coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चीनले व्यापार र लगानी विस्तार गर्ने

बेइजिङ- चीनले दक्षिण एसिया र मध्य एसियाली राष्ट्रहरूसँगको व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई प्राथमिकतामा राख्दै आगामी पाँच वर्षमा विदेश व्यापार र लगानी थप विस्तार गर्ने घोषणा गरेका छन् ।

२१ औं शताब्दीको मध्यसम्म चीनलाई आधुनिक समाजवादी राष्ट्र निर्माण गर्ने राष्ट्रपति सी जिनपिङको घोषणा।

चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनमा ६५ पृष्ठको कार्य प्रतिवेदन प्रस्तुत गर्दै महासचिवसमेत रहेका राष्ट्रपति सीले चीनले आफ्नो मुलुकको पश्चिमी क्षेत्रमा व्यापार, लगानी तथा वित्त, सेवा तथा उत्पादनका लागि विश्वव्यापी सञ्जाल खुला गर्ने बताए । उनले अन्तर्राष्ट्रिय आर्थिक सहकार्य तथा प्रतिस्पर्धालाई अझ मजबुत बनाउने उल्लेख गरेका छन् ।
चीनको पश्चिमी क्षेत्रमा तीनवटा स्वायत्त क्षेत्र (तिब्बत, निङसिआ, सिञ्जियान) र छवटा प्रदेश (चिङहाई, गान्सु, सान्सी, युयान, गुइझोअ र सिचुवानसँगै चोङचिङ महानगरपालिका ) छन् । मध्य तथा दक्षिण एसियाका विभिन्न देशसँग सीमा जोडिएको चीनको पश्चिमी क्षेत्र चीनका अन्य क्षेत्रको तुलनामा कम विकसित मानिन्छ । चीनले दक्षिण तथा मध्य एसियाली देशसँग बिआरआइको माध्यमबाट व्यापार विस्तार गरेर यस क्षेत्रलाई विकास गर्न चाहेको छ । बिआरआइको ध्वजावाहक कार्यक्रम ‘चीन पाकिस्तान आर्थिक कोरिडर’ चीनको सिञ्जियानबाट पाकिस्तानको इस्लामावाद हुँदै अरबियन सागरको ग्वादर बन्दरगाहसँग पुग्छ । तिब्बतसँग सीमा जोडिएको नेपालले भारत–चीन दुवैलाई जोड्ने ‘बृहत हिमालय आर्थिक कोरिडर’ बाट फाइदा प्राप्त गर्नेछ ।
चिनियाँ राष्ट्रपति सीले चीनले विदेशी व्यापार विस्तार गर्न विकासको नयाँ मोडल र नयाँ व्यापार संरचना विकास गर्ने बताएका छन् । ‘यी प्रयास चीनको पूर्वी र पश्चिमी क्षेत्रबीच जल तथा स्थलबाट थप सम्बन्ध जोडिने नयाँ आधार बन्ने हामीले आशा लिएका छौं,’ प्रत्येक पाँच वर्षमा आयोजना हुने महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने । महाधिवेशनमा २ हजार २ सय ८७ प्रतिनिधिको सहभागिता छ । प्रतिनिधिहरूमा पूर्वराष्ट्रपति तथा पूर्वमहासचिव पनि छन् । बुधबारबाट सुरु महाधिवेशन मंगलबारसम्म चल्ने छ ।
साढे तीन घन्टा लामो भाषणमा राष्ट्रपति सीले सन् २०१२ को पार्टी महाविधेशनले तय गरेका योजना पनि समीक्षा गरे । उनले २१ औं शताब्दीको मध्यसम्म चीनलाई आधुनिक समाजवादी राष्ट्र निर्माण गर्ने अवधारणा अघि सारेका छन् । सन् २०४९ मा चीन विकसित समाजवादी देस हुनेछ । त्यही वर्ष चीनमा माओवादी नेतृत्वमा नौलो जनवादी क्रान्ति भएको सय वर्ष पुग्नेछ ।
विगत पाँच वर्षमा चीनको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८२ खर्ब अमेरिकी डलरबाट बढेर १ सय २१ खर्ब अमेरिकी डलर पुगेको छ । यो विश्वव्यापी आर्थिक वृद्धिको ३० प्रतिशत हिस्सा हो । यसबीचमा ६ करोडभन्दा बढीले गरिबीबाट मुक्ति पाएका छन् ।
राष्ट्रपति एवं पार्टी महासचिव सीको प्रतिवेदनमा महŒवपूर्ण क्षेत्रहरूसहित १ हजार ५ सयभन्दा बढी सुधार कार्यक्रम सञ्चालन गरेको उल्लेख छ । पार्टी र मुलुकका पक्षमा रणनीतिक योजना तय गर्नेछ । देशको नेतृत्व गर्ने मुख्य नेतृत्व र केन्द्रीय कमिटी छनोट गर्नेछ । त्यही केन्द्रीय कमिटीले राष्ट्रपति सीको दोस्रो कार्यकाललाई अनुमोदन गर्नेछ ।

प्रकाशित: ६ कार्तिक २०७४ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App