coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजपामा बढ्यो तनाव

काठमाडौं- राजपाले निर्वाचन आयोगमा बुझाएको  समानुपातिकतर्फका उम्मेदवारको  सूचीलाई लिएर पार्टीभित्र तनाव उत्पन्न भएको छ ।
सूची सच्याउन माग राख्दै राजपाका महासचिवद्वय केशव झा, पेशल ढकालसहित मनिष मिश्र, दीपक अग्रवाल, विनोदकुमार मण्डल, इन्दु गुप्तालगायतले बुधबार पार्टी कार्यालय बबरमहलमा धर्ना सुरु गरेका छन् ।  उनीहरूले कात्तिक ४ गतेसम्म दैनिक तीन घन्टा  धर्ना दिने, माग पूरा नभए ५ गतेदेखि रिले अनशनमा बस्ने कार्यक्रम घोषणा गरेका छन् ।

पार्टीको साधारण सदस्यसमेत नरहेकालाई समानुपातिकतर्फको उम्मेदवारको सूचीमा राखिएको भन्दै राजपाको एउटा पक्ष धर्नामा उत्रिएको छ ।

राजपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा रहेका नरमाया ढकाल, निमाछिरिङ शेर्पा, लीलाराम भण्डारी, निलमदेवी भुमियारीलगायतका व्यक्तिको नाम हटाउन उनीहरूले माग राखेका छन् । यसैगरी यसअघि एकपटक पार्टीको लाभको पदमा बसिसकेकालाई समानुपातिकको सूचीबाट हटाउन पनि उनीहरूले अडान राखेका छन् । यसअघि लाभको पदमा बसिसकेकालाई समानुपातिकको सूचीबाट हटाउने हो भने चन्दा चौधरी, अकवाल अहमदलगायतका नाम हटाउनुपर्ने हुन्छ ।
पार्टीले आयोगमा बुझाएको सूचीको दोस्रो नम्बरमा चन्दा र तेस्रो नम्बरमा अकवालको नाम छ । नामै नसुनिएका र पार्टीको साधारण सदस्यसमेत नरहेकालाई उम्मेदवार सूचीमा समावेश गरिएको उनीहरुको आरोप छ ।
स्रोतका अनुसार स्याङ्जाकी नरमाया ढकालको नामले राजपाभित्र विवाद उत्पन्न भएको छ । ढकालको नाम राजेन्द्र महतोले सिफारिस गरेका हुन् । उनको नाम सूचीको चौथो नम्बरमा छन् । जबकि, पार्टीका वरिष्ठ नेता निर्जला राउत र रामनरेश रायको नाम पाँचौं र छैटौं नम्बरमा छ । ‘नाम नसुनिएका व्यक्तिको नाम माथि राख्ने तर पार्टीका वरिष्ठ नेताको नाम तल राख्ने, यो कतिसम्म अन्याय हो’, धर्नामा सहभागी झाले भने ।
स्रोतका अनुसार सातौं नम्बरमा रहेका  शेर्पाको नाम राख्न अनिल झाले सिफारिस गरेका थिए । यसैगरी राजकिशोर यादवले लीलाराम भण्डारीको नाम सिफारिस गरेका थिए । समानुपातिकमा सिफारिस गरिएकाको वरियता क्रम नमिलेको असन्तुष्टको भनाइ छ । ‘नाम सिफारिस गर्दा सामान्य मान्यता र विधि उल्लंघन गरिएको छ । त्यसलाई सच्याउनुपर्ने आन्दोलनको माग हो,’ यसैगरी अनशनमा बसेको राजपाका अर्का नेता मनिष मिश्रले भने ।
स्रोतका अनुसार राजपाको सूचीमा आठौं नम्बरमा लीलाराम भण्डारी, नवौंमा किरनकुमारी यादव, दसौंमा लक्ष्मण यादव, ११ औंमा खातुन राई, १२ औंमा श्रीमान् नारायणको नाम छ । यसैगरी १३ औंमा गजाधर यादव, १४ औंमा अर्जुन उप्रेती, १५ औंमा इन्दिरा झा र १६ औंमा निलम बर्माको नाम सिफारिस गरिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम पहिलो नम्बरमा छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App