coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेसका लागि चुनाैती

दाङ – संविधानसभा दोस्रो निर्वाचनमा जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा विजयी नेपाली कांग्रेसको जनमत त्यसयताको चार वर्षमा पूरै खस्कियो । १० स्थानीय तहमा भएको असार १४ को निर्वाचनमा कांग्रेस तीन सिटमा मात्रै सीमित बन्न पुग्यो, त्यो पनि गाउँपालिकामा मात्रै। 

संविधानसभा निर्वाचनमा एकछत्र देखिएको कांग्रेसको स्थानीय तहमा भएको न्यून जितको मुख्य कारण उसले पार्टीभित्रकै अन्तरघात निक्र्योल गर्‍यो । पार्टीभित्रको अन्तरघातको गलत संस्कारलाई कांग्रेसले यस अवधिमा कसरी व्यवस्थापन गरेको छ वा छैन ? प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि महत्त्वपूर्ण जिज्ञासा बनेको छ । 
स्थानीय चुनावमा भएको अन्तरघातको ‘ह्याङ’ प्रदेश तथा प्रतिनिधिसभा आसन्न निर्वाचनमा दोहोरिन्छ वा दोहोरिन्न ? कांग्रेसजन आफैँ अनभिज्ञ छन् । अन्तरघात ठहर गर्दै हार स्वीकारेका स्थानीय तह निर्वाचनका पराजित उम्मेदवारको अबको प्रस्तुति कस्तो रहने हो ? कार्यकर्तामा चिन्ता छाएकै छ ।  ‘अहिले त्यस्तो अवस्था नआउला जस्तो लाग्छ,’ कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले भने, ‘पार्टीका हरेक तहका कार्यकर्तामा एकताको भावना जागृत भएको मैले पाएको छु ।’ 

निर्वाचनमा एमाले र माओवादी तालमेल कांग्रेसका लागि चुनौती बनिदिएको छ । यो चुनौतीमाथि स्थानीय चुनावमा भएको अन्तरघात प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोहोरिन्छ वा दोहोरिन्न ? आफूले टिकट नपाएको झोंकमा पार्टीकै आधिकारिक उम्मेदवारलाई पराजित तुल्याउने कांग्रेस नेता–कार्यकर्ताको पुरानो समस्या हो ।

एमाले र माओवादी तालमेल कांग्रेसका लागि कडा चुनौती बनिदिएको छ । यसर्थ कांग्रेसभित्रको एकता अनिवार्य देखिन्छ । यहाँसम्म कि पार्टीकै ठूला नेताहरू अहिले समानुपातिक कोटाबाट सुरक्षित हुने दाउ हेरिरहेको नेताहरूको भनाइ छ । ‘काठमाडौंमा पनि ठूला नेताहरू समानुपातिकमै इच्छुक बनेको कुरा आइरहेको छ,’ कांग्रेसका पूर्वसांसद गेहेन्द्र गिरी भन्छन्, ‘समग्र पार्टीका लागि ठूला नेताको यो सोचाइ कदापि राम्रो हैन।’ 

वाम गठबन्धन बनेको अवस्थामा कांग्रेसका लागि आगामी निर्वाचनमा आफैँभित्रको अन्तरघातको पुरानो रोगलाई अन्त्य गर्नु नितान्त जरुरी रहेको गिरीको भनाइ छ । ‘पार्टीभित्र अन्तर विरोध रहेन भने वाम गठबन्धनले कांग्रेसलाई खासै ठूलो धक्का पु¥याउँदैन,’ उनले भने, ‘तर स्थानीय तहको निर्वाचनमा जस्तो अन्तरघात भयो भने कांग्रेसका लागि निकै लज्जा हुनेछ ।’ 
कांग्रेसले स्थानीय तहमा देखिएको पार्टीभित्रको अन्तरविरोध मत्थर पार्न ठोस पहल केही गर्न भने सकेको छैन । जिल्ला तहमा सामान्य छलफल भए पनि त्यसको प्रभाव पर्न सकेको देखिन्न । अहिले पनि कांग्रेस सच्चिन्छ वा सचिन्न भन्ने प्रश्न कार्यकर्ताको मनमा उब्जिएकै छ । असार १४ को परिणामले देखाइदिएको पार्टीभित्रको अन्तरविरोधको प्रभाव अहिले पनि ताजै छ । ‘यसलाई कसरी सम्बोधन गर्ने भनेर पार्टीले ठोस रूपमा काम गर्न सक्नुपर्छ,’ गिरी भन्छन्, ‘गल्ती गरेकाहरूलाई मौका दिइयो भने आउँदो निर्वाचनमा पनि अन्तरघातको असर देखिनेछ।’

आफूले टिकट नपाएको झोंकमा पार्टीकै आधिकारिक उम्मेदवारलाई पराजित तुल्याउने कांग्रेसको पुरानो समस्या हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि टिकट वितरणले नै ‘सहयोग वा असहयोग’ को वातावरण निर्धारण गर्ने निश्चित देखिन्छ । नेताहरूकै अभिव्यक्तिले पनि यसको पुष्टि  गर्छ । कांग्रेसले अझै उम्मेदवार चयन गरिसकेको छैन । ‘विगतका निर्वाचनमा गलत गरेकाहरूलाई पुरस्कार (टिकट) दिने काम पार्टी नेतृत्वले गर्नु हुँदैन,’ गिरी भन्छन्, ‘गल्ती गर्नेहरुलाई नै नेतृत्वले पुरस्कृत गर्ने हो भने विगतमा मार खेपेका नेताहरूको मनोबल कसरी उँचो हुन्छ ?’ यसर्थ आसन्न निर्वाचनमा कांग्रेसको प्रभाव पनि टिकट वितरण प्रक्रियाले नै निर्धारण गर्ने उनको बुझाइ छ। 
गिरी तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । उनले आफ्नो हारको प्रमुख कारण अन्तरघात दाबी गर्दै आएका छन्।

नेतृत्वबाट पार्टीभित्रको अन्तरविरोध साम्य पार्न नसकेको भए पनि अहिलेको वाम तालमेलले कांग्रेसलाई एकीकृत बन्न प्रेरित गरेको आशा भने कांग्रेसजनले गरेका छन् । कांग्रेसभन्दा ठूलो शक्ति अगाडि खडा भएको देख्दा आमकांग्रेसीमा आफ्नै पार्टीभित्रको एकताको मनोभावना विकसित हुने अपेक्षा नेतृत्वले लिएको छ। 

‘वाम तालमेलका कारण कांग्रेस कमजोर हुने सन्त्रासले पनि पार्टीभित्रको एकतालाई बलियो बनाउन मद्दत पुगेको छ,’ कांग्रेस क्षेत्र नम्बर ३ का सभापति भूपबहादुर डाँगीले भने, ‘ठूलो घटकका अगाडि विगतका कमजोरी सच्याएर अब एक भएर अघि बढ्नुपर्छ भन्ने मनोकांक्षा आमनेताकार्यकर्तामा उत्पन्न भएको छ ।’ 

घोराही उपमहानगरपालिकाको मेयरमा पराजित डाँगीलेवाम तालमेलले कांग्रेसलाई एक बन्न सन्देश दिएको बताए । ‘कांग्रेस एक भएर चुनावमा होमियो भने वाम तालेमलको प्रभाव त्यति ठूलो पर्दैन,’ उनले भने, ‘पार्टीभित्रको तिक्तता मेटाउनु कांग्रेसका लागि मुख्य कार्यभार हो ।’ 

वाम गठबन्धनलाई काउन्टर दिने मनस्थितिमा रहेको कांग्रेस अहिले लोकतान्त्रिक गठबन्धनको जोडबलमा लागेको छ । गठबन्धनलाई मात्रै जोड दिइरहेको कांग्रेसले आफूभित्रको अन्तरबिरोधलाई भने महŒव दिन सकेको छैन । ‘गठबन्धन एउटा कुरा भयो, हुनु जरुरी छ, होओस् पनि,’ एक कार्यकर्ताले भने ‘तर आफूभित्रको अन्तरघातको रोगलाई निको पार्नु कसको दायित्व हो ?’

सांगठनिक परिचालनमा कमजोरी
निर्वाचनमा विजयको लक्ष्य लिने हो भने पार्टीको पूरै संगठन चुनावी मैदानमा उभिनुपर्छ । तर गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पूरै ‘फिल्ड’ मा उत्रन सकेन । उम्मेदवार तथा उम्मेदवार निकटस्थ पात्रहरू मात्रै चुनावी प्रचारमा होमिए । यो चुनावी शैलीले अन्य कार्यकर्ता लाई ‘बाइपास’ गरेको भान पर्न जानु स्वाभाविकै हो । यसर्थ यसको असर पनि निर्वाचनमा प्रत्यक्ष पर्न गएको कांग्रेसको ठम्याइ छ । यसर्थ अब नेपाली कांग्रेसले पूरै संगठनलाई परिचालित गरेर निर्वाचन परिणाम आफ्नो हातमा ल्याउने प्रयास गर्न सक्छ वा सक्दैन ? आसन्न निर्वाचनमा उसको यो अर्को प्रमुख चुनौती हो । ‘पूरै संगठनलाई परिचालित गर्न पार्टीले सक्दैन भने त्यसको नतिजा पक्कै पनि सोचेजस्तो आउँदैन,’ लेखक विपुल पोख्रेल भन्छन्, ‘निर्वाचन व्यक्तिवादी प्रचारभन्दा सांगठनिक परिचालन महत्त्वपूर्ण कुरा हो ।’  

निरीह भ्रातृ संगठन
नेपाली कांग्रेसका थुप्रै भ्रातृ संगठन पनि स्थानीय तहको निर्वाचनमा निष्कृयसरह देखिए । पार्टीको युवा संगठनमध्येका नेविसंघ र नेपाल तरुण दल स्थानीय तहको निर्वाचनमा त्यति सक्रिय देखिएनन् । पार्टीले परिचालन गर्न नसकेको भनेर यी दुई संगठनका युवा नेतृत्वप्रति रुष्ट छन् । ‘नेपाली कांग्रेसको नेतृत्वले हामी युवालाई न प्रशिक्षण दियो, न जिम्मेवारी नत परिचालित नै गर्न सक्यो,’ नेविसंघ दाङ क्षेत्र नम्बर ३ का सचिव लेखनाथ बुढाथोकीले भने, ‘युवा शक्ति नै बाहिर भएपछि निर्वाचनमा सुखद परिणाम ल्याउने सपना देख्नु गलत हो ।’ उनले नेविसंघमा लामो समयदेखि क्रियाशील नेताहरूले अहिलेसम्म कुनै जिम्मेवारी पाउन नसकेको बताए । ‘पार्टीले युवा शक्तिलाई निर्वाचनमा परिचालन गर्नुपर्छ भन्ने चेतको विकास गर्न सकेन भने यस्ता हरेक निर्वाचन सुखद पक्कै बन्दैन,’ उनले भने, ‘कांग्रेस नेतृत्वले यसलाई गम्भीर भएर सोच्नु जरुरी छ ।’ 

पूर्वसांसद गेहेन्द्र गिरीले पनि भ्रातृ संगठनहरुलाई निर्वाचनमा परिचालन गर्न नसक्नु कांग्रेस नेतृत्वको ठूलो कमजोरी रहेको औंल्याए । ‘पार्टीको जरा र हाँगाबिँगा भनेकै उसका भ्रातृ संगठन हुन्,’ उनले भने, ‘जरा नै कमजोर भयो भने बोट कसरी जोगिन्छ ?’   

प्रकाशित: ३० आश्विन २०७४ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App