७ वैशाख २०८१ शुक्रबार
खेल

परेराको कप्तानीमा श्रीलंकाली टोली

शारजहाँ- श्रीलंकाले पाकिस्तानविरुद्धको तीन अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाका लागि शनिबार अलराउन्डर थिसारा परेराको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ ।
शृंखलाअन्तर्गतको पहिलो दुई खेल क्रमशः अक्टोबर २६ र २७ मा आबुधाबीमा हुनेछ । तेस्रो तथा अन्तिम खेल अक्टोबर २९ मा लाहोरमा हुनेछ ।
८ वर्षपछि श्रीलंकले पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो । सन् २००९ मा लाहोरमा श्रीलंकाली खेलाडी चढेको बसमा आतंककारी हमला भएको थियो । सन् २०१५ मा जिम्बाब्वेले गरेको भ्रमणबाहेक उक्त हमलापछि कुनै पनि शीर्ष टोलीले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गरेका छैनन् । त्यसयता पाकिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) मा घरेलु शृंखला खेल्दै आएको छ । गत महिना विश्व –११ ले तीन अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाका लागि पाकिस्तान भ्रमण गरेको थियो ।
श्रीलंकाका एकदिवसीय र ट्वान्टी–२० टोलीका कप्तान उपुल थारंगा, तीव्र गतिका बलर लासिथ मालिंगा, सुरंगा लकमल विकेटकिपर ब्याट्सम्यान निरोसान डिकबेला र चामरा कपुदगेदराले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण टोलीबाट नाम फिर्ता लिएका थिए । लकमल र कपुदगेदरा दोस्रो टेस्ट दौरान लाहोरमा भएको उक्त आतंककारी हमलामा टोली सदस्य थिए ।
हाल युएईमा दुई टोलीबीच जारी पाँच एकदिवसीय खेलको शृंखला पाकिस्तानले ४–० ले आफ्नो पक्षमा पारिसकेको छ । पाँचौं तथा अन्तिम खेल सोमबार हुनेछ । यसअघि सम्पन्न दुई टेस्टको शृंखला श्रीलंकाले २–० ले आफ्नो पक्षमा पारेको थियो ।

 

प्रकाशित: ६ कार्तिक २०७४ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App