८ वैशाख २०८१ शनिबार
समाज

स्यालको आक्रमणबाट घाइते शिशु ट्रमा सेन्टरमा

काठमाडौं- स्यालको आक्रमणमा परेकी अछाम तामारसुनामा ६ महिने शिशु नीलम रोकायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गत असोज २४ गते उनलाई स्यालले आक्रमण गरेको थियो ।

उनको च्यापु, ओठ र गालाको आधा भाग स्यालले खाएको छ । उपचारमा संलग्न चिकित्सक डा. पियूष दाहालका अनुसार उनको अनुहारको तल्लो भाग विक्षिप्त हुने भएकाले उपचारमा कठिनाइ परिरहेको छ । उनको छातीको मासु काटेर च्यापुमा लगेर टाँसिएको छ । अवस्था सामान्य हुँदै गएमा धेरैपटक शल्यक्रिया गरी च्यातिएका भाग सामान्य अवस्थामा ल्याउने प्रयास गरिने डा. दाहालले बताए । मुखबाट आमाको दूध खान नमिलेकोले पाइपबाट अन्य खाने कुरा खुवाइएको डा. दाहालले जानकारी दिए ।
अछामको तारासुना विकट गाउँ हो । नीलमका बुवा सागर रोकाया र आमा छोरीलाई लिएर घरदेखि आधा घन्टा टाढा खेतमा धानको मुठा बाँध्न गएका थिए । खेतको गरामा डोकोभित्र छोरी सुताएर उनीहरू काम गर्दै थिए । नीलमको रेखदेखका लागि नौ वर्षीया बालिका राखेका थिए । सागरलाई तिर्खा लागेपछि ती बालिका पानी दिन तल्लो गरामा पुगेकी थिइन् । फर्केर आउँदा नीलमलाई डोकोमा देखिनन् । खोज्दै जाँदा सागरले छोरीलाई केही पर पु¥याएर स्यालले खाँदै गरेको देखे । उनी दौडिएपछि बालिकालाई घाइते बनाएर स्याल भाग्यो ।
घटनालगत्तै सागर दम्पती दुई दिन लगाएर राजधानी आइपुगेका हुन् । एम्बुलेन्स भाडा र उपचार खर्च गरी १ लाख ३० हजार खर्च भइसकेको छ । आर्थिक स्थिति कमजोर भएकाले थप उपचारमा खर्च नभएको सागरले बताएका छन् । ‘अब जग्गा बेचेर भए पनि उपचार गर्नुपर्ने हुन्छ,’ सागरले भने । उपचारमा संलग्न चिकित्सक दाहालले विपन्न दम्पतीको शल्यक्रिया खर्च, आईसियु शुल्क अस्पतालको सामाजिक सेवा एकाइबाट बेहोर्नका लागि पहल गरेका छन् । तर अस्पतालमा सीमित औषधी मात्र भएकाले महँगो औषधि किन्न बिरामी पक्षलाई नै भार परेको बताए ।
सागरका अनुसार गाउँमा स्यालले नीलमसहित तीन बालबालिकालाई आक्रमण गरिसकेको छ । स्यालले तीन महिनाअघि एक बालिकाको ज्यान लिएको थियो । स्यालले एक वर्षअघि तीन वर्षीय बालकलाई आक्रमण गरेर घाइते बनाएको थियो ।

प्रकाशित: ६ कार्तिक २०७४ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App