‘क’ मा माओवादी केन्द्रका जैसीको नाममा आएको टिकट एमालेका रावललाई दिइएको थियो । मनोनयनको अन्तिम समयमा सिट साँटफेर भएपछि त्यसले गठबन्धनको चुनावी माहोल असन्तुलित बनाएको स्थानीय पार्टी नेतृत्वको भनाइ छ ।
हुम्ला र जाजरकोटमा सिट साँटफेर भए पनि मुगुमा भने गठबन्धनले आफ्नो निर्णयमा पुनर्विचार गरेन, जसले गर्दा त्यहाँका प्रतिनिधिसभा र प्रदेशसभाका तीन सिटमा माओवादी केन्द्रका उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गरे । गठबन्धनले जिल्लाका तीनै क्षेत्र एमालेलाई दिने निर्णय गरेको थियो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मंगल शाहीले जिल्लामा पार्टीको अस्तित्व समाप्त हुने गरी टिकट वितरण भएपछि आपूmहरूले उम्मेदवारी दर्ता गरेको बताए । उनले प्रदेशको ‘ख’ क्षेत्रमा उम्मेदवारी दिएका छन् । जिल्ला उपाध्यक्ष सुरबहादुर बुढाले ‘क’ क्षेत्र र सन्तोषकुमार मल्लले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । यी तीनै उम्मेदवार पार्टीको व्यानर र झन्डासहित उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । ‘अहिले पनि गठबन्धनले मुगुमा माओवादीलाई न्याय गर्छ भन्ने विश्वास छ,’ शाहीले भने, ‘न्यायोचित रुपमा टिकट हेरफेर भएन भने पनि हाम्रो राजनीतिक अस्तित्व रक्षाको लागि चुनावी मैदानमा जान्छौं ।’

नेतृत्वको दोहोरो नीति
जाजरकोटमा प्रतिनिधिसभामा एमालेका शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गरे पनि प्रदेशसभाका दुइटै सिटमा  एमाले र माओवादी केन्द्रका उम्मेदवारले आआफ्नो पार्टीको तर्पmबाट मनोनयन दर्ता गरेका छन् । यस्तो अवस्था निम्तिनुमा गठबन्धनका केन्द्रीय नेताको भूमिका बढी छ ।
    क्षेत्र ‘क’ मा एमालेका निरज आचार्यको नाममा आएको टिकट माओवादी केन्द्रका गणेश सिंहलाई दिएको बताइए पनि आचार्य भने पार्टी नेतृत्वले मनोनयन दर्ता गर्न निर्देशन दिएको बताउँछन् । पार्टीको प्रदेश समिति र केन्द्रीय समितिका निर्णायक नेताले सूर्य चिह्नबाटै चुनाव लड्ने गरी निर्देशन दिइएको बताउँछन् ।
    क्षेत्र ‘ख’ मा पनि गठबन्धनले एमालेका करबीर शाहीलाई टिकट दियो । माओवादी केन्द्रका नरबहादुर बिष्टले भने आचार्यकै शैलीमा पार्टीको तर्पmबाट उम्मेदवारी दर्ता गरे । कार्कीले आफ्नो फेसबुक पेजमा ४ः५५ बजेसम्म साझा उम्मेदवारी हुन नसकेपछि कोही पनि बागी नभई आआफ्नो पार्टी अध्यक्षको निर्देशनअनुरुप आधिकारिक उम्मेदवार बनेको बताएका छन् । ‘बाँकी कुरा हामी सबैको पहल तथा उच्च नेतृत्वमा निर्भर छ,’ उनले भनेका छन् ।

प्रकाशित: ७ कार्तिक २०७४ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App