७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको हस्ताक्षर हुनुअघि नै भारतीय संसदले स्वीकृति दिइसकेको छ। 

मोदी र बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदको उपस्थितिमा भारतीय विदेश सचिव सुब्रमन्यम जयसंकर र बंगलादेशका विदेश सचिव मोहम्मद साहिदुल हकले सम्झौतामा हस्ताक्षर गरेका थिए। 
मोदीको भ्रमण क्रममा दुवै राष्ट्रबीच सडक सम्पर्क बढाउने करिब २० सम्झौतामा हस्ताक्षर हुने छ भने कैयौं सम्झौता हस्ताक्षर हुनासाथै तत्काल लागू हुनेछन्। दुवै देशबीच द्विपक्षीय व्यापारसम्बन्धी पनि सम्झौता हुनेछन्।

भारत–बंगलादेशबीच ४१ वर्षदेखि सीमा विवाद कायम छ। शनिबार भएको सम्झौतामार्फत् अब दुवै देशले सन् १९७४ मा भएको सम्झौता अनुसार आपसमा सीमामा विवादित भूभाग साटासाट गर्नेछन्। अर्काको सीमाभित्रका कतिपय भूभागमा दुवै देशले आफ्नो दाबी गर्दै आएका छन्। नयाँ सम्झौताले अब दुवै देशबीच सीमा विवाद सुल्भि्कने छ। 

नयाँ सीमा सम्झौताले सीमा समस्या मात्र समाधान गर्ने नभएर दुवै देशको सीमामा हुने अवैध घुसपैठ र तस्करी रोक्नलगायत दुवै राष्ट्रबीच उचित समन्वयका लागि महत्वपूर्ण मानिएको छ। बंगलादेशसँग सीमा जोडिएका पूर्वी राज्य आसाम, पश्चिम बंगाल, त्रिपुरा र मेघालयलाई नयाँ सम्झौताले प्रभाव पार्ने छ। 

सीमा सम्झौतासँगै शनिबार दुवै देशबीच दुई वटा बस सेवा पनि उद्घाटन भएको छ। कोलकाता–ढाका–अगरतलासँगै ढाका–सिलाङ–गुवाहाटीबीच बस सेवा शनिबार सुरु भएको छ। मोदी, हसिना र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले हरियो झण्डा देखाएर बस सेवा उद्घाटन गरेका थिए। 

भारतीय प्रधानमन्त्री मोदी शनिबार बंगलादेश पुग्दा राजधानी ढाकास्थित हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशकी प्रधानमन्त्री हसिनाले भव्य स्वागत गरेकी थिइन्। मोदीलाई १९ तोपको सलामी दिइएको थियो। 

ढाकामा अवतरण गर्नासाथै मोदी सबैभन्दा पहिले सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संग्राममा सहिद भएका सैनिकको सम्झनामा निर्मित ‘वार मेमोरियल' अवलोकन गर्न गएका थिए। उनले त्यहाँ सहिद सैनिकप्रति श्रद्धान्जलि अर्पण गरेपछि सेख मुजिबुर रहमान संग्रहालय अवलोकन गरेका थिए।

दुवै देशबीच बस सेवा सुरु हुनुका साथै रेल र जल मार्गबाट पनि सम्पर्क बढाउने थुप्रै प्रस्तावबारे मोदी–हसिना छलफल हुनेछ। अखुरा–अगरतला रेल सेवाबारे पनि दुवै प्रधानमन्त्रीबीच छलफल हुनेछ। यो रेलमार्गले बंगलादेश हुँदै कोलकातालाई पूर्वोत्तर राज्यसँग जोड्नेछ। सामुद्रिक मार्गका लागि पनि दुवै देशबीच तयार सम्झौतामा हस्ताक्षरमात्र हुन बाँकी छ। सामुद्रिक मार्गसम्बन्धी सम्झौताले द्विपक्षीय व्यापारको लागत खर्च निकै घट्ने छ।

प्रकाशित: २६ चैत्र २०७२ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App