coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डिभी सर्भर बन्द हुँदा पनि असुली जारी

काठमाडौं – सन् २०१९ का लागि अमेरिकाले खुला गरेको इडिभी (इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा) को लागि आवेदन भर्ने अनलाइन साइट (डिभी लोटरी डट स्टेट डट जिओभी) असोज २४ देखि नखुले पनि नेपालका कन्सलटेन्सीहरुले आफूखुसी फर्म भर्दै सर्वसाधारणबाट करोडौं रकम असुलिरहेका छन्। 

इडिभिको आधिकारिक साइट डाउन भएको एक साता पुगे पनि कन्सलटेन्सीहरुले पछि साइड खुला हुने आश्वासन दिँदै सर्वसाधारणलाई फर्म भराएर रकम लिइरहेका छन्।  

राजधानीको व्यापारिक केन्द्र न्युरोडको खिचापोखरीस्थित इ–स्पट नेपालले अहिले इडिभीको साइट डाउन भएपछि पनि दैनिक दुई सयजनाको फर्म भर्दै आइरहेको छ । यसका सञ्चालक राकेश वैद्यसँग सम्पर्क गर्न खोज्दा उक्त कन्सल्टेन्सीका काउन्सिलर बिज्रु मल्लले भेट्न नमिल्ने बताइन्। 

‘इडिभीको सर्भर डाउन भए पनि फर्म भरेका छौं । १९ देखि २१ अक्टोबरमा साइट खुल्ने कुरा छ । यसपछि हामी इन्ट्री गरिदिन्छौं,’ उनले नागरिकसँग भनिन्, ‘हामीले क्लियर भनेका छौं, सर्भर खुलेपछि भरिदिन्छौं । आवश्यक शुल्क लिएका छौं ।’ उनले साइट नखुले पैसा फिर्ता दिने, नदिनेबारे भने खुलेर बताइनन्। 

यसले एकजनाको इडिभी फर्म भर्दा दुई सय ५० रुपैयाँ लिने गरेको छ । परिवारको हकमा संख्याको आधारमा ६ सय रुपैयाँसम्म शुल्क लिँदै आएको छ । यसले न्युरोडका साथै टंगाल, कुमारीपाटी लगायत ठाउँमा इडिभी भर्ने कक्ष सञ्चालन गरिरहेको छ । इ–स्पटले डिभी फर्म भर्दा केही नियम परिवर्तन भएको भन्दै आफूले परिवर्तित नियम अनुसार फारम भरिदिने बहानामा सर्वसाधारणलाई झुक्याएको छ । जबकि दूतावासले डिभी भर्दाको नियममा यस वर्ष कुनै पनि परिवर्तन नभएको जनाइसकेको छ । सन् २०१९ को इडिभी फर्म असोज १८ मा खुलेको थियो । तर, एक महिना अघिदेखिनै यी कन्सल्टेन्सीहरुले बुकिङको नाममा सर्वसाधारणसँग दुई सय ५० देखि पाँच सय रुपैयाँ लिएर फर्म भर्दै आइरहेका छन् । 
न्युरोडमा रहेको अर्को कन्सल्टेन्सी इ–प्लानेट नेपालका सञ्चालक सुमन थापा मगरले पनि साइट बन्द भएपछि पनि २०१९ को इडिभी फर्म भरिरहेको बताए । प्लानेटले केही वर्षअघिदेखि न्युरोड, चाबहिल, बसुन्धारा, कोटेश्वर, बालाजु, गोंगबु र नेपालगन्जमा समेत कार्यालय राखेर इडिभी  भर्दै आइरहेको छ। 

नेपालमा प्रत्येक वर्ष करिब तीन लाख ५० हजारभन्दा धेरैले डिभी भर्दै आएका छन् । उनीहरुले फर्म भर्दा (परिवारसहित राखेर प्रतिव्यक्ति तीन सयका दरले हिसाब गर्दा ) १० करोड ५० लाख हाराहारी रुपैयाँ संकलन हुन्छ । 
अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन  असोज १८ (४ अक्टोबर) बिहान ९ः३० बजेदेखि खुल्ला गरेको थियो । तर, असोज २४ गते मंगलबार बिहान ७ः१५ देखि साइटको सर्भर डाउन भएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ कन्सुलर अफेयर्सका अनुसार सर्भर फेरि खुल्ने भएको छ । 
साइटको सीमित क्षमता हुने र क्षमताभन्दा माथि प्रयोगकर्ताले प्रयोग गर्न खोजेकाले वेबसाइटको सर्भरमा प्राविधिक समस्या देखिएको राजदूतावासले जनाएको छ। 

राजदूतावासले १८ अक्टोबर (कात्तिक १ गते) नेपाली समयअनुसार बेलुका ९ः४५ बजेदेखि आवेदन दर्ता गर्न सकिने जानकारी गराएको छ । डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम वार्षिक रुपमा अमेरिकी विदेश मन्त्रालयले सञ्चालन गर्ने चिट्ठा हो । यसअन्तर्गत वार्षिक करिब ५० हजार विदेशीलाई अमेरिकाले बर्सेनि आफ्नो मुलुकमा लैजाने गरेको छ । 

 

प्रकाशित: ३० आश्विन २०७४ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App