coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बझाङमा एमालेको बागी

धनगढी- प्रदेश नम्बर ७ मा पहिलो चरणमा निर्वाचन हुने ४ जिल्लामध्ये बझाङमा एमालेको असन्तुष्ट पक्षले बागी उम्मेदवारी दर्ता गराएको छ । १ निर्वाचन क्षेत्र रहेको बझाङमा एमालेका जिल्ला कमिटीका सचिवालय सदस्य गोपालबहादुर खड्काले प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका छन् । यस्तै गाउँपालिका संगठन कमिटी सदस्य शेरबहादुर बोहराले प्रदेशसभाका लागि (क) निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा एमालेका पूर्व केन्द्रीय सदस्य भानुभक्त जैसी र प्रदेशमा जिल्ला अध्यक्ष दिलबहादुर सिंहलाई केन्द्रले टिकट नदिएपछि असन्तुष्ट समूहले बागी उम्मेदवारी दर्ता गराएको हो । प्रदेश नम्बर ७ मा एमालेका उपाध्यक्ष भीम रावल र पोलिटब्युरो सदस्य कर्ण थापापछि जैसीको नाम आउँछ । प्रदेशमा मुख्यमन्त्रीकै चर्चा बटुलेका जैसीका पक्षमा जिल्ला कमिटी र क्षेत्रीय कमिटी दुई तिहाइ भन्दा बढी कार्यकर्ता उम्मेदवार बनाउनुपर्ने पक्षमा हँुदाहँुदै केन्द्रले अन्यायपूर्ण ढंगले जनमतविपरीत जैसीलाई रोकेर भैरवबहादुर सिंहलाई टिकट दिएको एमाले बझाङका अध्यक्ष दिलबहादुर सिंहले बताए । केन्द्रको अन्यायविरुद्ध बागी उम्मेदवारी दिनुपरेको उनले बताए । बागी उम्मेदवारलाई आफ्नो भने समर्थन नरहेको उनको भनाइ छ । यसअघि शनिबार अध्यक्ष सिंहले धनगढीमा पत्रकार सम्मेलन गरी तानाशाही ढंगले जनमत र कार्यकर्ताको भावनाविपरीत भीम रावलले नजिकका मान्छेलाई टिकट दिएको भन्दै आक्रोश पोखेका थिए । ‘जित्न कठिन हुँदा लोकप्रिय मान्छेलाई टिकट दिने र गठनबन्धन भएर सजिलो हुँदा तानाशाही तरिकाले भीम रावलले एसमेनलाई टिकट दिएका हुन्’, उनले भने ।
बझाङ (क) मा प्रदेशसभामा उम्मेदवार सिफारिस गर्ने क्रममा एमालेले भोटिङ नै गरेको थियो । ४७ मत ल्याएका जिल्ला अध्यक्ष डिलबहादुर सिंहले टिकट पाएनन् । एमालेले जिल्लाको निर्वाचनमा २४ मत पाएका अर्जुन थापालाई टिकट दिएको छ । प्रदेशसभामा बझाङ (ख) मा माओवादीका तर्फबाट देवकी मल्ल उम्मेदवार बनेकी छन् ।
यसैगरी काग्रेसका तर्फबाट पृथ्वीबहादुर सिंह चुनावी मैदानमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभाका लागि विश्वप्रकाश जेठारा, संघीय समाजवादी फोरमका भीमबहादुर थापा र देशभक्त जनगणतान्त्रिक मोर्चाका धरणीधर नाथले मनोनयन दर्ता गरेका छन् । बझाङमा प्रदेशसभाका लागि (क) निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट चन्द्रा जोशी र (ख) मा कांग्रेसका नरेशबहादुर सिंह चुनावी मैदानमा छन् । बझाङमा विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि अग्रज पत्रकार मीनबहादुर सिंहले मनोनयन दर्ता गरेका छन् । प्रदेशसभाका लागि विवेकशीलकै मोहनबहादुर सिंहले (क) निर्वाचन क्षेत्रमा र रवीन्द्र बमले (ख) निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट प्रदेशसभाका लागि (क) निर्वाचन क्षेत्रमा जगतबहादुर सिंह र (ख) निर्वाचन क्षेत्रमा तारादत्त पण्डितले मनोनयन दर्ता गरेका छन् ।
प्रदेश ७ का दार्चुला, बझाङ, बैतडी र बाजुरामा पहिलो चरणको निर्वाचन हुँदैछ ।
दार्चुलामा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट विक्रम धामी मैदानमा छन् भने वाम गठबन्धनबाट एमालेका गणेश ठगुन्ना उम्मेदवार बनेका छन् ।
प्रदेशसभामा (क) निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट जगदीश पाल र वाम गठबन्धनका तर्फबाट एमालेका ग्याल्बुसिंह बोहरा र (ख) मा नेपाली कांग्रेसका मदन गिरी र वाम गठबन्धनका तर्फबाट माओवादीका मानबहादुर धामी चुनावी मैदानमा छन् । दार्चुलामा एमाले र माओवादीले प्रदेशसभामा एकएक सिट बाँडेका छन् ।
बैतडीमा नेपाली कांग्रेस—राप्रपाको लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नरबहादुर चन्द र वाम गठबन्धनका तर्फबाट एमालेका दामोदर भण्डारी चुनावी मैदानमा छन् ।
प्रदेशसभामा (क) निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका हरिमोहन भण्डारी, माओवादीबाट प्रेमप्रकाश भट्ट र (ख) निर्वाचन क्षेत्रमा एमालेका लीलाधर भट्ट र राप्रपाका गणेश चन्द चुनावी मैदानमा छन् । हालै गठित नेपाली कांग्रेस (बिपी) का तर्फबाट कांग्रेस बैतडीका पूर्वसभापति नरेन्द्र बिष्टले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । बिष्ट नेपाली कांग्रेस बैतडीको ८ वर्ष सभापति रहेका थिए ।
बाजुरामा प्रतिनिधिसभाको चुनावमा कांग्रेसका पार्टी सभापति कविराज रेग्मी र एमालेका केन्द्रीय सदस्य लालबहादुर थापा चुनावी मैदानमा छन् । बाजुरामा प्रदेश सभाका लागि (क) निर्वाचन क्षेत्रमा कांग्रेसका जनकराज गिरी, एमालेका बलदेव रेग्मी तथा (ख) मा कांग्रेसका पदमबहादुर शाही र एमालेका केन्द्रीय सदस्य प्रकाश शाहको मनोनयन दर्ता भएको छ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App