coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

खोटाङ- दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने यी सांस्कृतिक बाजा हिजोआज एकादेशको कथाझैं बनेको छ । बिनायो, मुर्चुङ्गा बनाउन र बजाउन सिपालु बुढापाका बितेसँगै यसको अस्तित्व पनि लोप हुँदै गएको स्थानीयको बुझाइ छ ।
च्यास्मीटार दाल्फुका स्थानीय भगसेर राईले अहिलेको पुस्ता बिनायो र मुर्चङ्गाबारे अनभिज्ञ रहेको बताए । ‘अहिले मनोरञ्जनको आधुनिक माध्यम आइसकेको छ । त्यसकारण पनि पुराना सांस्कृतिक बाजाको अस्तित्व हरायो,’ उनले भने, ‘अहिले बिनायो, मुर्चुङ्गा नचिन्ने पुस्ता आए । जसले गर्दा पनि मौलिकता हराउँदै गयो ।’
विगतमा सबै पुरुषको दौराको फेर र महिलाको चौबन्दी चोलीको तुनामा बिनायो र मुर्चुङ्गाको झुडिन्थे । गाउने, नाच्ने, रमाइलो गर्ने माध्यम नै बिनायो र मुर्चुङ्गा थियो । ‘तर प्रविविधको विकाससँगै क्यासेट आए, टेप बज्न थाले, डेक घन्किन थाले । अब त हात–हातमा मोबाइल भए । जसका कारण बिनायो र मुर्चुङ्गा लोप हुँदै गयो,’ सधैं बिनायो र मुर्चुङ्गा साथमै बोकिरहने स्थानीय वृद्धा बिष्णुकुमारी राईले भनिन्, ‘अहिले रंगरस गर्ने थरिथरिका कुरा छन् अनि कसले बिनायो र मुर्चुङ्गा बजाउने ? ती सब अब हराए ।’ उनका अनुसार एक जमाना हलेसीमा लाग्ने रामनवमी, बालाचतुर्दशी, शिवरात्री, हरिवोधनी एकादशी लगायतका मेलामा किन्न पाइने मुर्चुङ्गा अहिले बजारमा दुलर्भ छ । तर विष्णुकुमारीसँग अझै पनि एक थान मुर्चुङ्गा र एक थान बिनायो सुरक्षित छ ।
सामान्यतः मालिङ्गो वा मोली बाँसलाई तिखो र धारिलो नहर्नीले खिपेर कडा मेहनतका साथ बिनायो तयार पारिन्छ । मुर्चुङ्गा भने आरनमा बनाइन्छ । अहिले नहर्नी र कर्दले मालिङ्गो खोप्ने कोही बुढापाका बाँकी छैनन् न त मुर्चुङ्गा बनाउने नै कोही छन् । दशक अघिसम्म बिनायो बनाउने बुढापाकाले आँखाको ज्योती धमिलिएसँगै बिनायो बनाउन छाडिसकेका छन् ।
‘वैंसमा बिनायो मुर्चुङ्गा बजाएर प्रेमीप्रेमीकासँग माया साटेका बुढापाकाका दाँत झरेसँगै बिनायो, मुर्चुङ्गा बज्न छाडेका छन् । दाँत भएसम्म मात्र बिनायो, मुर्चुङ्गा बजाउन सकिन्छ,’ बिष्णुकुमारीले भनिन् । दाँत र ओठले च्यापेर औंलाको सहायताले बजाइने बिनायो मादलजस्तै चुट्का, समला, दादरा लगायतका तालमा बजाउन सकिन्छ । मुर्चुङ्गाको पनि आफ्नै मिठासपूर्ण ताल छ ।
बुढापाकाका अनुसार पहिला बिनायो, मुर्चुङ्गा बजाउन सबै उत्तिकै पोख्त हुन्थे । फुर्सदका बेला ‘कसले राम्रो बजाउने’ भनेर प्रतिस्पर्धा नै चल्थ्यो । प्रेमी वा प्रेमीकालाई फकाउन परे वा चिनो स्वरुप उपहार दिन परे पनि तिनै बिनायो र मुर्चुङ्गाकै प्रयोग हुन्थ्यो । ‘चिनो दिनु परे आफ्नै हातले बनाएको बिनायो र मुर्चुङ्गाको प्रयोग गरिन्थ्योे,’ स्थानीय फुलसरी राईले सम्झिइन्, ‘मुर्चुङ्गाको तालबाट प्रेमीकालाई जाऔँ भनेर इसारा समेत गरिन्थ्यो ।’ उसबेला प्रेमी वा प्रेमीकालाई आफ्नै हातले बनाएको बिनायो वा किनेर ल्याएको मुर्चुङ्गा चिनोकारुपमा दिने प्रचलन थियो । त्यही पुरानो प्रचलन हराएका कारण पनि यी बाजाहरू संकटमा परेको उनीहरूको बुझाइ छ ।
बाबु बाजेबाट बनाउने सीप र कलाको हस्तान्तरण नहुँदा बिनायो र मुर्चुङ्गा लोप भएको हो । स्थानीय रहरमान राईले भने, ‘हाम्रा बाबु बाजेले बिनायो र मुर्चुङ्गा बनाउन र बजाउन आफ्ना सन्तानलाई नसिकाउँदा मुर्चुङ्गा, बिनायो देखिँदा पनि के हो यो भनेर सध्नुपर्ने दिन आए ।’

प्रकाशित: ६ कार्तिक २०७४ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App