८ वैशाख २०८१ शनिबार
समाज

८८ किलो सुन तस्करीका नाइके समानुपातिकको टिकट लिन आउँदा पक्राउ

काठमाडौं/रसुवा–ठमेलमा फेला परेको तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मानबहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन्।

नेपाल–चीन–केरुङ व्यापार संघको अध्यक्ष रहेका तामाङ महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन फेलापारेपछि अर्धभूमिगत बनेका थिए। रसुवाको क्षेत्र नम्बर २ बाट कांग्रेसको समानुपातिक कोटामा पर्न काठमाडौं आएका उनी पार्टीले निर्वाचन आयोगमा उम्मेदवारको सूची बुझाएको भोलिपल्ट सोमबार पक्राउ परेका हुन्।

महाशाखाले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको सुन भदौ १९ मा क्षेत्रपाटीबाट बरामद गरेको थियो । बा१७च ६४२७ नम्बरको गाडीसहित महाशाखाले मनोज अधिकारीलाई पक्राउ गरेपछि तस्करीमा सक्रिय जालोबारे खुलेको थियो।

अनुसन्धानमा काठमाडौंमा सुन कारोबारीको आवरणमा रहेका व्यवसायी, तामाङ र चिनियाँ नागरिक मिलेर तस्करी गर्ने गरेको र तामाङले केरुङ नाका कटाएर काठमाडौंसम्म ल्याउन सघाउने गरेको खुलेपछि प्रहरीले उनको खोजी गरेको थियो। 

प्रारम्भिक अनुसन्धानमा ठमेलमा काठमाडौं वन होटल चलाएर बसेका चिनियाँ नागरिक वान विङ मिङ र पान विइ मिङले तस्करीको सुन ओसार्ने गरेको खुलेको थियो तर पक्राउका लागि खटिँदा उनीहरु उम्किएका थिए। महाशाखाका अनुसार पान विइ भागेर चीन पुगिसकेकी छिन्। वान कहाँ छन्, खुलेको छैन।

अनुसन्धानमा काठमाडौंमा सुन कारोबारीको आवरणमा रहेका व्यवसायी, तामाङ र चिनियाँ नागरिक मिलेर तस्करी गर्ने गरेको र तामाङले केरुङ नाका कटाएर काठमाडौंसम्म ल्याउन सघाउने गरेको खुलेपछि प्रहरीले उनको खोजी गरेको थियो। अनुसन्धानमा उनले केरुङ नाका, धादिङ र नुवाकोटको नाकाबाट सुन बोकेर सवारीसाधन सहजै कटाउने गरेका थिए। जिल्लाका सुरक्षा निकायका अधिकारीसँग निकट सम्बन्ध रहेका उनको सिफारिसको गाडी सहजै नाका कट्ने गरेको थियो।

काठमाडौंमा सुन बरामद भएसँगै चीन हिँडेका उनी लामो समय उतै बसे। यता नेपालमा संघ र प्रदेशको निर्वाचन लागेपछि असोज १७ मा नेपाली कांग्रेस रसुवाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारसँगै समानुपातिकका लागि २१ जनाको नाम सिफारिस गरेको थियो।

निर्वाचन क्षेत्र नम्बर २ को समानुपातिक कोटाका लागि ६ जनाको नाम सिफारिस भएकोमा तामाङको नाम तेस्रो नम्बरमा थियो । जिल्लाबाट सिफारिस काठमाडौंमा आएपछि आफ्नो नाम पार्न उनी चीनबाट काठमाडौं आएका थिए। उनी स्वयम्भू क्षेत्रमा रहेको सूचनाका आधारमा महाशाखाले आइतबार दिउँसो पक्राउ गरेको हो।

यसअगाडि प्रहरीले तस्करीको सुनमा लगानी गर्ने गरेको र सुन बजारमा फैलाउने गरेको अभियोगमा रञ्जना ट्रेड सेन्टरमा रहेको कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गलाई पक्राउ गरेको थियो।

‘८८ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाको बयानबाट तामाङको नाम जोडिएपछि अनुसन्धानका लागि पक्राउ गरेका हौं,’ महाशाखा प्रमुख दिवस लोहनीले भने, ‘संगठित अपराधमा अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएका छौं।’

सुरक्षा निकाय प्रमुखलाई उन्मुक्ति
तामाङ यसअगाडि रक्तचन्दन तस्करीमा समेत जोडिएका थिए। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवाको केरुङ नाकाबाट आवतजावत बढेपछि उनी सक्रिय भएका थिए। रसुवागढी नाकामा ६४ किलो रक्तचन्दनसहित पक्राउ परेका दुई चिनियाँ नागरिक छुटाउन उनी निकै सक्रिय भएका थिए । पक्राउ परेको ६ महिनापछि चिनियाँ नागरिक छुटेका थिए । 

रसुवा, गोल्जुङको मध्यमवर्गीय परिवारका तामाङले छोटो समयमा आर्थिक अवस्था बलियो बनाएका थिए । अहिले उनीसँग ८ ओटा स्कार्पियो गाडी छन्। सुरुमा तामाङले काठमाडौंमा इलेक्ट्रोनिक सामग्रीको व्यापार सुरु गरेका थिए। अनुसन्धानमा रसुवा र नुवाकोटका सुरक्षा अधिकारीसँग तामाङको राम्रो हिमचिम रहेको खुलेको छ। ८८ किलो सुनमा समेत जिल्लाका सुरक्षा निकायका प्रमुखको भूमिका शंकास्पद देखिएको थियो तर उनीहरु अनुसन्धानको दायरामा आएका छैनन्।

केरुङदेखि नुवाकोट हुँदै काठमाडौं सुन ल्याउँदा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका गरी ११ भन्दा बढी जाँचपोस्ट सहजै कटेको र सुनसहित काठमाडौंमा फेला परेको गाडी नेपाल प्रवेश गर्दा केरुङ नाकाको नेपाल प्रहरीको पोस्टमा मात्र दर्ता रहेको खुलेको थियो। 

गाउँपालिका अध्यक्ष फेला परेनन्
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा बरामद गरेको १५ किलो सुन तस्करीमा भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल संलग्न रहेको पुष्टि भए पनि उनी पक्राउ परेका छैनन्।

अनुसन्धानमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष भएका पौडेल र कांग्रेसका तामाङबीच निकट सम्बन्ध रहेको खुलेको छ । भदौ १५ मा ब्युरोले १५ किलो सुनसहित टोखा नगरपालिका–११ बाट पेम्बादोर्जे शेर्पालाई पक्राउ गरेको थियो। उनको बयानमा २ किलो सुन जनकपुर पुगेको सूचना आएपछि धनुषा प्रहरीको सहयोगमा एक किलो सुनसहित दीपककुमार साह, भक्तपुरका दीपेन्द्र थापा, काठमाडौं सिरुटारका सरोज थापा, भक्तपुरका राजेन्द्र खत्री, रविन खत्री र काभ्रे पाँचखालका विष्णु गौतम पक्राउ परेका थिए। 

उनीहरुबाट सुन पौडेल र रमेश खड्काको रहेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो तर उनी पहिल्यै गाउँपालिका उपाध्यक्षलाई जिम्मा लगाएर सम्पर्कविहीन भइसकेका थिए ।

८८ किलोसँग जोडिँदै हत्या अनुसन्धान
भदौ १४ मा स्वयम्भूको आदेश्वर मन्दिरनजिकै ढुंगाखानीमा हत्या गरेर फालेको अवस्थामा रसुवाका गगन लामाको शव फेला परेको थियो । अनुसन्धानमा तस्करीको सुन विवादमा लामाको हत्या भएको खुल्यो। लामा केरुङ नाकाबाट हुने तस्करीको सुनको भरिया रहेको र उनले काठमाडौं ल्याएको १८ किलो सुनमध्ये ६ किलो हराएको दाबी गरेपछि तस्करीमा संलग्न समूहले हत्या गरेको खुलेको थियो। 

महाशाखाले लामाको हत्या अभियोगमा लाक्पा ग्याल्जेन, छिरिङ तामाङ, सविना थोकर, प्रकाश शाक्य र लाक्पा तामाङलाई पक्राउ गरेको छ। १८ किलो सुन तस्करीमा संलग्न व्यक्ति ८८ किलो सुन तस्करीमा पनि संलग्न देखिएको सूचना आएपछि महाशाखाले यी दुवै घटनालाइ जोडेर अनुसन्धान अगाडि बढाएको छ।

 

प्रकाशित: ३१ आश्विन २०७४ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App