८ वैशाख २०८१ शनिबार
राजनीति

हात जाँच गर्दा घुस लिएको पुष्टि, तीन नासु पक्राउ

पक्राउ परेका इलाका प्रशासनका तीन नासु (उभिएका) हरुको ह्याण्ड टेष्ट गर्दै आयोग कर्मचारी। तस्बिर: रोहित राई

धरान—सेवाग्राहीसँग नगद घुस लिएको प्रमाणसहित इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले तीन जना नायब सुब्बाहरु हर्कराज राई, युवराज पोख्रेल र मोहन सुवेदीलाई सेवाग्राहीबाट घुस लिएको नगदसहित सोमबार पक्राउ गरेको हो। उनीहरुले बराह नगरपालिका २, रेल्वे लाइनका एक सेवाग्राहीसँग बार्गेनिंग गरेर नगद २० हजार घुस लिएका थिए।

कर्मचारीहरु पक्राउ परेपछि पीडित सेवाग्राहीमा डर एवं तनाव भएकाले अख्तियारले नाम सार्वजनिक नगरेको जनाएको छ। अख्तियारका अनुसार ती सेवाग्राहीको नागरिकतामा जन्ममिति फरक परेको थियो। उनी त्यही जन्ममिति सच्याउन आएपछि नागरिकता प्रतिलिपि फाँटका नायब सुब्बा राईले खर्च लाग्ने भन्दै शुरुमा बार्गेनिग गरेका थिए। खर्च लाग्ने भन्दै प्रशासनका कर्मचारीले निरन्तर काम अड्काएपछि ती सेवाग्रही आइतबार आफ्नो छिमेकी उद्धवप्रसाद घिमिरेसँग गुनासो गर्न पुगेका थिए। तिनै घिमिरेको सहयोगमा पीडित युवा सोमबार अख्तियारसम्म पुगेपछि ३ जना कर्मचारी पक्राउ परेको थियो।

पीडितहरु सम्पर्कमा आएपछि अख्तियारबाट डिएसपी मुकुन्द रिजालको नेतृत्वमा टोली सोमबार करिब अढाई बजेतिर इलाका प्रशासन आएको थियो।

पीडितहरु सम्पर्कमा आएपछि अख्तियारबाट डिएसपी मुकुन्द रिजालको नेतृत्वमा टोली सोमबार करिब अढाई बजेतिर इलाका प्रशासन आएको थियो। योजनाअनुसार छिमेकी घिमिरेले ती पीडित युवालाई २० हजार दिए। त्यसबेलासम्म प्रशासनका कर्मचारीले पहिला पैसा दिएमात्र काम गरिदिने भन्दै ती सेवाग्राहीको काम रोकेको थियो। घुस(पैसा) लिने बेला नागरिकता प्रतिलिपि फाँटका राईले ती सेवाग्राहीलाई आफ्नो कार्यकक्षभन्दा अलग्गै कोठामा लगेर पैसा बुझेका थिए।

सेवाग्राहीले पैसा बुझाइसकेको इशारा पाएपछि अख्तियारको टोली कार्यालयमा प्रवेश गरेर चेकजाँच गर्दा उनीसँग पैसा भने फेला परेन। तर, कडाईका साथ केरकार र सोधपुछ गरेपछि भने घुस लिएको पोल लामो समय लुक्न सकेन। ‘निक्कै समय केरकार गरेपछि मात्र पोल खुल्यो, हर्कराज राईले पैसा लिएर युवराज पोख्रेललाई राख्न दिइसकेका रहेछन्, उनले पनि अर्का मोहन सुवेदीलाई बुझाइसकेका रहेछन्,’पीडितका छिमेकी घिमिरेले भने,‘नागरिकता बनाउन त त्यत्रो खर्च लाग्दैन, यो त जन्ममिति सच्याएर प्रतिलिपि झिक्न आएको हो, तर पैसा दे अनिमात्र काम गर्दिन्छु भन्दै रोकेको थियो।’

डिएसपी रिजालका अनुसार एक सेवाग्राही आफ्नो नागरिकतामा १ महिना फरक परेको जन्ममिति सच्याउन आउँदा कर्मचारीले घुस मागेको गुनासो लिएर आएका थिए। गुनासोको आधारमा सोमबार टोली धरान आएर रंगेहात पक्राउ गरेको उनको भनाई छ। ‘एक सेवाग्राही नागरिकताको जन्ममिति सच्याउन आएका रहेछन्, यो त सेवाग्राहीको कानुनसम्मत अधिकार हो तर कर्मचारीले पहिला पैसा देउ भन्दै बार्गेनिङ गरिराखेको रहेछ,’डिएसपी रिजालले भने,‘पटक पटक बार्गेनिङ गरेपछि पीडितहरु हाम्रो सम्पर्कमा आउनुभयो र ३ जना कर्मचारीलाई रंगेहात घुस लिएर रकमसहित पक्राउ गर्न सफल भयौं।’

 उनका अनुसार सेवाग्राहीसँग घुसकोरुपमा लिएको पैसा नायब सुब्बा राईबाट पोख्रेल हुदै अन्तिममा सुवेदीले लिएर राखेका थिए। पैसा फेला परेपछि अख्तियारको टोलीले रेड ह्याण्ड टेष्ट गर्दा तीनै जनाले पैसा समातेको पनि पुष्टि भएको थियो। पक्राउ परेका तीनै जनालाई मंगलबार नै आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा थप अनुसन्धान र मुद्दा प्रक्रियाको लागि पठाइने पनि डिएसपी रिजालले जानकारी दिए ।

धरान १३ स्थित इलाका प्रशासन कार्यालय धरानमा नागरिकता बनाउन वा प्रतिलिपि झिक्न आउने सेवाग्राहीबाट विभिन्न बहानामा घुस लिने गरेको चर्चा भएपनि प्रमाणसहित कोही पक्राउ भने परेका थिएनन्। प्रशासनमा सेटिङमा नै सेवाग्राहीबाट रकम असुल हुने टिकाटिप्पणी पनि हुने गरेको छ। प्रशासनका शाखा अधिकृत जयराम श्रेष्ठले भने मातहतका कर्मचारीहरुलाई आफु र कार्यालय प्रमुखसमेतले गलत कार्य नगर्न निर्देशन गर्दा गर्दै पनि यो घटना हुन पुगेको भन्दै दुःख प्रकट गरे। उनका अनुसार अख्तियारले पक्राउ गरेपछि तीनै जना नायब सुब्बा स्वतः निलम्बनमा पनि परेका छन्। ‘सेवाग्राही कार्यालय प्रमुख वा म कहाँ पनि गुनासो लिएर आएको भए काम भइहाल्थ्यो, यस्तो हुन पाउदैनथ्यो,’उनले भने,‘तल नै सेटिङमा भएको रहेछ, यो केस १ र २ नम्बर कोठासम्म पुग्दै पुगेन।’

 

 

प्रकाशित: ६ कार्तिक २०७४ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App