८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी एमालेमा प्रदेश सभाको टिकट तानातान

जाजरकोट – आगामी  मंसिर १० गते हुने संघीय संसद अन्तरगत  प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनका लागि  जाजरकोटमा वाम गठवन्धन गरेका एमाले र माओवादीबीच टीकट तानातान  भएको  छ ।  वाम गठवन्धनको सहमति अनुसार  तालमेलमा  जानका  लागि  माओवादी र एमालेका  नेताहरूले आफ्नो दावी नछोडेका कारण अहिले सम्म  कसले टिकट पाउने भनेर निर्णय हुन नसकेको दुवै पक्षका नेताहरूले बताएका छन्।

संघीय  संसद अन्तरगत प्रतिनिधि सभा माओवादीले भाग पाउने भएपछि  प्रदेशका दुवै सिटमा आफूहरूले  उम्मेद्वारी दिन पाउनुपर्ने एमाले नेताहरूको दाबी छ । संघ र प्रदेशको  वेट बराबर पार्नलाई संघ माओवादीको भागमा परेपछि प्रदेशका दुवै सिट एमालेले पाउनु पर्छ, एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले भने । जनमत र संगठनका हिसाबले पनि माओवादी भन्दा एमाले धेरै अघि रहेकोले दुवै क्षेत्रमा एमालेले पाउनु पर्ने अध्यक्ष शाहीले बताए । उनले अहिलेसम्म कार्यदलले जाजरकोटको कुरा मिलाउन नसकेकोले अब यो शिर्ष नेताको तहबाटै टुंगिने   उनले बताए।

उता माओवादी केन्द्रका नेताहरूले भने एमालेका नेताको तर्क  ठिक नभएको बताए । विगतको इतिहास र पार्टीको  सक्रियताका आधारमा  प्रतिनिधि सभा र  प्रदेशमा एउटा आफ्नो पार्टीले भाग पाउनु पर्ने माओवादी केन्द्रका नेता मायाप्रसाद शर्माले बताए । उनले एमालेका नेताले स्थानीय तहको चुनावलाई आधार मानेर धेरै अघि छौं भने पनि  खासै जनमत एमालेको पक्षमा नभएको बताए । ‘कुनै पनि हालतमा हामी संघ र प्रदेशमा जुन क्षेत्र भएपनि   तालमेल अनुसार टिकट लिन्छौं, उनले भने । आज सम्म उम्मेदवार छनोटको कुरा टुंगिन सक्छ,’ उनले भने।

केन्द्रमा तालमेल भएपनि दुवै पार्टीले जिल्लाबाट  संघ र प्रदेशका लागि अलग अलग नेताका नाम सिफारिस गरेका  छन् ।  एमालेले संघका लागि भैरवसुन्दर श्रेष्ठ, गोविन्द विक्रम शाहको नाम सिफारिस गरेको छ भने प्रदेशका लागि  १ नम्बारबाट निरज आचार्य, कमानबहादुर खड्का र रीता रावलको नाम सिफारिस गरेको  छ  यसमा  एमाले जाजरकोटका पूर्व अध्यक्ष डम्बरबहादुर सिंहले आफ्नो नाम पनि  समावेश हुनुपर्ने  भन्दै उजुरी दिएका  छन् । उनी  उम्मेद्वार छनोटको प्रक्रियामा पराजित भएको बताइएको छ तर यसलाई उनले अस्विकार गरेका छन् । त्यस्तै  क्षेत्र नम्वर २ बाट एमालेकै  करवीर शाही, रत्नप्रसाद शर्मा र  कृष्णवहादुर विसीको नाम सिफारिस भएको छ । 

माओवादी केन्द्रले भने सबै उम्मेदवारहरू सर्वसम्मत रुपमा चयन गरेको थियो । संघमा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई र  प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट गणेशप्रसाद सिंह  र क्षेत्र नम्वर २ बाट नरबहादुर कार्कीको नाम सिफारिस गरेको छ । टिकट वितरणको विषयमा दुवै घटक भित्र विवाद देखिएको छ । माओवादीले प्रदेश सभामा  उम्मेदवारी दिने अवस्था आए अहिले सिफारिस गरिएकाहरू फेरिन सक्ने बताइएको छ । माओवादी नेता माया प्रसाद शर्माले प्रदेशमा जुन सुकै निर्वाचन क्षेत्रमा पार्टीले उम्मेदवारी दिने अवस्था आए अहिले सिफारिस भएका  वा नभएका जो पनि पर्न सक्ने बताए । 

उता नेपाली काँग्रेसले भने सबै उम्मेदवारहरूको नाम सर्वसम्मत रुपमा जिल्ला र केन्दबाट टुंगो लगाइसकेको छ।  संघका लागि राजीव विक्रम शाह, प्रदेस सभा अन्तरगत क्षेत्र नम्वर १ का लागि वेदराज सिंह र क्षेत्र नम्वर २ का लागि  दिपकजंग शाहको नाम  छनोट गरेको छ । केन्द्र र जिल्लाले उम्मेदवारहरूको नाम टुंग्याए संगै काँग्रेसी नेता कार्यकर्ताहरू गाउँमा चुनावी प्रचार अभियानमा जुटिसकेका छन् । त्रिपक्षीय प्रतिष्पर्धा हुने जाजरकोटमा यो पटक कसले बाजी मार्छ भनेर यसै भन्ने सकिने अवस्था छैन् । वाम एकताको असर तल्लो तह सम्म नपरे आफूहरुले चुनाव जित्ने काँग्रेस नेताहरूको दावी छ भने  वाम गठवन्धनका नेताहरू  आफूहरूले सजिलै चुनाव जित्ने अवस्था आएको बताउँछन्। 

प्रकाशित: २ कार्तिक २०७४ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App