८ वैशाख २०८१ शनिबार
समाज

४५ किमी गतिको हावामा प्याराग्लाइडिङ खस्दा...

पोखरा—सोमबार दिउँसो सवा दुई बजेतिर एक्कासी हावा चल्यो । दक्षिण पश्चिमतिरबाट चलेको हावाले सराङकोट चुचुरोबाट उडेका प्याराग्लाइडिङलाई हुत्याउँदै एकाएक फेवातालमा खसायो । बेलैमा उद्धार पाएकोले तालमा खसेका सात कम्पनीका आठ उडानका पाइलट र विदेशी यात्रुलाई सकुशल उद्धार गरियो।

पोखरा विमानस्थल टावरका अनुसार त्यो बेला दक्षिण पश्चिम (पञ्चासे क्षेत्र) बाट प्रतिघन्टा २५ नट्स (४५ किलोमिटर) को गतिमा हावा चलेको थियो । प्याराग्लाइडिङका एकजना वरिष्ठ पाइलटका अनुसार ४५ किमीको गतिमा दक्षिण पश्चिमबाट चलेको त्यो हावा निकै चिसो थियो । जसले गर्दा तातो हावा (थर्मल) मा उड्ने प्याराग्लाइडिङलाई माथि जान नदिएर हुत्याउँदै ताल किनारमा खसायो।

ती पाइलटका अनुसार प्याराग्लाइडिङ ‘टेकअफ’ र ‘ल्यान्डिङ ’गर्दा हावाको गति २५ किमी प्रतिघन्टाको दरभन्दा बढी हुनु हुँदैन । तर सोमबार ४५ किमीमा उड्न खोज्दा सन्तुलन बिग्रनु स्वाभाविक रहेको उनले बताए । ‘अत्यधिक गतिमा चिसो हावाले पछाडिबाट धकेल्दा पाइलटले सन्तुलन गुमाए,’ ती पाइलटले नागरिकसँग भने, ‘४५ किमी प्रतिघन्टाको हावाको गति प्याराग्लाइडिङ उडानका लागि खतरा हो । हावाको बेगले पाइलटले ग्लाइडरलाई सन्तुलनमा राख्नै सक्दैनन् ।’

ती पाइलटका अनुसार ४५ किमीको गतिमा अघिल्तिरबाट हावा आयो भने प्याराग्लाइडिङलाई करिब १५ किमीको गतिमा पछिल्तिर धकेल्छ । त्यस्तै त्यही गतिमा पछाडिबाट आएको हावाले ८५ किमीको गतिमा अघिल्तिर धकेल्छ । ती पाइलटका अनुसार सोमबार दिउँसोको घटनामा पाइलटले निकै हेलचेक्र्याई गरेको देखिन्छ । ‘पाइलटलाई मौसम बिग्रदैछ भन्ने अग्रिम जानकारी भएपनि बेवास्ता गरेका हुन्,’ उनले भने, ‘एक घन्टापछिको मौसम कस्तो हुँदैछ भन्ने पाइलटले थाहा पाएको हुनुपर्छ । आफू कस्तो हावामा उड्दैछु भन्ने पनि पाइलटलाई अग्रिम जानकारी हुन्छ।’

उनका अनुसार जादुगर शैलीमा तत्कालको तत्कालै मौसम फेरिँदैन । सराङकोटबाट उडेर अवतरण गर्ने समयसम्मको हावा कस्तो आउँदैछ भन्ने पहिल्यै थाहा हुने भएपनि सोमबार ती सबै पाइलटले बेवास्ता गरेको उनले बताए । ‘कतैबाट आँधी आउँदैछ वा छैन भन्ने पहिल्यै थाहा हुन्छ । तर, सराङकोटबाट उडेका सबैले त्यसलाई बेवास्ता गरेकै कारण घटना भएको हो,’ ती पाइलटले भने, ‘पञ्चासे क्षेत्रबाट आउने हावालाई बेवास्ता गर्नु पाइलटको महाभूल हो ।’ उनका अनुसार प्याराग्लाइडिङ तातो हावामा उड्छ । चिसो हावा ग्लाइडरका लागि निकै जोखिमयुक्त हुन्छ । यसअघि २०७२ फागुनमा प्याराग्लाइडिङ प्रतिस्पर्धा चलिरहेका बेला यस्तै दुर्घटना भएको थियो ।

सोमबार दिउँसो विभिन्न कम्पनीका पाइलट र यात्रु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार फ्लाई नेपाल, कस्मिक, फ्रन्टियर्स, पोखरा प्याराग्लाइडिङ, ब्लू स्काई र माउन्टेन फ्लायर्सका प्याराग्लाइडिङ दुर्घटनामा परेका थिए । तीमध्ये केही सोलो (एकल) र बाँकी टेन्डम (यात्रुसहित)का उडान थिए । कास्की प्रहरीका अनुुसार फ्लाई नेपालका पाइलट सुन्दर गुरुङ र यात्रु माल्कोल्म लिओइ, कस्मिकका पाइलट दीपक भट्टचन र याङ हुई ची तालमा खसेका थिए ।

त्यस्तै फ्रन्टियर्सका पाइलट कमल पोखरेल, पोखरा प्याराग्लाइडिङका पाइलट कमल गुरुङ र यात्रु चिनियाँ याङ युइ, ब्लू स्काईका पाइलट राजाराम गौतम र यात्रु पान्सिया पिङ, ब्लू स्काईकै पाइलट बलहरी पहारी र यात्रु वाङ क्यू, माउन्टेन फ्लायर्सका पाइलट जितेन्द्र पूर्जा र कम्पनी नखुलेका अर्का एकजना विदेशी पाइलट क्रिस्चियन डुरिनी रहेका छन् । ती सबै सकुशल रहेको प्रहरीले बताएको छ।

उद्धारमा खटिएका बैदाम चौकीका प्रहरी निरीक्षक बसन्तकुमार शर्माले समयमै उद्धार गर्न सकिएकाले सबैको ज्यान जोगिएको बताए । ‘संयोगबस म हल्लनचोकको सामुदायिक प्रहरी बैठकमा थिए । अचानक हावा चल्यो, मेरै आँखा अगाडि ती पाइलट तालमा खसे,’ उनले भने, ‘अनि तत्कालै उद्धारमा जुट्यौं । त्यसैले गर्दा कसैले ज्यान फाल्नु परेन ।’ सराङकोट चुचुरोबाट उडेका ग्लाइडर एक्कासी हावाले हुत्याउँदै तालमा खसालेको हुनसक्ने उनले बताए ।

एकजना उद्धारकर्ता सन्दीप परियारका अनुसार उद्धारमा खटिएको ६ जनाको टोली सवार डुंगासमेत तालमा डुबेको थियो । ‘तालमा ग्लाइडर खसेपछि हामी ६ जना मिलेर तुरुन्तै उद्धारका लागि डुंगा लिएर गएका थियौं । हावाले गर्दा तालको पानीमा छाल उठेको थियो,’ उनले भने, ‘तालमा डुबेका विदेशीलाई उद्धार गर्ने क्रममा हावाले ढल्किदा डुंगा नै ग्लाइडरको डोरीमा अल्झियो । अनि हामी सबैजना तालमा खस्यौं ।’ तालमा खसेपनि पौडिन जानेकाले सबै कपडा खोलेर डुंगा उठाएर विदेशीको समेत उद्धार गरेको परियारले बताए । ‘हावाले गर्दा तालमा डुंगा खियाउन समेत समस्या थियो । पानीको छाल उठ्दा जोखिम थियो,’ उनले भने।

खहरेमा खसेका चिनियाँलाई एकजना १५ वर्षका बालकले ‘कायक’मा गएर उद्धार गरेका थिए । १५ वर्षका नारायण राजबंशी ताल नजिकै घरमा खेलिरहेका थिए । अचानक तालमा ग्लाइडर खसेको देखेपछि घरकै ‘कायक’ लिएर ती बालक उद्धार गर्न पुगेका थिए । ‘मैले जसोतसो कायकमा उठाएर ती चिनियाँलाई बचाए,’ उनले भने, ‘कायक चलाउन जानेकाले ज्यान जोगाउन सकियो।’

नेपाल हवाई खेलकुद संस्था (एनएए)का उपाध्यक्ष सोबित बानियाँ पनि मौसममा खराबी आएकाले दुर्घटना भएको बताउँछन् । ‘पाइलटलाई कम्तिमा आधादेखि एक घण्टापछिको मौसम कस्तो हुँदैछ भन्ने थाहा हुनुपर्छ । त्यो ज्ञान हुनुपर्ने हो,’ बानियाँले भने, ‘तर, सोमबार पाइलटले हेलचेक्र्याई गरेका हुन् ।’ कम्तिमा आधा घन्टा अगाडि नै कस्तो मौसममा उड्दैछु भन्ने थाहा हुने भएपनि पाइलटले बेवास्ता गरेको उनले बताए । ‘तत्कालै मौसम बिग्रियो भनेपनि उडेको १० मिनेटमा सुरक्षित अवतरण गर्न सकिन्छ । तर, पैसाका लागि पाइलटले जे पनि गर्छन् भन्ने सोमबार पुष्टी भयो,’ उनले भने, ‘कम्तिमा आधा घन्टा उडान गर्नसक्ने समय पाइलटसँग रहन्छ । सुरक्षित उडानका लागि त्यो समय पर्याप्त हो ।’

प्रकाशित: ३१ आश्विन २०७४ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App