४ वैशाख २०८१ मंगलबार
समाज

क्यान्सर पीडित भन्छिन्, ‘मलाई बाँच्ने रहर छ’

क्यान्सर पीडित ३० वर्षीय कल्पना राई । तस्बिर : रोहित राई

धरान –  घरपरिवारको लागि केही गर्ने अठोट लिएर धरान माइती घर भएकी ३० वर्षीय कल्पना राई जोर्डन पुगेको ५ महिना मात्र भएको थियो । पहिला अप्रेशन गरेर फालेको कोठी पुनः दाहिने हातमा पलायो । त्यसलाई पनि उनले त्यही अप्रेशन गरेर फालिन्।

करिब २ महिना पछि काखीमा मासुको डल्लो देखिन थाल्यो । त्यसले हात चलाउन कठिन हुँदै गयो । उनले जाँच गराइन्, अस्पतालले अप्रेशन गर्न हजार डलर खर्च हुने भन्यो । उनी वैशाख अन्तिम साता उपचार गर्न नेपाल आइन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै उनी उपचारको क्रममा राजधानी पुगिन् । सुनौलो भविष्य कल्पेर जोर्डन पुगेकी कल्पनाको ७ महिनामै सपना टुट्यो। ‘जीवनमा यस्तो होला भन्ने सोचेकै थिइन् । मलाई क्यान्सर भइसकेको रहेछ,’ ३० वर्षीय राईले भनिन्,‘उपचारमा मेरो, श्रीमानको कमाई सबै सकिसक्यो, मलाई बाँचेर म जस्तैलाई सहयोग गर्ने मन छ।’

चिकित्सकहरूका अनुसार कल्पनालाई छालाबाट हुने क्यान्सर मेनोलोमा भएको छ । यो फैलिएर हड्डीसम्मै पुगिसकेको चिकित्सकहरूले बताएका छन् । अन्य उपाय नभएपछि ३ महिनामा उनको ६ पटक किमोथेपारी भइसकेको छ । भक्तपुर क्यान्सर हस्पतालमा उपचाररत कल्पनाका अनुसार हालसम्म ७ लाख खर्च भइसकेको छ भने सरकारबाट पाउने छुट १ लाख पनि सकिइसकेको छ । ‘मैले २ लाख जति कमाएर ल्याएको थिएँ, श्रीमान्को कमाई ४ लाख पनि सकियो । जोर्डनबाटै साथीहरूले डेढ लाख जति पठाइदिएका थिए, सबै उपचारमा सकिसके,’उनले भनिन्,‘अब थप उपचार खर्च केही छैन, त्यसैले साथीभाई, आफन्तहरूलाई मलाई बाँच्ने मन छ भन्दै सहयोग माग्दैछु ।’ उनका श्रीमान् इन्द्रबहादुर भुजेल कामको सिलसिलामा दाङमा छन् । माइती घर धरान १७, नमस्ते चोक भएकी राईको श्रीमान्को घर भने इनरुवा हो । उनी अहिले माइतीबाट नै उपचार गर्न धाउँछिन्।

चिकित्सक र परिवारजनले उनलाई दोस्रो चरणमा क्यान्सर छ भनेका छन् । तर, उपचार गर्न अझै कति लाग्छ भन्ने प्रष्ट छैन । माइती घरमा आमा बुबा र २ बहिनी छन् । जेठी सन्तान कल्पनाको जोर्डन गएर घरमा सुख दिलाउन सपना पुरा हुन सकेन । ‘विदेश गएर कमाउ र आमा बुबा, बहिनीहरूलाई सुख दिउ भन्ने थियो, तर नसोचेको भयो,’ उनले भनिन्, ‘सबैले ठिक हुन्छ भन्छन्, तर किमो गर्न, औषधी खानलाई नै समस्या भयो ।’ उपचारमा आर्थिक अभाव भएपछि केही दिनअघि उनी सहयोगको आग्रह गर्दै आफ्नो साथी चन्द्रकला राईलाई भेट्न पुगिन् । राईकै पहलमा शनिबार धरानमा पत्रकार सम्मेलन गरी सहयोगको आग्रह गरिन् भने सामाजिक सञ्जालबाट कल्पनाको उपचारको लागि सहयोग जुटाउन पहल थालिएको चन्द्रकलाले बताइन् । ‘हेर्दा हट्टाकट्टा देखिने साथीलाई क्यान्सर भयो भनेको सुन्दा मलाई नै पत्यार भएन । म बाँच्न चाहन्छु भन्दै रुन्छिन्, मैले उनको अवस्था हेर्न सकिन । त्यसैले सहयोग जुटाउन लागिपरेको छुँ,’उनले भनिन् ।

पीडित कल्पनाका अनुसार करिब १० वर्षअघि उनको दाहिने हातमा कोठी आएको थियो । त्यतिबेला बायोस्पी गर्दा केही पनि देखिएन । झण्डै १० वर्षपछि २०७३ साउनमा बायोस्पी नगरी बीपी प्रतिष्ठानमा शल्यक्रिया गरिएको थियो । पछि जोर्डन पुगेको ५ महिनामा त्यही ठाउँमा पुनः कोठी पलाएको थियो । त्यसलाई पनि उतै अप्रेशन गरेर फालिएको थियो। 

प्रकाशित: २ कार्तिक २०७४ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App