coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वैर बढाउँदै किशोर

काठमाडौं- परिवारका एक्लो छोरा थिए, सुशान्त श्रेष्ठ। बाबु सामान्य व्यापारी, आमा निजी अस्पतालकी कर्मचारी। आम्दानी राम्रै थियो। छोरालाई आँखाको नानीमा राखेर हुर्काए दम्पतीले। सँगसँगै हुर्कंदै थियो सपना– छोराले राम्रो पढ्ला, ठूलो मान्छे बन्ला! सपना पूरा गर्न हरसम्भव प्रयास गरिरहेकै थिए।

ती सपना अचानक चकनाचुर हुन पुगे। श्रेष्ठ दम्पतीको जिन्दगी अँध्यारोमा डुब्न पुग्यो। आइतबार उनीहरूले एक्लो छोरो सुशान्तलाई सधैंका लागि गुमाए। अरुणोदय माविबाट कक्षा १२ को परीक्षा दिएर बसेका सुशान्त केही दिनयता अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका थिए। साताअघि किशोर समूहबीचको झडपमा गम्भीर घाइते थिए उनी। 

प्रहरीका अनुसार साउन ९ गतेको झडपमा सुशान्तमाथि कुटपिट भएको थियो। उनकै उमेरसमूहका १९ जनाले उनीमाथि आक्रमण गरेका हुन्। महानगरीय प्रहरीवृत्त, लैनचौरले घटनामा संलग्न ११ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ। आठ जना अझै फरार रहेको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरीका अनुसार सुशान्तसँग प्रेमसम्बन्धमा रहेकी किशोरीका कारण उत्पन्न विवाद झडपमा परिणत भएको थियो। ती किशोरी पहिले सौरभ श्रेष्ठसँग सम्बन्धमा थिइन्। मनमोहन मेमोरियल कलेजबाट कक्षा १२ कै परीक्षा दिएर बसेका सौरभसँग सम्बन्ध टुटेपछि उनी डल्लु बस्दै आएका सुशान्तसँग नजिकिएको प्रहरी अनुसन्धानमा देखिएको छ। तर, किशोरीले पुनः सौरभसँग सम्बन्ध बढाइन्। त्यसपछि सुशान्तको किशोरी र सौरभ दुवैसँग तनाबपूर्ण सम्बन्ध सुरु भयो।

'ब्रेकअपपछि सुशान्तसँग सम्पर्कमा आएकी किशोरीले फेरि सौरभसँगै सम्पर्क बढाएपछि उत्पन्न विवादले हत्याजस्तो जघन्य अपराध भएको देखिन्छ,' डिएसपी राठौरले भने। उनका अनुसार झडपमा संलग्न दुवै समूहका करिब ३५ जना सबैले मदिरा सेवन गरेका थिए।

सुशान्त र सौरभबीच झगडा सुरु भएको सातादिन नाघिसकेको थियो। दुवैले एकअर्कालाई सिध्याउने धम्की दिन थालेका थिए। त्यसयता दुवै जना १२–१५ जनाको समूह बनाएर हिँड्न थालेका थिए।

प्रहरीका अनुसार त्यस दिन सुशान्त साथीहरूसँग ठमेलस्थित एउटा क्लबमा मदिरा सेवन गरी निस्किए। क्षेत्रपाटी चोक पुग्नासाथ सौरभको टोलीसँग जम्काभेट भयो। धेरै दिनदेखि एकअर्कासँग भिड्ने योजनामा रहेका दुवै समूहबीच मुक्कामुक्की सुरु भइहाल्यो। लगातार प्रहारले सुशान्त भुइँमा ढले। उनको समूहका सबै जना भागाभाग भए। एक्लिएका सुशान्तमाथि सौरभको समूहले लात, घुस्सा र इँटा बर्साइरह्यो। यो क्रम करिब दुई मिनेट चल्यो।

प्रहरी तत्काल घटनास्थल पुग्यो। घाइते सुशान्तलाई क्षेत्रपाटी अस्पताल पुर्‍यायो। सौरभको  समूह भागिसकेको थियो। घाइतेलाई अस्पताल पुर्‍याएलगत्तै आक्रमणमा संलग्नको खोजी थालिएको डिएसपी राठौरले बताए। उनका अनुसार गम्भीर अवस्थाका सुशान्तलाई क्षेत्रपाटी अस्पतालले तत्काल अन्यत्र लैजान रिफर गरेपछि उनकै आमा कार्यरत टेकुस्थित काठमाडौं अस्पताल लगिएको हो। जोगाउने हरसम्भव प्रयास विफल भएपछि चिकित्सकले आइतबार अपराह्न उनलाई मृत घोषणा गरेका छन्।

वृत्तले घटनामा संलग्न आरोपमा श्रेष्ठसहित सहस थापा, सोहेल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोहित बोहरा, किस्मत हमाल, शरद अर्याल, रोशन मगरलगायतलाई पक्राउ गरेको छ। फरार आठ जनाको खोजी भइरहेको वृत्तले जनाएको छ।

'साँझ करिब ६ बजे क्षेत्रपाटीको भिडभाडमै मुक्कामुक्की भएको थियो, प्रहरी र अन्यले के भएको हो, थाह पाउँदासम्म श्रेष्ठलाई गम्भीर घाइते बनाएर सबै फरार भइसकेका थिए,' राठौरले भने।

प्रहरीले आफ्नो उपस्थिति र कारबाहीमा कुनै कसर नराखे पनि उपत्यकामा झडपका घटना बढिरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार ललितपुर, भक्तपुर र काठमाडौंमा किशोरहरू स्कुल पोसाकमै एकअर्कालाई आक्रमण गरिरहेका घटना थुप्रै आइरहेका छन्। महानगरीय प्रहरीप्रवक्ता एसएसपी शरद चन्दले किशोरबीचको सामान्य झगडा ठानिएका घटनामा गम्भीर प्रकृतिका अपराध हुन थालेपछि स्कुल र कलेजकेन्द्रित विशेष प्रहरी दस्ता परिचालन गरिएको बताए। क्षेत्रपाटी घटनामा अभिभावकको समेत कमजोरी औंल्याए उनले। 'आफ्ना बालबालिकाका विषयमा पहिलो सूचना अभिभावकलाई हुन्छ, बिदाका दिन उसका गतिविधिमा निगरानी राख्ने र सोधपुछ गर्न आवश्यक देखिन्छ,' एसएसपी चन्दले थपे, 'हामीले क्षेत्रपाटी घटनालाई गम्भीर रूपमा लिएका छौं।'

प्रकाशित: १७ श्रावण २०७३ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App