८ वैशाख २०८१ शनिबार
समाज

भोलि घरघरमा म्हः पूजा

काठमाडौं- तिहारको गोवद्र्धन पूजाका दिन शुक्रबार देशभरका नेवार समुदाय घरघरमा म्ह ः पूजा (शरीरको पूजा) गर्दैछन् । प्रत्येक वर्ष तिहारको भाइटिकाको एक दिन अगाडि गोवद्र्धन पूजाको दिन देशभरका नेवार समुदायले म्हः पूजा गर्दछन् । नेपाल भाषामा म्हःको अर्थ शरीर हो । यस दिन नेपाल संवत् सुरु हुन्छ  सुरु हुन्छ । यो वर्ष नयाँ वर्ष नेपाल सम्वत् ११३८ सुरु हुन्छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग म्हः पूजा नेपालकै एक विशिष्ट संस्कृति रहेको सुनाउँछन् । यसको विशेष महत्व र विशेषता रहेको उनको भनाई छ । उनका अनुसार म्हः पूजा गर्नुको अर्थ आफ्नो शरीर जहिले स्वस्थ रहून् र तन्दुरुत होस् भन्नु हो । आफूलाई चिनेर त्यही अनुसार अगाडि बढ्नुपर्छ भन्ने सन्देश पनि यसले दिने उनी सुनाउँछन् ।
परम्परा अनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि अर्थात गोवद्र्धन पूजाको दिन नेवार समुदायका परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यलाई लहरै राखेर पूजा गरिन्छ । यो क्रममा हाँस वा कुखुराको अण्डा सगुन दिइन्छ । यसअघि म्हःपूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एकएकवटा मण्डल बनाइन्छ । खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, अक्षता र त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा लगाएर मण्डल तयार पार्ने गर्छ । जुन परिवारका सदस्यपिच्छे फरक–फरक हुन्छन् ।
म्हः पूजा गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास रहेको छ । म्हःपूजा गर्दा मण्डलमा तेलको बत्ती बालिन्छ । मण्डल मान्छेको स्थुल शरीरको प्रतीक मानिन्छ । मण्डलको बीचमा पञ्चतत्व– पृथ्वी, जल, वायु, तेज र आकाशका प्रतीक पाँच साना गोलाकार मण्डल बनाइएका हुन्छन् ।
किम्वदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएको थियो । त्यसपछि जीवित रहेका उनीहरुले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App