coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खोई महानगरका योजना ?

स्थानीय तहको चुनावअघि महानगरवासीमा आश थियो–जनप्रतिनिधि आएपछि विकासले गति लिन्छ । रोकिएका कामहरु धमाधम हुन्छन् । धुलोमैलाको सास्ती र फोहोरको दुर्गन्ध खेप्नु पर्ने छैन् । चिल्ला सडकमा सरर..सवारी गुडाउने पाइनेछ।

स्थानीय तहको चुनाव पनि भयो, जनप्रतिनिधि पनि आए । तर, सर्वसाधारणले सोचे जस्तो केही भएन् । विकास निर्माणले गति लिएन् । विकासे कार्यको अवस्था कागज र बोलीमा बाहेक फेरिएन् । जनप्रतिनिधि आउँदा जस्तो थियो, त्यो अवस्थाबाट केही आएन् । काठमाडौं महानगरपालिकाकै सन्र्दभमा बोल्दै बौद्धका सोनाम लामा भन्छन्, ‘जनप्रतिनिधि नहुँदा स्थानीय तहको चुनावपछि पक्कै केही परिवर्तन आउँला भन्ने आशा थियो । रोकिएका विकासे कार्यले गति लिनेमा विश्वस्त थियौं । जनप्रतिनिधि आएको ६ महिना पुग्दा पनि परिवर्तनको महसुस गर्न नपाएपछि आशा गर्नुको अर्थै नहोला जस्तो लागेको छ।’

काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि आएको पाँच महिना नाघिसकेको छ । यतिबेला लामा मात्र होइनकी अधिकांश महानगरवासी जनप्रतिनिधिप्रति गरिएको आशामा निराश बढाउन थालेका छन् । जनप्रतिनिधि हुनु र नहुनमा फरकपन नपाएपछि ‘अब यस्तै रहन्छ कसो उपत्यका’ भनेर सोच्न बाध्य छन्।

‘हामीलाई त जनप्रतिनिधि आएपछि केही भएको जस्तो लाग्दैन्,’ वागबजारकी शर्मिला अधिकारी भन्छिन्, ‘हिजो जस्तो देखिन्थ्यो, भोगिन्थ्यो आज पनि त्यही नै भइरहेको छ ।’ जनप्रतिनिधि आएपछि पक्कै केही परिवर्तन होला भन्ने अधिकारीलाई लागेको थियो । तर, अहिलेसम्म परिवर्तन हुने लक्षणको कुनै कामको योजना शुरुवात नभएपछि अब गर्लान भनेर आशा गर्ने ठाउँ नरहेको उनको ठहर छ। 

सर्वसाधरणले देखिन गरी महानगरले अहिलेसम्म केही काम नथालेका स्थानीयको दाबी छ । सर्वसाधारण दैनिक ठोकिने सडकको अवस्था उस्तै छ । सम्पदाको पुनर्निर्माण पनि थालनी हुन सकेको छैन् । सडकको यात्रा गर्दा घण्टौं जाममा अल्झिन पर्ने बाध्यता उस्तै छ । जसले गर्दा सर्वसाधरणले जनप्रतिनिधिसँग गरेको आशा निराशमा बद्लिन थालेको जानकारहरु बताउँछन्।

ज्यूँको त्यूँ सडक
महानगरका मेयर विद्या सुन्दर शाक्यले चुनावी प्रचारकै बेलामा सडकको अवस्था सुधार गर्ने प्रतिवद्धता गरेका थिए । खाल्डाखुल्डी पुर्ने देखि धुलो रहित सडक बनाउने  उनको योजनाको कार्यान्वयन प्रतिवद्धताअनुसार सय दिनमा हुन सकेन । अझै पनि सडक सुधारको योजना सञ्चालन महानगरले गर्न सकेको छैन् । जसले गर्दा शाक्य आउनुअघि सडकबाट आजित भएका महानगरवासीले अहिले पनि सोही अवस्था यथावत रुपमै भोगिरहेका छन् । ‘जनप्रतिनिधिबाट ठूलो अपेक्षा गरेकै थिएनौं,’ बौद्धका स्थानीय लामाले भने, ‘सडकको अवस्था मात्रै सुधार गरिदिएको भएमात्रै हाम्रो लागि ठूलो राहत हुनेथियो ।’ सडकको दुरावस्थाकै कारण धुलो र हिलोको मार खेप्न बाध्य रहेको उनले बताए ।

बढ्दै प्रदूषण
अघिल्लो हिउँदमा प्रदूषणको राष्ट्रिय मापदण्ड भन्दा मात्रा पाँच गुणासम्म बढ्यो । उपत्यकाको हावामा २.५ पीएको मात्रा ४० हुनुपर्ने सरकारी मापदण्ड भएपनि अघिल्लो वर्ष सरदर दुई सय रहेको थियो । वर्षात लागेसँगै हावामा भएका कण गह्रौं भएर जमिनमा बसेको कारण केही समय प्रदूषण राष्ट्रिय मापदण्डभित्र आएको थियो । अघिल्लो सातादेखि भने प्रदूषणको मात्र बढ्न थालेको छ । मनसुन टरेसँगै प्रदूषण बढेको हो । यसको मुख्य कारण भने सडकको धुलोधुवाँ नै प्रमुख हो । अहिले राष्ट्रिय मापदण्डबाट प्रदूषण माथि उक्लिन थालेको छ । यसले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएपनि महानगरले प्रदूषण न्युनिकरण गर्नको लागि केही योजना बनाएको छैन्।

उस्तै ट्राफिक जाम
मेयर शाक्यले चुनावी प्रचारमा ‘सही समय सही ठाम, नो ट्राफिक जाम कार्यक्रम’ सय दिनमा गर्ने प्रतिवद्धता जनाए । सडकमा ट्राफिक लाइट र सीसी क्यामेरा जोड्यो योजनाको प्रचार गरेका थिए । ती योजना सुन्दा जामको हैरानी खेप्दै आएका महानगरवासीले केही राहत मिल्ने अनुमान लगाएका थिए । तर, अहिलेसम्म ट्राफिक जाम कम गर्ने महानगरले योजना ल्याउन सकेको छैन् । महानगरको केही मुख्य चोकमा जसरी घण्टौं जामको मार खेपिरहेका थिए, अहिले पनि त्यसैगरी जामको सास्ती सहन बाध्य छन्।

घाँसमय रानीपोखरी
राजधानीको मुख्य केन्द्रमा रहेको ऐतिहासिक रानीपोखरी यतिबेला घाँस काट्ने चौर जस्तो देखिन्छ । घाँस उम्रिएर रानीपोखरीलाई ढपक्कै छोपेको छ । रानीपोखरीको बीचमा रहेको भूकम्पले भत्काएको बालगोपालेश्वरको पनि पुनर्निर्माण गरिएको छैन् । तिहारको भाइटिकाको दिन मात्रै खुल्ने मन्दिर भूकम्प यता उजाड भएको छ । 
यसअघि पुननिर्माण थालिएको रानीपोखरी र मन्दिर विवादको कारणले अड्किएको थियो । जनप्रतिनिधि आएपछि पनि पुननिर्माण बढेको भए यतीबेला काम अन्तिम चरण पुग्ने अनुमान गर्न सकिन्छ । रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर पुनर्निमाण कहिले अगाडि बढ्ला महानगर नै अन्योल छ । मेयर शाक्यले नै चुनावी अजेन्डामा पूरातात्विक मापदण्डअनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुचारु गर्ने प्रतिवद्धता गरेका थिए। 

काठमाडौं टावर दुई धार
पुरानो बसपार्कस्थित बन्न लागेको  बहुदेश्य ‘काठमाडौं टावर’ अझै अन्योलमै छ । टावर भन्दा खाली जग्गाको आवश्यक रहेको भन्दै स्थानीय विरोधमा उत्रिदाउत्रिदै सार्वजनिक–निजी साझेदारी  टावर निर्माण गर्ने प्रक्रिया महानगरले थालेको थियो । दुई वर्षअघि बसपार्कलाई समेत खुलामञ्चमा सारेर टावर निर्माण थालेपनि स्थानीयको विरोधपछि अलपत्र भयो । 
स्रोतका अनुसार टावर निर्माण बारे महानगरमै अहिले पनि दुई धार देखिएको छ । उपमेयर हरिप्रभा खड्गी टावर निर्माण भन्दा खाली जग्गा नै आवश्यता भन्ने पक्षमा उभिएकी छिन् । मेयर शाक्यले पनि पुरानो बसपार्कमा प्रस्तावित काठमाडांै टावर निर्माण सम्वन्धमा जनभावनाको कदर गर्दै काम सुरु गर्ने प्रतिवद्धता गरेका थिए । अहिलेसम्म उनले न जनभावनाको कदर गरे, न त टावरको निर्माणलाई नै अगाडि बढाउन सकेका छन् । टावर बनाउने विषयमा भने मेयर शाक्य नै बोल्न चाँहदैनन् । ‘टावर निर्माणको विषय छलफलकै क्रममा छ,’ उनले नागरिकसँग आइतबार भने, ‘यसको ठोस निर्णय भइसकेको छैन् ।’ मेयर शाक्य निर्वाचित भएर आएको दुई महिनापछि टावरको बारेमा नागरिकसँग यही नै प्रतिक्रिया दिएका थिए । पाँचौं महिना वित्दा पनि प्रतिक्रिया नफेरिनुले टावरको विषय अन्योलमा रहेको अनुमान गर्न सकिन्छ । यो अन्योलता कतिन्जेल रहने हो शाक्य आफैं अनविज्ञ छन्। 

टेकोमा वसन्तपुर
भूकम्पबेला काष्ठमण्डप लगायत वसन्तपुरका आधा दर्जन बढी ऐतिहासिक सम्पदा भत्किए । ती मध्ये कतिपय सम्पदालाई अहिले पनि टेको लगाएर थमाएर राखिएको छ । कतिपय विवादको कारणले पुननिर्माण अघि बढ्न सकेका छैनन् । महानगरले सम्पदा पुननिर्माणमा अग्रसरता नदिएपछि स्थानीय काष्ठमण्डप पुननिर्माणमा जुरमुराए । स्थानीय जसरी उत्रिएका थिए, त्यसरी भने उनीहरुले पनि काम गर्न सकेनन् । महानगरका जनप्रतिनिधि आएपछि पनि सम्पदा पुनर्निर्माणको कार्यले प्राथमिकता पाउन सकेन् । यद्यपी काष्ठमण्डपको पुननिर्माण भने स्थानीयले नगरेर महानगर आफैंले गर्ने निर्णय गर्यो । उक्त निर्णय भएकै पनि दुई महिना पुग्नै लाग्दा काष्ठमण्डप पुनर्निर्माणको कुनै काम हुन सकेको छैन् । झन, अब त महानगरले पुननिर्माण थाल्ने की स्थानीयले भनेर विवाद बढेको छ । वसन्तपुरकै अन्य केही सम्पदा पनि टेको लगाएर अड्याइएको छ । यि सम्पदाको पुनर्निर्माणमा महानगरले कुनै योजना ल्याएर अघि बढाउन सकेको देखिन्न ।

बेहाल तीनकुने 
महानगरले तीनकुनमा रहेको खुला जग्गालाई व्यवस्थित गर्ने योजना पटक पटक ल्यायो । मुआब्जा लगायतको विवादको कारणले अलपत्र छोडिँदा तीनकुनेको जग्गा फोहोर फ्याक्ने, गाडी पार्किङ गर्ने, गाईवस्तु चराउने लगायतको प्रयोजनको लागि प्रयोग हुँदै आएको छ । महानगरले त्यसलाई न विवाद टुंग्याउन सकेको छ । न त्यसलाई व्यवस्थित गरेर सौन्र्दयीकरण गर्न सकेकै देखिन्छ । मेयर शाक्यले तीनकुनेको जग्गाको समस्याको समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरु गरिने चुनावीबेला प्रतिवद्धता गरेपनि त्यसबारे ठोस योजना शाक्यले अझै ल्याउन सकेका छैनन्।

के भन्छन् मेयर शाक्य
महानगर मेयर शाक्यलाई भने जनताले परिवर्तन महसुस गर्न नपाएको प्रति कुनै पछुतो छैन् । ‘हाम्रो दैनिकी जनताकै काममा वितिरहेको छ,’ शाक्यले भने, ‘कामको नतिजा आउन समय लाग्छ, रातरात परिवर्तन आएन भनेर आतिनु हुँदैन् ।’ आफुले विकास निर्माण तथा जनताको दैनिकीलाई सहज बनाउन लागि रहेको शाक्यको दाबी छ । ‘महानगरवासीलाई परिवर्तनको महसुस गराएरै छोड्छु,’ उनले भने, ‘त्यसको लागि केही समय लाग्न सक्छ ।’

अहिले रोकिएका विकास निर्माणमा आफु योजना बनाउने लागि परेको शाक्यको भनाई छ । ‘सडक, सवारी जाम, प्रदूषण, रानीपोखरी, काष्ठमण्डप, सम्पदा पुननिर्माण, तीनकुने सबैको योजना बनाइरहेका छौं, कसरी अगाडि बढाउने भनेर,’ मेयर शाक्यले नागरिकसँग भने, ‘योजना परिपक्का भएपछि फिल्डमा नतिजा देखिनेछ ।’ कतिपय योजनामा भने अवरोध आएका कारण पनि नतिजा नदेखिएको उनको दाबी छ । ‘नतिजा कहिले देखिन्छ भनेर मिति नै किटान गर्न त सक्दिन्,’ उनले भने, ‘यती भन्छु, ढिलोचाँडो नतिजा देखिन्छ । जनतालाई जनप्रतिनिधि भएको महशुस गराउँछु ।’

 

प्रकाशित: ६ कार्तिक २०७४ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App