८ वैशाख २०८१ शनिबार
राजनीति

दोलखा २ मा एमालेका सधैं 'पाहुना' उम्मेदवार

दोलखा- दोलखा स्थित प्रदेश सभाको क्षेत्र नं २ मा बहुदल यताका प्राय निर्वाचन जित्दै आएको एमाले भित्र आगामी प्रदेश सभा चुनावका लागि सोही क्षेत्रमा नाम कहलिएका दुई नेताले टिकट दाबी गरे।

भीमेश्वर नगरपालिका, कालिञ्चोक, विगु र शैलुङ गाउँपालिका गरेर ४ ओटा स्थानीय तह समेटेर बनेको क्षेत्र नं २ मा एमाले भित्र पूर्व जिविस सभापति समेत रहेका विगु गाउँपालिकाका लालकुमार केसी र पार्टी अध्यक्ष केपी ओली निकट कालिञ्चोक गाउँपालिका स्थायी घर भएका उद्योगी बालकृष्ण शिवाकोटी सबै भन्दा बढी दौडधुपमा थिए।

तर आईतबार मनोनयन अगाडी नाम नभरेको खाली टिकट पठाईएको दोलखामा यो क्षेत्रका उम्मेदवारका रुपमा अर्कै क्षेत्रबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईको नाम भरेर एमालेको तर्फबाट उम्मेदवारी दर्खास्त गरियो।

दोलखा क्षेत्र नं २ मा २०६४ को संविधान सभा निर्वाचन बाहेक बहुदल यताका सबै चुनाव जित्दै आएको एमालेका लागि पाहुना उम्मेदवारका रुपमा चौलागाई पहिला हैनन् । ४८ यताका प्राय चुनावमा एमालेका उम्मेदवार क्षेत्र नं १ बाटै आयातित छन् । ‘प्रत्येक चुनावमा हाम्रै क्षेत्रका नेताले आकांक्षा राख्छन’ दोलखा एमालेका एक जिल्ला नेताले भने – ‘तर अन्तिममा अर्कै क्षेत्रका नेताले टिकट लिएर यहाँबाट चुनाव लड्न आउँछन।’

यस अघि २०४८ सालको संसदीय चुनावमा बाहेक सबै निर्वाचनमा एमालेले पाहुना उम्मेदवार मात्रै उठाएको भन्दै पार्टी भित्र कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेको ति नेताले बताए।

यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाभचन मा समेत अर्को क्षेत्रबाट उम्मेदवार ल्याएर लडाईएका कारण जिल्लाका पुराना एमाले नेता केसीले एमाले परित्याग गरी मालेबाट चुनाव लडेका छन्। 

तिव्वती नाका लामावगर गाउँ देखी सुन्दर पर्यटकीय क्षेत्र शैलुङ र रामेछाप, सिन्धुपाल्चोक र काभ्रेसंग सीमा जोडिएको दुधपोखरी र भुषाफेदा गाउँ सम्म फैलिएको यो निर्वाचन क्षेत्रमा २०४८ सालको चुनावमा एमालेले आफ्नै क्षेत्रको उम्मेदवार उठायो । लादुक गाउँका जितविर लामाले कांग्रेसका तत्कालिन उम्मेदवार कृष्ण थापालाई ठूलो मतान्तरले हराएका थिए । थापा समेत २ नं क्षेत्रकै सदरमुकाम स्थित चरिकोट बजारका स्थानीय थिए ।

लामा पछि दोलखा एमालेले क्षेत्र नं २ बाट उम्मेदवार नै पाएन् । २०५१ को मध्यावधी चुनावमा क्षेत्र नं १ को श्यामा गाउँका वाङछे शेर्पालाई ल्याएर चुनाव उठाईयो । उनले समेत कांग्रेसका माधवमणी राजभण्डारीलाई पराजित गरेर सांसद बने । राजभण्डारी २ नं क्षेत्रकै भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारका स्थानीय थिए । उक्त सालको चुनावमा क्षेत्र नं १ मा भने आनन्द प्रसाद पोखरेल चुनाव लडेका थिए । उनी कांग्रेसका स्वर्गिय नेता भीमबहादुर तामाङ संग पराजित भएका थिए।

जब २०५६ को चुनाव आयो उक्त साल समेत यो क्षेत्रबाट एमालेले उम्मेदवार नै पाएन । उक्त साल क्षेत्र नं २ का केही नेताले आकांक्षा राखेपनि ५१ को मध्यावधीमा १ बाट उठेका जफे गाउँका आनन्दप्रसाद पोखरेलले २ को टिकट लिए । उनले कांग्रेसका ताराबहादुर कोईरालालाई हराए । कोईराला २ नम्बर क्षेत्रकै शैलुङ गाउँका थिए । पुख्र्यौली घर शैलुङकै सिमाना पवटीमा भएपनि उनले पञ्चायतकाल देखी नै शैलुङबाट चुनाव लड्दै आएका थिए ।

२०६४ को संविधान सभामा समेत एमालेबाट पोखरेल नै उम्मेदवार बने । जफे गाउँका पोखरेलले अर्को निर्वाचन क्षेत्रमा आएर चुनाव लडेको भन्दै आलोचना खेप्नुपरेपछि संविधान सभा निर्वाचन २०६४ मा भने आफ्नो मतदाता नामावली भीमेश्वर नगरपालिका १० स्थित चरिकोट सारेका थिए । उक्त चुनावमा पोखरेल तत्कालिन नेकपा माओवादीका उम्मेदवार हेमबहादुर श्रेष्ठसंग पराजित बनेका थिए। कांग्रेसबाट समेत कोईराला नै लडे पनि उनी श्रेष्ठ र पोखरेलसंग प्रतिष्पर्धामा आउन सकेनन् ।

२०७० को संविधान सभा निर्वाचनमा समेत एमालेका पोखरेल नै तेश्रो पटक उम्मेदवार बने । उनले कांग्रेसका कोईरालालाई झण्डै ४ हजार मतको अन्तरले हराए । माओवादीका उम्मेदवार शंकर लामा यो क्षेत्रबाट चुनाव लडेर तेश्रो बने । उनी समेत जिल्लाको क्षेत्र नं १ स्थित घ्याङसुकाठोकरबाट क्षेत्र नं २ मा चुनाव लड्न आएका थिए ।

आगामी मंसिर १० को निर्वाचनका लागी एमालेले पुःन क्षेत्र नं १ बाट पार्टी पोलिटब्युरो सदस्य चौलागाईलाई ल्याएर प्रदेश सभा सदस्यको चुनाव लडाएको छ । एक प्रतिनिधि सभा र दुई ओटा प्रदेश सभा सदस्यको सिट रहेको दोलखामा चौलागाई प्रतिनिधि सभा सदस्यका दाबेदारका रुपमा अग्र स्थानमा थिए।

तर दोलखामा चौलागाई सहित पार्टी केन्द्रिय सदस्य पार्वत गुरुङ र पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल समेत प्रतिनिधि सभा सदस्यका रुपमा दाबेदार रहेका कारण एमाले केन्द्रिय समितिलाई मिलाउन अफ्ठेरो परेका कारण सहमती गरेर आफै मिलाउन भन्दै दोलखा ईन्चार्ज समेत रहेका केन्द्रिय सदस्य गुरुङको हातमा पार्टी अध्यक्ष केपी ओलीले खाली टिकट पठाईदिए।

उक्त खाली टिकट कसले भर्ने भन्ने प्रतिष्पर्धाका बिच उम्मेदवारी दर्ता हुने दिन जिल्ला हिडेका गुरुङलाई बिच बाटोमै एमाले अध्यक्ष ओलीले खाली टिकटमा आफ्नो (गुरुङकै) नाम भर्न र प्रदेश नं २ को टिकटमा पोलिटब्युरो सदस्य चौलागाईको नाम भर्न निर्देशन दिए लगतै उनले सोही अनुसार गरे र एमालेले प्रदेश नम्बर २ मा जिल्लाको काब्रे गाउँका चौलागाईको नाम दर्ता गरायो।

प्रदेश नम्बर १ भने बाम गठबन्धनका कारण एमालेले माओवादी केन्द्रलाई दिईसकेको थियो । त्यहाँ माओवादी केन्द्रका बिशाल खड्काले उम्मेदवारी दर्खास्त गराएका थिए ।

क्षेत्र नं १ बाट ल्याएर टिकट दिलाएको भन्दै एमालेका पुराना नेता एवं पूर्व जिविस सभापति लालकुमार केसी माले प्रवेश गरेर चौलागाई विरुद्ध मालेबाट उम्मेदवारी दिईसकेका छन्।

लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसले भीमेश्वर नगरपालिका ४ जिलु स्थायी घर भएका पार्टी महासमिति सदस्य केशबराज चौलागाईलाई प्रदेश सभा सदस्यका रुपमा अघि सारिसकेको छ।

 

प्रकाशित: ६ कार्तिक २०७४ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App