coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सयपत्रीबाट मनग्गे अान्दानी गर्दै पाख्रिन परिवार

इलाम – तिहार भन्नेबित्तिकै फूलैफूल र बत्तीको झिलिमिली हुने पर्व सम्झन्छौं हामी । हुनपनि, मौसमअनुसारका मखमली, सयपत्रीलगायत दर्जनौंखाले फूल ढकमक्क फुल्छन् यो बेला । तर, तिहारमा विशेषतः प्रयोग हुने दुई मुख्य फूल हुन्–सयपत्री र मखमली ।
तिहारको पहिलो दिन कागलाई खाना खुवाउन होस् या अन्तिम दिन भाइटीका लगाउन, सयपत्री फूल विशेष महत्वको मानिन्छ । कुकुर पूजा, गाई, गोवद्र्धन पूजा र भाइटीकामा विशेष महत्व हुन्छ सयपत्री फूलको । घरमा लक्ष्मी भित्रयाउने दिन त फूलले घरै सिँगारेर चिटिक्क पार्ने परम्परा पनि छ । यो परम्परा गाउँमा मात्र होइन, सहरमा पनि उस्तै छ । तर, केही वर्षयता घर–गाउँमा सयपत्री फुलेको कमै देखिन थालेको छ । विदेशबाट भित्रिने प्लास्टिकका जस्तो भन्यो त्यस्तै फूल पाउन थालेपछि सयपत्री र मखमलीको प्रयोग कम हुँदैछ ।
तर, जिल्लाका केही स्थानमा भने अहिले पनि किसानले सयपत्री ढकमक्क बनाएका छन् । घरको फूलबारीमा मात्र सीमित सयपत्रीलाई इलाम नगरपालिका–१० गोदकका किसानले भने व्यावसायिक नै बनाएका छन् । स्थानीय रमला गुरुङ (पाख्रिन) र उनका पति धनबहादुर पाख्रिन अहिले बारीमा लगाएको सयपत्री धमाधम बेचिरहेका छन् । उनीहरूको घर वरिपरि करिब २ रोपनीमा सयपत्री ढकमक्क छ ।
फूलबारीमै मेची राजमार्ग परेकाले सयपत्री बेच्न समस्या छैन उनीहरूलाई । ‘आज राँकेबाट मात्रै ५ हजार रुपैयाँको फूल पठाइदिन अर्डर आएको छ,’ मंगलबार बिहान उनको फूलबारीमा पुग्दा रमला भन्दैथिइन्, ‘आज, भोलि, पर्सि र त्यसको भोलिपल्ट पनि धेरै नै फूल बिक्री हुन्छ ।’ रमलामात्र होइन, धनबहादुर र उनकी आमा विममाया पाख्रिन पनि मंगलबारदेखि धमाधम फूल टिप्दै बेचिरहेका देखिए । रमलाले दिउँसो मेची राजमार्गमा फूल बेच्न निकाल्दा किन्नेको हारालुछ नै भयो । ‘सडकमा गुडिरहेका प्रत्येकजसो गाडीले फूल किनिरहेका छन्,’ उनले सुनाइन्, ‘३०–३५ थुँगा भएको एउटा मुठो सय रुपैयाँमा बिक्री हुँदैछ ।’
धनबहादुर र रमलाले यो वर्ष २० हजार रुपैयाँ लगानी गरेर सयपत्री लगाएका हुन् । अफ्रिकी जातको यो सयपत्रीबाट यही वर्ष करिब लाख रुपैयाँ आम्दानी हुने अनुमान छ उनीहरूलाई । ‘हिजो (सोमबार) एक व्यापारीले ६५ हजार रुपैयाँमा सबै फूल दिन माग्दा पनि दिएनौं,’ धनबहादुरले भने, ‘कम्तीमा लाख, त्योभन्दा बढी १ लाख २० हजार रुपैयाँसम्म भेला गर्छ यो फूलले ।’ इलाम बजारमा भने करिब ३ वर्षयता भारतबाट सयपत्री फूल ल्याएर बेच्ने गरेको देखिन्छ । गाउँमै सयपत्री लगाउन सके यसबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेको छ पाख्रिन परिवार ।

प्रकाशित: १ कार्तिक २०७४ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App