४ वैशाख २०८१ मंगलबार
राजनीति

दलहरूको तयारी भद्रगोल

काठमाडौं – राजनीतिक दलहरूले पर्याप्त आन्तरिक गृहकार्य नगर्दा समानुपातिकतर्फको बन्दसूची दर्ता भद्रगोल बनेको छ । आइतबार राति अबेरसम्म दलका नेताहरू निर्वाचन आयोग परिसर तथा कोठामा भेला भएर बन्दीसूचीलाई अन्तिम रुप दिने कोसिस गर्दै गरेको अवस्थामा भेटिए। 

राति साढे आठ बजे बहादुर भवनस्थित आयोगको परिसर पुग्दा चौरमा पाल टाँगेर बनाएको दर्तास्थलमा बसेका कर्मचारी राजनीतिक दलको प्रतीक्षामा देखिन्थे। 

‘कतिखेर सूची बुझाउन दलका प्रतिनिधि आउने हुन् । कतिखेर दर्ता गरेर सकिने हो थाहा छैन । न खान न सुत्नको ठेगान भो,’ एक कर्मचारीले गुनासो गरे, ‘सूची बनाएर यहाँ बुझाउन ल्याउनुपर्ने दलहरू यहाँ आएर नै सूची तयार गर्दै छन् ।’ ती कर्मचारीले ठूला दलहरू झनै भद्रगोल देखिएको बताए । निर्वाचन आयोगबाट प्रवक्ताबाहेक अन्य कर्मचारीलाई सञ्चार माध्यमसँग नबोल्ने निर्देशन भएको छ। 

निर्वाचन आयोगको परिसरमै दलहरू बन्दसूची तयारीमा जुटेको देखियो 

निर्वाचन आयोग भवनमै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र जस्ता राजनीतिक दलले उम्मेदवार बन्दसूचीलाई अन्तिम रुप दिँदै गरेका थिए। 

नेताहरू राति अबेरसम्म आयोग परिसरमै समानुपातिकतर्फको बन्दसूची तयारीमा जुटेका थिए । निर्वाचन आयोगले सूची बुझाउने समय आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म तोकेको थियो । राति नौ बजे प्रदेश नम्बर ६ का लागि  समानुपातिकतर्फको सूची तीनवटा राजनीतिक दलले मात्रै बुझाएका थिए । त्यो पनि नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृतले मात्रै नामावली बुझाएका थिए । सो प्रदेशमा ८२ वटा राजनीतिक दलहरूले सामनुपातिकतर्फ प्रतिस्पर्धा गर्न निवेदन दिएका छन्। 

विभिन्न प्रदेशसभा तथा संघीय प्रतिनिधिसभाका लागि सूची बुझाएर आएका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताले क्लस्टरहरू मिलाउने काम निकै झन्झटिलो भएको बताए । राजपा नेता केशव झाले अपांगता भएका व्यक्तिलाई उम्मेदवार बनाउन खोज्दै हैरान भएको बताए । ‘हामीले चार नम्बर प्रदेशबाहेकका प्रदेशसभा र संघीय प्रतिनिधिसभाका लागि नामावली बुझाएका छौं,’ झाले भने । सोही पार्टीकी महामन्त्री चन्दा चौधरीले जिल्लाबाट आएका सूचीका आधारमा समानुपातिक सूची बनाए पनि क्लस्टर मिलाउने काम निकै झन्झटिलो भएको बताइन्। 

आयोग परिसरमा राति अवेरसम्म राजनीतिक दलका नेता, कर्मचारी तथा सञ्चारकर्मीको चहलपहल थियो । आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फको मनोनयन दर्ता गर्न रातभर लाग्न सक्ने बताए । ‘५५ वटा राजनीतिक दलहरूले मनोयनका दर्ताका लागि टोकन लिएका छन् । आयोगका कार्यालयमै बसेर दलहरूले सूचीलाई अन्तिम रुप दिन कोसिस गरिरहनुभएको छ,’ ढकालले भने, ‘यो कामका लागि रातभर लाग्न सक्छ ।’ 

बन्दसूची तयार गर्न दलहरूभित्र पर्याप्त गृहकार्य देखिएको छैन । नेपाली कांग्रेसका नेता बन्द सूची बुझाउने समयमा अर्को सत्तासीन दल नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका लागि प्रधानमन्त्री निवास बालुवाटारमा थियो । 
अन्य राजनीतिक दलभन्दा व्यवस्थित र संस्थागत रुपमा सञ्चालन भएको दाबी गर्ने एमालेको पनि उस्तै अवस्था थियो । अध्यक्ष केपी शर्मा ओलीनिवासमा स्थायी कमिटीको बैठक आयोजना गरिएको थियो ।

‘बिहानै बैठक बोलाइएको भए पनि बस्न सकेन । अन्तिम समयमा हतार भयो भनेर निर्वाचन आयोगतर्फ सूची पठाउने काम भयो,’ एक स्थायी कमिटी सदस्यले भने, ‘सूची पनि हेर्न पाइ्रएन । अध्यक्षले अहिलेकै नाम बुझाउने र पछि यस विषयमा छलफल गरेर निर्णय लिने जानकारी गराउनुभएको छ । नेताहरूले छुट्टाछुट्टै गृहकार्य गरेको भए थाहा भएन । संस्थागत रुपमा भने काम भएको छैन ।’ पार्टीको आन्तरिक गृहकार्य गर्ने महासचिवका नेतृत्वमा रहेको सचिवालयका एउटा पनि बैठक बसेन । सचिवालयमा दुवै उपमहासचिव, पाँचसहित सदस्य छन् । 

एमालले तल्लो कमिटीहरूलाई समयसीमा तोक्दै केन्द्रमा नामावली पठाउन निर्देशन दिएको थियो। 

एमाले सचिव योगेश भट्टराईले दलहरूले आयोगले तोकेको समयभित्रै सच्याएर सूची प्रस्तुत गर्ने बताए । सूची सच्याउने समय एक साता हुनेछ । ‘प्रतिनिधिसभा र प्रदेशसभातर्फको पूर्ण सूची बुझाउने छौं । तर यो नै अन्तिम भने होइन । आयोगले तोकेको समयभित्रै सच्याइने छ,’ भट्टराईले भने, ‘यसमा पूर्ण रुपमा गृहकार्य हुने छ । प्रत्यक्षतर्फ टिकट प्राप्त गर्न नसकेको व्यक्तिसमेत समानुपातिमा पर्ने छन् ।’

प्रकाशित: ३० आश्विन २०७४ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App