७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रत्यक्षतर्फ उम्मेदवार छान्दै कांग्रेस, प्रभावशाली नेताहरूको टिकट सुरक्षित

काठमाडौं- नेपाली कांग्रेसले मंसिरमा हुने संघीय प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छनोट सुरु गरेको छ। समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाएसँगै कांग्रेस नेता प्रत्यक्षतर्फ उम्मेदवार सूची बनाउन सक्रिय भएका हुन्। बुधबार साँझसम्म पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका उम्मेदवार टुंगो लगाउनेगरी कांग्रेसले गृहकार्य थालेको हो। शीर्ष र प्रभावशाली नेताले आआफ्नो निर्वाचन क्षेत्र र उम्मेदवारी सुरक्षित गरिसकेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा डडेल्धुराबाट उम्मेदवार बन्ने भएका छन् । उनलाई कैलाली–५ बाट पनि उम्मेदवार बन्न दबाब पर्दै आएको छ । महामन्त्री शशांक कोइरालाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–१ बाट उम्मेदवारी दिने भएका छन् । नेता रामचन्द्र पौडेल तनहुँ –१ बाट उम्मेदवार बन्नेछन् । केन्द्रीय सदस्य शंकर भण्डारीले पौडेलले छाडेको ठाउँमा आफ्नो दाबी रहने बताएपछि केही राहत महसुस गरेका उनलाई गोविन्दराज जोशी चुनौती बनेका छन् । जोशीले तनहुँ–१ बाटै उम्मेदवारी दाबी गरेपछि उनलाई २ बाट उम्मेदवार बनाउने गृहकार्य भएको छ । तर केन्द्रीय सदस्यहरू भण्डारी, प्रदीप पौडेल, धु्रव वाग्लेले पनि सोही क्षेत्र दाबी गर्दै आएका छन् । पौडेललाई १ नम्बर छाडेपछि २ नम्बरमा भण्डारीको दाबी छ ।  प्रदीप र धु्रवको पनि सोही क्षेत्र हो । पार्टीभित्र सन्तुलन मिलाउन शंकर, प्रदीप, धु्रवका साथै गोविन्द भट्टराईलाई कांग्रेसले प्रदेशसभामा उम्मेदवार बनाउने स्रोतको दाबी छ । 

त्यस्तै, सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र भएको काठमाडौं–१ बाट पूर्वमहामन्त्री प्रकाशमान सिंह उठ्ने निश्चित छ । काठमाडौं–२ मा दीपक कुइँकेल पुनः दोहोरिने सम्भावना छ भने क्षेत्र नम्बर –३ बाट केन्द्रीय सदस्य अम्बिका बस्नेत मैदानमा उत्रिने छिन् । क्षेत्र–४ बाट केन्द्रीय सदस्य गगनकुमार थापाले उम्मेदवारी दोहो¥याउने छन् भने क्षेत्र–५ बाट केन्द्रीय सदस्य प्रकाशशरण महत चुनाव लड्ने तयारीमा छन् । त्यहाँ रमेश खड्काको पनि दाबी छ । काठमाडौं–६ मा जिल्ला सभापति सवुज बानियाँ र पूर्व जिल्लासभापति भीमसेनदास प्रधानमध्य एक उम्मेदवार बन्ने छन् भने क्षेत्र–७ कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छाड्ने भएको छ । केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र ध्यानगोविन्द रञ्जितले क्रमशः क्षेत्र ८ र ९ बाट चुनाव लड्ने भएका छन् । क्षेत्र –९ मा धर्मराज गौतम पनि आकांक्षी छन् । क्षेत्र नम्बर –१० मा राजेन्द्र केसीले पुनः उम्मेदवारी दोहो¥याउने छन् । 

त्यस्तै, सुनसरी–३ मा विजयकुमार गच्छदार र ४ बाट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्ने छन् । सुनसरी क्षेत्र नम्बर १ मा मीन विक र २ मा राजीव कोइराला वा सीताराम मेहतामध्ये एक उम्मेदवार बन्नेछन् । मोरङको क्षेत्र नम्बर १ बाट डिकबहादुर लिम्बु, २ बाट मीनेन्द्र रिजाल,  ३ बाट सुनील शर्मा, ४ बाट महेश आर्चाय, ५ बाट अमृत अर्याल र ६ बाट शेखर कोइराला उम्मेदवार बन्नेछन् । पार्टी केन्द्रीय सदस्य गुरुराज घिमिरे क्षेत्र नम्बर ४ को ‘क’ बाट प्रदेशसभा सदस्यमो उम्मेदवार बन्ने छन् भने अर्की केन्द्रीय सदस्य डिला संग्रौला समानुपातिकमा परेकी छिन् ।

त्यस्तै, झापा निर्वाचन क्षेत्र नम्बर–१ बाट विश्वप्रकाश शर्मा उम्मेदवार बन्ने निश्चित भएको छ । क्षेत्र नम्बर  ३ मा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई सहयोग गर्ने भएको छ भने अन्य क्षेत्रको टुंगो लाग्न सकेको छैन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र राप्रपालाई दिने भएपछि उनको नाम समानुपातिक सूचीमा राखिएको छ ।  धनुषा निर्वाचन क्षेत्र–१ बाट आनन्दप्रसाद ढुंगाना, २ बाट रामकृष्ण यादव, ३ बाट विमलेन्द्र निधि र ४ बाट महेन्द्र यादव उम्मेदवार बन्नेछन् ।  

दुई निर्वाचन क्षेत्र रहेको धादिङ क्षेत्र–२ मा राप्रपाले उपाध्यक्ष बुद्धिमान तामाङलाई कांग्रेसको समर्थनमा चुनाव लडाउने तयारी गरेको थियो । तर, तामाङ समानुपातिकमा बसेपछि कांग्रेस जिल्ला सभापति रमेश धमला टिकटका लागि अघि देखिएका हुन् । धमलालाई टिकटका अर्का आकांक्षी पूर्वजिल्ला सभापति रामनाथ अधिकारीको पनि समर्थन छ । धादिङ–२ बाट कांग्रेसका दिलमान पाख्रिन र राजाराम कार्की पनि आकांक्षी छन् । 

त्यस्तै, गोरखा–२ मा कांग्रेसले नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई समर्थन गर्ने र १ नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सहयोग गर्ने गरी छलफल भइरहेको छ । कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पान्डे र भट्टराईको एउटै क्षेत्र भएकाले दुई दलबीच सहमति भए गोरखा–१ बाट पान्डे वा अर्को केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठमध्ये एक उम्मेदवार बन्नेछन् । दुईमध्ये एक प्रदेशसभामा उम्मेदवार बन्ने छन् ।

नुवाकोट–१ मा रामशरण महत र २ मा अर्जुननरसिंह केसी उम्मेदवार बन्नेछन् । प्रत्यक्षतर्फका अर्का आकांक्षी प्रकाशशरण महत काठमाडौं–५ बाट उम्मेदवार बन्ने तयारी छ ।अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामा समानुपातिक सूचीमा परेका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का र २ बाट केन्द्रीय सदस्य हृदयराम थानी उम्मेदवार बन्ने निश्चित छ ।

त्यस्तै, दाङ –३ मा दीपक गिरी उम्मेदवार बन्ने निश्चितजस्तै भए पनि १ र २ मा उम्मेदवार  टुंगो लाग्न बाँकी छ । पाँच क्षेत्र रहेको कैलालीमा रामजनम चौधरी र जनक चौधरी उम्मेदवार बन्ने निश्चित भएको छ भने अन्यको टुंगो लागेको छैन । कञ्चनपुर–२ मा नारायणप्रसाद साउद, ३ मा रमेश लेखक उम्मेदवार बन्ने निश्चित भए पनि १ को टुंगो लाग्न बाँकी छ ।  

संखुवासभामा दीपक खड्का, ओखलढुंगामा रामहरि खतिवडा, बाजुरामा बद्री पाण्डे, मुगुमा हस्तबहादुर मल्ल,  डोटीमा बीरबहादुर बलायर र पर्वतमा अर्जुन जोशी उम्मेदवार बन्ने निश्चितजस्तै भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको दैलेखको एउटा क्षेत्रमा राप्रपा नेत्री कुन्ती शाहीलाई कांग्रेसले समर्थन गर्ने छ भने अर्को क्षेत्रमा कांग्रेसले आफ्नै उम्मेदवार उठाउने छ ।

धनकुटामा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता सुनीलबहादुर थापालाई सहयोग गर्नसक्ने देखिएको छ । त्यस्तो नभए कांग्रेसले अन्जना चाम्लिङलाई अघि सार्ने छ ।

सात जिल्लाको टुंगो लाग्यो

कांग्रेस संसदीय समितिको बैठकले सात जिल्लामा उम्मेदवार टुंगो लगाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति बसेको समितिको बैठकले ताप्लेजुङमा केशवप्रसाद दाहाललाई प्रतिनिधिसभा तथा प्रदेशसभामा लीलादेवी बोखीम र दीपेन्द्रकुरमा सेङ्दान, पाँचथरमा भीष्मराज आङ्दाम्बेलाई प्रतिनिधिसभा तथा नरेन्द्रकुमार केरुङ र सुरेन्द्र दाहाललाई प्रदेशको उम्मेदवार बनाएको छ । सोलुखुम्बुमा बलबहादुर केसी तथा प्रदेशमा प्रकाशसिंह कार्की र आङ्गेलु शेर्पा, खोटाङमा सरस्वती बजीमयलाई प्रनिधिधिसभा तथा सुवासकुमार पोखरेल र विष्णुकुमार राईलाई प्रदेशको उम्मेदवार बनाइएको छ ।

त्यस्तै, मनाङमा प्रतिनिधिसभातर्फ टेकबहादुर गुरुङ तथा प्रदेशमा चिन्ताबहादुर घले र कर्मा गुरुङ, हुम्लामा प्रतिनिधिसभातर्फ मंगल शाही तथा प्रदेशमा ठानबहादुर रोकाया र जीवनबहादुर शाही र जाजरकोटमा प्रतिनिधिसभातर्फ राजीवविक्रम शाह्र तथा बेदराज सिंह र दीपकजंग शाहलाई प्रदेशको उम्मेदवार बनाउने निर्णय भएको छ ।

मंसिर १० गते पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रूकुम, पश्चिम रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरामा प्रतिनिधसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन हुँदैछ । पहिलो चरणमा निर्वाचन हुने जिल्लामा कात्तिक ५ गते उम्मेदवारी मनोनयन गरिनेछ ।

प्रकाशित: १ कार्तिक २०७४ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App