१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

न कारवाही न प्रतिवेदन

काठमाडौं- काभ्रे होक्से-६ का १८ बर्षीय अजित ढकाल मिजारको मृत्यु घटना अनुसन्धानमा सम्वन्धित निकायहरुले ढिलासुस्ती गर्दै आएको खुलेको छ। मृतकका परिवार र दलित समुदायले मिजारको आत्महत्या नभएर सुनियोजित हत्या भएको भन्दै आएका छन्।

मृतककी आमा काली ढकाल मिजारको दावी छ,'अन्तरजातीय विवाहको कारण मेरो छोराको हत्या भएको हो'। अजितको असार २५ गते काभ्रे ज्याम्दी गाविसकी कल्पना पराजुलीसंग विवाह भएपछि नै माइती पक्षबाट मिजार परिवारलाई लगातार धम्की आएको थियो।

असार २९ गते स्थानीय तामाघाटबजारबाट बेपत्ता भएका मिजार साउन ३० गते बिहान धार्दिङको गजुरीमा झुण्डयाइएको अवस्थामा फेला परेका थिए।

घटना थाहा पाएलगत्तै धादिङ पुगेका मिजार परिवारले छोराको हत्या भएको भन्दै साउन २ मा ईलाका प्रहरी कार्यालय गजुरीमा किटानी जाहेरी दिएको थियो। प्रहरीले मिजारको शवलाई वेवारिशे भन्दै साउन ३० गते नै गाडेको थियो। शव छोराको भन्ने थाहा पाएपछि मिजार परिवार साउन १ नै धादिङ पुगी प्रहरीलाई शव मागेर लिएको थियो। प्रहरीले प्रक्रिया पुर्‍याई गाडेको जनाए पनि मृतकका परिवार तथा दलित समुदायले प्रक्रिया पुरा नगरी शव गाडेको दावी गर्दै आएको छ।

घटना अनुसार दुई साता बितिसक्दा पनि किटानी जाहेरी दिएका व्यक्तिहरुलाई प्रहरी–प्रशासनले अहिलेसम्म अनुसन्धानको लागि पक्राउ गरेको छैन नै। छानविन समिति मार्फत एक हत्ताभित्र बाहिर ल्याउने भनिएको घटना प्रतिवेदन समेत बाहिर ल्याएको छैन।

राष्ट्रिय दलित आयोग तथा दलित अधिकारकर्मीले दवाव दिएपछि गृहमन्त्रालयले साउन ५ गते तीन सदस्यीय छानविन समिति गठन गरेको थियो। त्यो समितिलाई एक साताभित्र प्रतिवेदन बाहिर ल्याउने निर्णय गरेको थियो। धादिङ जिल्ला स्तरीय छानविन समिति सहायक जिल्ला प्रमुख लिलाधर अधिकारी,डिएसपी दिपेन्द्र पंजियार र जिल्ला अनुसन्धान बिभाग अधिकृत नविन कार्की सहितको समिति थियो।

समितिले तीन दिन अघि नै गृहमन्त्रालयको शान्ति सुरक्षा शाखामा प्रतिवेदन पठाइसकेको जनाएको छ। 'हामीले पठाइसकेका छौं,अनुसन्धान प्रतिवेदनबारे हामीले बोल्न मिल्दैन'सहायक जिल्ला प्रमुख अधिकारी लिलाधर अधिकारीले भने।

यता गृह प्रवक्ता यादव कोइरालाले भने अहिलेसम्म आफुसमक्ष प्रतिवेदन आइनसकेको बताए। 'म समक्ष आइसकेको छैन,आईसकेपछि सार्वजनिक गर्छौं'कोइरालाले आइतवार नागरिकसFग भने। दुवै घटनास्थल पुगेको राष्ट्रिय दलित आयोग,दलित अधिकारकर्मी तथा धादिङ निवासी दलित अधिकारकर्मीले अजितको सुनियोजित हत्या भएको दावी गरेका छन्। 'ढिलासुस्ती भइरहेको छ, अजितको सय प्रतिशत सुनियोजित हत्या हो'राष्ट्रिय दलित आयोगका सदस्य सचिव सीताराम घलेले आइतवार नागरिकसँग भने।

प्रकाशित: १७ श्रावण २०७३ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App