५ वैशाख २०८१ बुधबार
अन्य

लोकप्रिय निर्णय, कार्यान्वयन शून्य

दुवै लेनमा खचाखच सवारी छन् । चालक गाडीको ब्रेक घ्याच्च–घ्याच्च पार्दै अगाडि बढ्न खोज्दै छन् । बिहानैदेखिको जामले सवारीको ताँती छ । सडकमा खटिएका ट्राफिक प्रहरीलाई जाम हटाउन हम्मेहम्मे परिरहेको देखिन्छ । 
आइतबार बिहान १० बज्नै लाग्दा सातादोबाटो–लगनखेल सडकखण्डमा देखिएको दृश्य हो यो । यही सडकलाई गत असोज १ गते ललितपुर महानगरपालिकाले जाममुक्त घोषणा गरेको थियो। 

महानगर प्रमुख चिरिबाबु महर्जनको अग्रसरतामा गरिएको जाममुक्त घोषणालाई आइतबार देखिएको दृश्यले गिज्याइरहेजस्तो देखिन्थ्यो । आइतबार कार्यालय समयमा सातदोबाटो–लगनखेल र लगनखेल–थापाथली सडक क्षेत्रका विभिन्न स्थानमा लामो ट्राफिकजाम थियो।  

सस्तो लोकप्रियताका लागि आवश्यक पूर्वाधारविनै जाममुक्त घोषणा गरिँदा कार्यान्वयन हुन नसकेको आइतबार यी सडकखण्डमा देखिएका दृश्यले पुष्टि गर्थे। 

जाममुक्त दाबी गरिएको सडकमा लामो समय रोकिनुपर्दा चालक पनि दिक्क थिए । उनीहरूले विनाअध्ययन महानगरपालिकाले जाममुक्त घोषणा गरेर झुक्याएको बताए। 

‘असोज १ देखि ललितपुर जाममुक्त भयो भन्ने सुन्दा निकै खुसी लागेको थियो,’ आइतबार सातोदोबाटोमा जाममा फसेका बा.४ख ५६५९ नम्बरका माइक्रोबस चालक उजिर थापाले भने, ‘अहिले सबैभन्दा बढी जाम सातदोबाटो क्षेत्रमै देखिन्छ ।’ उनले अचेल पनि सातदोबाटो क्षेत्रमा आधा घन्टासम्मको जाम झेलिरहेको गुनासो गरे।

उनीजस्तै जाममा परेका अर्जुन शाही पनि त्यस्तै गुनासो गर्दै थिए । ‘माथि (माथिल्लो निकाय) बस्नेले आफू लोकप्रिय बन्न कामै नगरी जाममुक्त भनेर घोषणा गर्छन्,’ उनले भने, ‘पहिले तयारी र सबै निकायसँग छलफल गरेर जाममुक्त घोषणा गरेको भए राम्रै हुन्थ्यो ।’ दसैँका बेला केही कम भए पनि दसैँपछि भने जाम बढिरहेको उनले बताए। 

उपत्यकाका जाम हुने मुख्य क्षेत्रमध्ये ललितपुर पनि पर्छ । जिल्लामा ट्राफिकजाम हुन नदिन महानगरपालिकाले तीन स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने निर्णयसहित जाममुक्त घोषणा गरेको थियो । तर, घोषणा कागजमै सीमित छ ।
सडकमा सिसिटिभी क्यामेरा जडान नहुँदा ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज सीताराम हाछेँथुले बताए । उनका अनुसार उपत्यकामा एक हजार दुई सयभन्दा बढी ट्राफिक प्रहरी छन् । ‘प्रत्येक चोकमा ट्राफिकले जिम्मेवारी निर्वाह गरिरहेका छन्,’ हाछेँथु भन्छन्, ‘सडकले धान्नेभन्दा बढी सवारीसाधन भएपछि ट्राफिकले मात्रै जाम कम गर्न सक्दैन ।’ उनले काठमाडौंमा भन्दा ललितपुरमा जाम धेरै कम भएको दाबी गरे।

हाछेँथुका अनुसार ललितपुरका अन्य सडकभन्दा थापाथली–सातदोबाटोमा बढी जाम हुने गरेको छ । यी सडकमा प्रायः जाम हुने गर्छ । ‘सातदोबाटोमा सडक निर्माणले गर्दा ट्राफिक जाम बढेको छ,’ उनले भने, ‘जावलाखेल हुँदै काठमाडौं आउने सवारी कुपोन्डोलको जाममा फस्छन् ।’ उनले ललितपुर महानगरपालिकाले सिसिटिभी जडान र फ्लाइओभर निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने जिल्लाको ट्राफिकजाम कम हुने बताए । 

असोज १ गते ललितपुरलाई जाममुक्त घोषणा गर्ने कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका प्रमुख महर्जनले कुपोन्डोलको कानदेवता थान, पुल्चोकको हरिहरभवन र अल्का अस्पतालअगाडि तीन साताभित्र ट्राफिक लाइट जडान गर्ने बताएका थिए । तर, हालसम्म त्यहाँ यस्ता लाइट जडान भएका छैनन् । 

महर्जनले बीचमा पर्व परेका कारण सिसिटिभी जडानमा अवरोध भएको बताए । उनले अबको चार साताभित्र सिसिटिभी र ट्राफिक लाइट जडान गरिसक्ने बताए । ‘हामीले ललितपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न यस्तो याजना ल्याएका थियौँ,’ उनले भने, ‘ललितपुरमा सम्भव पनि छ ।’ 

जाम कम गर्न लगनखेल पाटन अस्पतालअगाडि र लगनखेल चोकमा दुई अकासेपुल बनाउने योजना महानगरले अघि बढाएको उनले जनाए । ‘अकासेपुल राख्न हामीले अध्ययन गरिसकेका छौँ,’ महर्जनले भने, ‘केही समयपछि अकासेपुल निर्माण सुरु हुन्छ ।’ 

महानगरले पुल्चोकदेखि बाग्मती पुलसम्म फ्लाइओभर बनाउने योजना अघि सारेको पाँच महिना बित्दा पनि त्यसबारे अध्ययन समेत सुरु भएको छैन । महर्जनले एक दशमलव चार किलोमिटरको फ्लाइओभर बनाउने घोषणा गरेका थिए । 

प्रकाशित: ३० आश्विन २०७४ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App