coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नगरपालिकाविरुद्ध स्थानीयको देउसी भैलो

नगरपालिकाको  कर निर्धारण गर्ने निर्णय विरुद्ध ५ रुपैयाँ  चन्द उठाउन देउसी भैलो खेल्दै  स्थानीय ।  तस्बिर : जनक केसी

जाजरकोट– यहाँको एक नगरपालिकाले  निर्धारण गरेको  सम्पति कर चर्काे, अवैज्ञानिक र कानुन विपरित भएको भन्दै स्थानीयले देउसीभैलो मार्फत विरोध जनाएका छन्। 

 नगर कार्यपालिकाले निर्धारण गरेको  करका विरुद्ध नगर क्षेत्र भित्र चर्काे विरोध भएको  छ । देउसी भैलो खेलेर चन्दा माग्दै उनीहरूले  नगरकार्यपालिकाको  कर निर्धारणको निर्णय प्रति विरोध  जनाएका हुन् । 

भेरी नगर कार्यपालिकाका  मेयर, उपमेयर, सदस्यहरू र कार्यकारी सचिव सहित ७१ जनालाई ५ रुपैयाका दरले  ३ सय ५५ रुपैया  उठाउनका लागि  देउसी भैलो  कार्यक्रमको आयोजना गरिएको  नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए ।  नागरिक समाजको अगुवाइमा  स्थानीयवासी, व्यापारी,  तथा  अन्य  सर्वसाधारण व्यक्तिहरूको  सक्रिय सहभागितामा  सांकेतिक विरोध  स्वरुप निकालिएको उक्त भैली नगरपालिकाको  गैरीखालीवाट सुरु भइ स्थानीय ठाटीबजारमा आएर  टुंगिएको थियो।

नगरपालिकाको खलंगा बजारमा रहेका स्थानीयवासीको प्रत्यक घरबाट ५ रुपैयाका दरले  उनीहरूले  चन्दा उठाएर नगरपालिकाको  खातामा  जम्मा गरिदिने  बताइएको छ । नगरकार्यपालिकाका ७० जना जनप्रतिनिधि र  एक जना कार्यकारी अधिकृतको  तलवका लागि  सांकेतिक विरोध स्वरुप उक्त चन्दा असुल गरिएको  नागरिक अगुवाहरूले जनाएका छन् ।  नगरपालिकाले  नगरसभाबाट  विभिन्न  सिफारिसहरूका लागि ५० देखि २ हजार, व्यक्तिगत घटना दर्तामा  ५० रुपैया देखि ३ सय रुपैयाँ,  अन्य घटना दर्ताको लागि पनि  ५० देखि २ हजार रुपैया सम्मको कर निर्धारण गरेको  छ। 

त्यसै गरी  चार किल्ला प्रमाणितको लागि  ७ सय ५० देखि १हजार, उद्योग स्थापना सिफारिसका लागि  एक हजार देखि ३ हजार सम्म, कार्यसम्पन्न सिफारीसका लागि एक हजार देखि १० हजार, विद्यालय खोल्नका लागि ५ हजार देखि १० हजार कर लिने निर्णय गरेको छ ।  त्यस्तै घर बाटो सिफारिसका लागि ५ सय देखि १ हजार  लिने  निर्णय गरेको छ ।

त्यस्तै वार्षिक कर मध्ये पसल होटल र अन्य व्यावसायका लागि पनि  ५ सय देखि  ३० हजार सम्म कर निर्णय गरेको छ।  त्यस्तै  एकीकृत सम्पति कर अन्तर्गत वार्षिक रुपमा  २५ रुपैया  देखि साठी हजार रुपैया सम्म लिने निर्णय गरेको छ।  नगरकार्यपालिकाले गरेको उक्त कर निर्धारणको निर्णय जनताको चहाना र क्षमता विपरित भएकोले आन्दोलन गर्नुपरेको  स्थानीयको  भनाइ छ ।  नगरवासीहरुको  सुझाव र सल्लाह नै नलिइ  एकतर्फी रुपमा  नियम विपरित कर निर्धारण गरेर विपन्न जनताको ढाड सेक्ने काम भएकोले यसको विरोध  गरिएको  नागरिक अगुवा शाहले बताए। 

नगरपालिकाको  कर निर्धारणको  नगरपालिकामा आम स्थानीयले चर्काे विरोध गरेका छन् । नगर क्षेत्र भित्रका  व्यापारी, सर्वसाधारण मजदुर, किसान  सञ्चारकर्मी कर्मचारी सबैले  नगरपालिकाकाले  निर्धारण गरेको कर विपन्न जनताको  क्षमताले  तिर्न नसक्ने  प्रतिक्रिया दिएका छन्।

नगरपालिकाले निर्धारण गरेको  कर अवैज्ञानिक र  गरिव जनताको  ढाड सेक्ने किसिमको रहेकोले   आफूहरूले विरोध गरेको जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । उनले  जनताबाट निर्वाचित  प्रतिनिधिहरूले जनताको  सेवा र कल्याणको ख्याल नगर्नु  निकै दुखको कुरा भएको  बताए । यस्तै  महिला अधिकारकर्मी तारा शाक्यले पनि नगरपालिकाको कर   जनताको  चहाना विपरित भएकोले कर बढाउने नगर कार्यपालिकाको निर्णय सचिनु पर्ने  बताइन् । उनले जनताको करबाट तलव खाने कर्मचारी जनताबाट निर्वाचित प्रतिनिधिले जनताको मर्म र भावना बुझ्न नसक्नु  निकै  दुखको कुरा भएको  बताइन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष भीमबहादुर सिंहले  जनताको  क्षमताको ख्यालै नगरी  चर्काे  कर निर्धारण गर्नु नियमसंगत र न्यायपूर्ण नभएको बताए ।  जनताको  आर्थिक स्तरलाई ख्याल गरेर  कर निर्धारणको निर्णय सच्याउनुपर्ने उनले बताए। 

उता भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले  नगरकार्यपालिकाले निर्धारण गरेको करका विषययमा  जनताको उठाएको विषयलाई  छलफलबाट टुंग्याउन पहल भइरहेको बताए ।  आफू अहिले जिल्ला बाहिर रहेकोेले तिहार पछि सरोकारवालाहरूसंग उपयुक्त छलफल गरेर कर निर्धाणका विषयमा न्यायोचित  छलफलबाट निर्णय  गरिने  प्रमुख  घर्तीले बताए।  

प्रकाशित: १ कार्तिक २०७४ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App