coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ मा तामझाम

पूर्वेली ब्युरो
विराटनगर- केन्द्र र प्रदेशको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १ मा आइतबार उत्साहजनक मनोनयन दर्ता भएको छ । मनोनयनको केही घन्टाअघि टिकट लिएका उम्मेदवारले तामझामसहित उम्मेदवारी दर्ता गराएका हुन् ।
पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि दुई सिट रहेको भोजपुरमा एमाले र माओवादीको वाम गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका सुदन किरातीले मनोनयन दर्ता गराएका छन् । प्रदेशतर्फ निर्वाचन क्षेत्र कमा एमालेका राजेन्द्रकुमार राई र निर्वाचन क्षेत्र ख मा शेरधन राईले मनोनयन दर्ता गरेका छन्  । वाम गठबन्धनका तर्फबाट उमेदवारि दिएका नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य सुदन किराती २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा भने एमालेका शेरधन राईसँग पराजित भएका थिए ।
एमालेका केन्द्रीय सदस्य तथा  अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्र राई पनि प्रदेशसभामै उम्मेदवार भएका छन् । राईले  भोजपुर (क) बाट उम्मेदवारी दिएका हुन् । एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री शेरधन राई भोजपुर (ख) बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । उनलाई १ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ । मनोनयन दर्तासँगै वाम गठबन्धनले संयुक्त कार्यक्रमसमेत गरेका थिए ।
नेपाली कांग्रेस र संघीय समाजवादी पार्टीको संयुक्त गठबन्धनले पनि उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस नेताहरु नेपाल एयरलाइन्सको उडान अवरुद्ध भएपछि हेलिकप्टर चार्टर गरी मनोनयन दर्ता गर्न आएका थिए । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उमेशजंग रायमाझीको मनोनय दर्ता भएको छ  । प्रदेश सभामा भोजपुर (क) मा संघीय समाजवादी पार्टी नेपालका अजम्बर राई काङमाङको उम्मेदवारी परेको छ । प्रदेशसभाको भोजपुर ख मा नेपाली कांग्रेसका गोविन्द कार्कीले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाका उम्मेदवार अजम्बर राई काङमाङ संघीय समाजवादी फोरमका केन्द्रीय सचिव हुन् । नेविसंघ पूर्वमहामन्त्री उमेशजंग रायमाझी र महासमिति सदस्य गोविन्दबहादुर कार्कीलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । मंगोल नेसनल अर्गानाइजेसनका तर्फबाट चन्द्रप्रसाद राईले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा भोजपुर (क) मंगोल नेसनल अर्गानाइजेसनका मोजेश राईले उम्मेदवारी दिएका छन् । प्रदेशसभा भोजपुर क बाट खुसीराज गुरुङले स्वतन्त्र उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा क्रान्तिकारी माओवादिको मोर्चा जनगणतान्त्रिक मोर्चा नेपालले पनि उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधिसभाका लागि डिल्लीराम बोहराले उम्मेदवारी दिएका छन् । प्रदेशसभा भोजपुर (क) मा आङ टेन्डी शेर्पा र भोजपुर (ख) मा देवीप्रसाद राईले उमेदवारी दिएका हुन् ।

संखुवासभामा १० दलको उम्मेदवार
संखुवासभामा विभिन्न १० राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभामा मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, एकीकृत राप्रपा राष्ट्रवादी, मंगोल अर्गनाइजेसनले मनोनयन दर्ता गरेका हुन् । यसैगरी जनमुक्ति पार्टी, जनमोर्चा, राष्ट्रिय जनता पार्टी, ग्रिन पार्टीलगायतका दलले उम्मेदवारी दिएको साहयक निर्वाचन अधिकृत राजन बास्तोलाले जानकारी दिए । प्रतिनिधिसभामा १२ जना र प्रदेशसभामा १८ जना गरी जम्मा ३० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
एमालेले प्रदेशमा संखुवासभा (ख) मा तुलसीप्रसाद पराजुलीलाई उम्मेदवार बनाएको छ । वाम गठबन्धनमा संखुवासभा (क) माओवादीलाई परेको छ । प्रदेशसभामा माओवादी केन्द्रका पूर्वसांसद पूर्णप्रसाद राई र एमालेका तर्फबाट पूर्व जिविस सभापति तुलसीप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी नेपाली कांग्रेसले पनि पन्चेबाजाका साथ प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएको छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यमा पूर्वराज्यमन्त्री दीपक खड्काको उम्मेदवारी मनोनयन गरेको छ । प्रदेशसभा सदस्यमा संखुवासभा (क) मा पूर्वसांसद टंकप्रसाद राई र संखुवासभा (ख) मा  क्षेत्रीय सभापति दीपक लिम्बुले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि आयोजित कोणसभामा सम्बोधन गर्दै एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र गौतमले मुलुक अप्ठेरो अवस्थामा पुगेकाले अग्रगामी र परिवर्तनकारी शक्तिहरु एक भएर अघि बढेको बताएका थिए ।
नेपाली कांग्रेसले पनि कोणसभा आयोजना गरी उम्मेदवारको धारणा सार्वजनिक गरेको थियो । उम्मेदवार खड्काले वाम तालमेलले लोकतन्त्रमा खतरा हुन सक्ने धारणा राख्दै लोकतन्त्र जोगाउने, संस्थागत गर्ने र कार्यान्वयनको चरणमा लैजाने कार्य नेपाली कांग्रेसको काँधमा आइपरेको बताएका थिए ।  
प्रतिनिधिसभातर्फ बालकुमार राई र डा. गुप्तबहादुर श्रेष्ठले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् । त्यसैगरी प्रदेशसभा सदस्यका लागि समेत मुक्तिसिंह राई र जीवनकुमार राईले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् ।

पाँचथरमा २९ उम्मेदवार
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा १३ दलका २९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आइतबार बिहान १० बजेदेखि साँझसम्म उम्मेदवारी दर्ता गराउने क्रम जारी रह्यो ।
प्रतिनिधिसभा र प्रदेश गरी २९ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले जानकारी दिए । उनका अनुसार केही दलले तीनै स्थानमा मनोनयन दर्ता गराएका छैनन् । दलहरुले स्थानीय तहको निर्वाचनको मनोनय जस्तो तामझाम भने गरेनन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, संघीय समाजवादी फोरम, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति पार्टी, लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, एकीकृत राप्रपा राष्ट्रवादी, मंगोल नेसनल अर्गनाइजेसन, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (माले) र जनसमाजवादी पार्टीले मनोनयन दर्ता गराएका हुन् ।  
कांग्रेसबाट प्रतिनिधिसभामा केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे,  प्रदेश सभा (क) मा जिल्ला सभापति नरेन्द्रकुमार केरुङ र (ख) मा पूर्वसचिव सुरेन्द्रकुमार दाहालको मनोनयन दर्ता भएको छ । एमाले–माओवादी गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका ऊर्जा तथा जलस्रोत विभाग सचिव वसन्त नेम्बाङ, प्रदेशतर्फ (क) मा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य गणेश काम्बाङ र (ख) मा माओवादीका पोलिटब्युरो सदस्य इन्द्र आङबो को मनोनयन दर्ता भएको छ ।
यस्तै संघीय समाजवादीले प्रतिनिधिसभामा प्रेम लावती, प्रदेश (क) मा बिर्खबहादुर वाइबा र (ख) मा एविराज आङदेम्बको उम्मेदवारी परेको छ । केन्द्रमा कांग्रेससँग मिल्ने भनिएको राप्रपा प्रजातान्त्रिकले समेत मनोनयन दर्ता गराएको छ । प्रतिनिधिसभामा राजकुमार जोशी, प्रदेशमा कृष्णबहादुर योङ्या र प्रदेशतर्फ (ख) मा सगुनसुन्दर लावतीले उम्मेदवारी दिएका हुन् ।
नयाँ शक्तिबाट प्रतिनिधिसभामा दिलबहादुर लवी, प्रदेशमा खगेन्द्र लोवा र नगेन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । जनमुक्तिले भगीरथ चेम्जोङलाई प्रतिनिधिसभा र इच्छाबहादुर चेम्जोङलाई प्रदेश (ख) मा उम्मेदवार बनाएको छ । राप्रपा राष्ट्रवादीबाट प्रतिनिधिसभामा शान्तिमाया लिम्बु र प्रदेशमा नेत्रप्रसाद पोखरेलले उम्मेदवारी दिएका छन् । मंगोल नेसनलबाट टोपराज थाम्सुहाङ प्रतिनिधिसभामा तथा किरण थाम्सुहाङ र राजकुमार तुम्रोकले प्रदेशमा उम्मेदवारी दिएका छन् । लिम्बुवाबाट प्रतिनिधिसभामा सागर केरुङ, प्रदेशमा हर्कजंग लिङदेन र लाभाहाङ चेम्जोङको उम्मेदवारी परेको छ । मालेबाट प्रतिनिधिसभामा दिननाथ घिमिरे र प्रदेशमा प्रिय रिमालले उम्मेदवारी दर्ता गराएका छन् । जनसमाजवादीबाट प्रदेशमा भीमबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् ।

उल्लासपूर्ण मनोनयन
आसन्न संघीय तथा प्रदेश सभाको निर्वाचनका लागि दलहरुले ताप्लेजुङमा उल्लासपूर्ण ढंगले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभाको एक तथा प्रदेश सभाका २ स्थानका लागि प्रत्यक्षतर्फका उम्मेदवारले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभाका लागि एमाले–माओवादी गठबन्धनबाट एमाले सचिव योगेशकुमार भट्टराई, कांग्रेसका केशवप्रसाद दाहाल, संघीय समाजवादी फोरमका धनकुमार साम्यू (कुमार), राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का डिल्लीराम बिष्ट, नयाँ शक्ति पार्टीका तर्फबाट चन्द्र साँवा लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका आइत मावो र संघीय लिम्बुवान मञ्चका विष्णुकुमार यक्सो लिम्बू, मंगोल नेस्नल अर्गनाइजेसनका छबिन्द्रकुमार गुरुङ र स्वतन्त्र रूपमा डिल्लीराम प्रसाइले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिए ।
२ स्थान रहेको प्रदेशसभामा वाम गठबन्धनका तर्फबाट प्रत्यक्षतर्फ १ (क) मा एमालेका बलबहादुर साम्सोहाङ (सुरेन्द्र) र १ (ख) मा माओवादी केन्द्रका टंक आङबोहाङ (प्रभाव) ले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रदेश १ (क) मा लीलादेवी बोखिम र १ (ख) मा दीपेन्द्रकुमार सेन्दाङको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभाको १ (क) मा संघीय समाजवादी फोरम नेपालका तर्फबाट भक्तबहादुर येङदेन तथा १ (ख) मा सुखवीर लिम्बुको उम्मेदवारी दर्ता भएको छ । नयाँ शक्ति पार्टीले १ (क) मा एमबी लामा तमु तथा १ (ख) मा विशाल लिम्बुको उम्मेदवारी दर्ता भएको छ ।
नयाँ शक्तिले  यसअघि १ (क) मा पूर्वसभासद् सञ्चपाल मादेनलाई उम्मेदवार बनाउने निर्णय गरे पनि अन्तिम समयमा मादेनलाई प्रतिनिधिसभाको समानुपातिक सूचीमा समावेश गरी साँवालाई उम्मेदवार बनाइएको जनाएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट प्रदेशसभा १ (क) मा बलबहादुर येङदेन तथा १ (ख) मा यामकुमार आङबोहाङको उम्मेदवारी परेको छ ।
प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादीका तर्फबाट १ (क) मा गायत्री थेबे र १ (ख) मा सपना सामेखाम उम्मेदवार रहेका छन् । संघीय लिम्बुवान मञ्चका तर्फबाट १ (क) मा डिबी खुदाङ र १ (ख) मा मुक्साङ लिम्बुको उम्मेदवारी दर्ता भएको छ ।
(भोजपुरबाट एक्सन राई, पाँचथरबाट गिरिराज बाँस्कोटा र ताप्लेजुङबाट खगेन्द्र अधिकारीको सहयोगमा)

 

प्रकाशित: ६ कार्तिक २०७४ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App