६ वैशाख २०८१ बिहीबार
राजनीति

वाम गठबन्धनमा सिट बाँडफाँट, प्रत्यक्षतर्फका क्षेत्र निर्धारणपछि समानुपातिक

काठमाडौं- चुनावी गठबन्धन गरेको नेकपा माओवादी केन्द्रसँग प्रत्यक्षतर्फका क्षेत्र निर्धारण गरेपछि मात्रै नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवार छनोटलाई अन्तिम रूप दिने भएको छ । समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि बसेको स्थायी कमिटीक बैठकले बुधबार बेलुकीसम्ममा माओवादी केन्द्रसँग निर्वाचन क्षेत्र बाँडफाँटको अन्तिम टुंगो लगाउने गरी कार्यदललाई सक्रिय बनाउने निर्णय गरेको छ ।

‘माओवादी केन्द्रसँग प्रत्यक्षतर्फका क्षेत्रको बाँडफाँट गर्ने गरी कार्यदललाई सक्रिय बनाउने र कार्यदलमा सहमति हुन नसकेका विषयलाई शीर्ष नेताहरूको संयोजन समितिमार्फत समाधान निकाल्ने निर्णय भएको छ,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले नागरिकसँग भने, ‘माओवादीसँग क्षेत्रको बाँडफाँट भएपछि पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार छनोट गर्नेछ ।’

दुवै दलका निर्वाचन क्षेत्र निर्धारण कार्यदलले निर्वाचन आयोगको कार्यतालिकामा ध्यान दिँदै पहिले समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउने र त्यसपछि प्रत्यक्षतर्फ क्षेत्र बाँडफाँट गर्ने सहमति गरेका थिए ।

एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको सात सदस्यीय कार्यदल अहिले ६ सदस्यीय बनेको छ । गठबन्धनमा कुरा नमिलेपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी वामपन्थी गठबन्धनबाट यसअघि नै बाहिरिइसकेको छ । ‘माओवादीसँग क्षेत्रको बाँडफाँट हुँदा प्रत्यक्षतर्फ उम्मेवार बनाउन ठिक पारेका व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाउनुपर्ने हुनसक्छ, त्यसैले पहिले क्षेत्र निर्धारण गर्ने निर्णय गरिएको हो,’ भट्टराईले भने ।

पार्टी एकता प्रक्रिया सुरु भएको घोषणा गरेका एमाले र माओवादी केन्द्रले त्यसको सुरुवात मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तालमेलबाट सुरु हुने घोषणा गरेका थिए ।

वामपन्थी गठबन्धनबाट चुनाव लड्ने विभिन्न व्यक्ति, समूह तथा पार्टीलाई छुट्टयाएर बाँकी रहेका प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रलाई एमालेले ६० र माओवादीले ४० प्रतिशतले बाँडफाँट गर्ने सहमति भएको छ । क्षेत्र निर्धारणका लागि गठन गरिएको कार्यदलका केही बैठक बसे पनि ठोस निर्णय हुन सकेको छैन ।

यसैगरी स्थायी कमिटीको गोकर्ण फरेस्ट रिसोर्टमा भएको बैठकमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारका बारेमा छलफल भएको छ । ‘समानुपातिकतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाउने र त्यसैअनुसार नाम छनोट हुनेछ,’ भट्टराईले भने, ‘प्रत्यक्षतर्फ प्रमुख आधार भूगोलका कमिटीहरूको सिफारिस हुनेछ ।’

एमालेका केन्द्रीयस्तरका नेताहरू विभिन्न निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

समानुपातिकतर्फको उम्मेवारी छनोटका लागि पर्याप्त गृहकार्य नगरी आइतबार एमालेले निर्वाचन आयोगमा बन्द सूची बुझाए पनि कुनै औपचारिक छलफल हुन सकेको थिएन । क्षेत्र, जिल्ला, प्रदेश कमिटी हुँदै स्थायी कमिटीमा नाम आए पनि गृहकार्य नहुँदा त्यसै सूची बुझाइएको थियो ।

आइतबार बैठक बोलाए पनि स्थायी कमिटी बैठक बस्न सकेको थिएन । अध्यक्ष केपी शर्मा ओलीले आयोगमा पहिले सूची बुझाउने र सूची सच्चाउन दिइएको समयमा प्रतिस्थापन गर्ने सहमति भएको जनाएका थिए ।

समानुपातिक सूची पहिलो चरणमा बुझाउने विषयमा पार्टी अध्यक्ष तथा महासचिवले गृहकार्यका लागि पर्याप्त भूमिका नखेलेको भन्दै एमालेका स्थायी कमिटी सदस्यहरूले आलोचना गरेका छन् । समानुपातिकतर्फका नाम छनोटका लागि पार्टीका सचिवालयलाई सक्रिय बनाउन नसकेको कारण भद्रगोल भएको भन्दै उनीहरूले आलोचना गरेका थिए । बैठकमा अध्यक्ष र महासचिव दुवैले उम्मेदवार छनोटका लागि विभिन्न पक्षसँग वार्ताका साथै थप आन्तरिक गृहकार्य भैरहेको बताए ।

प्रकाशित: १ कार्तिक २०७४ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App