१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘चोरिएको’ बच्चाले पायो आमाको काख

जनकपुर- सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी ४० वर्षिया लिलादेवी साह ७ महिने बच्चा चोरेको आरोपमा शनिबार पक्राउ परिन्। चार छोरीकी आमा लिलाले ६ लाख रुपैयाँ खर्चेर भाडाको चोर परिचालन गरी धनुषा, कमला नगरपालिका –३ पर्साबाट सात महिने दूधेबालकलाई चोरेकी थिइन् । बालक चोरेको आरोपमा लीलासँगै सिरहा नगरपालिका –१० नरहियाका ३६ वर्षे दिलिपकुमार मण्डला र धनुषा, कमला नगरपालिका –२ बस्ने ४१ वर्षीय राधाकृष्ण मण्डल पनि पक्राउ परेका छन्।

कसरी चोरिए बालक ?

सिरहा, लक्ष्मीपुर पतारिकी लीलादेवी चार छोरीकी आमा हुन् । पति वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन् । पतिको कमाइ र घरायसी अवस्थाले लिलाको परिवार समाजमा ठिकैको आर्थिक हैसियत राख्छ । तर छोरा नहुँदाको पीडा भने छँदैछ।

छोरो जन्माउन उनले धार्मिक अनुष्ठान र धामीझाँक्री चहारे । कुनै सीप नलागेपछि पछिल्लो एक वर्षदेखि ज्यान फालेर छोरा प्राप्ति अभियानमा जुटिरहेकी थिइन् । आफैले जन्माउन नसके नक्कली भए पनि छोरोको भोक मेट्न उनले जतिसुकै मूल्य चुकाउन तयार रहेको निकटस्थले बुझ्न थालेका थिए ।

करिब साढे आठ महिनाअघि सिरहाका दिलीपकुमार मण्डल र लिलाबीच नक्कली छोराको बन्दोबस्ती गर्ने योजना बन्यो । उनीहरू दुवै दिल्लीतर्फ लागे । दिल्लीको अनाथ आश्रममा सहजै बच्चा पाउने सूचना उनीहरूले पाएका रहेछन् । त्यहाँ पुगेपछि करिब आठ महिनासम्म भएभरको आश्रम चाहारे । तर, कुनै बच्चा पाउने सम्भावना देखेनन्। अन्त्यमा दिल्लीमा भन्दा नेपालमै बच्चा पाउन सजिलो रहेको महसुस गरेर फर्के । सिरहा निवासी दुवैजना जयनगर आइपुगे । सीमावर्ती भारतीय बजार जयनगरबाट सिरहा नजिक भए पनि उनीहरू घर नगएर जनकपुर आइपुगे।

गत भदौ अन्तिम साता जनकपुर आइपुगेका उनीहरूले सिरहा नजिकैको तर धनुषा सीमामा पर्ने कमला नगरपालिकाका केही व्यक्तिसँग आफ्नो लक्ष्य सुनाए । दिलीप मण्डलको नजिकको नातामा पर्ने राधाकृष्ण मण्डल तथा दिलीपको सहयोगमा सम्भावित अन्य सहयोगीको पहिचान गरे। सोहीक्रममा भेटेका कमला नगरपालिका –३ पर्साका वीरे भन्ने वीरेन्द्र यादवले तीन लाख रुपैयाँ उपलब्ध गराए बच्चा व्यवस्था गरिदिने भनेपछि लीलाले वीरेलाई साढे दुईलाख दिएका थिए । तर, वीरेले बच्चा ल्याउन सकेनन् ।

असोज १२ गते राति करिब सवा १२ बजे आफ्नै घरको छतमाथि अन्य छोराछोरीसँगै सुतिरहेको अवस्थामा सुनिताको काखमै सुतिरहेका सात महिने शोबन चोरिए । जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंह र घटना अनुसन्धानमा सुरुदेखि सक्रिय खजुरी इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर होमप्रसाद अधिकारीका अनुसार वीरेलगायत गाउँकै केही व्यक्तिले शोबनलाई चोरी लिलालाई सुम्पेका थिए ।

यसरी भेटियो बालक

छोरा हराएको केही मिनेटमै सुनिता ब्यँझिन् । ओछ्यान वरपर छोरा खोजिन्, भेटिनन् । छतबाट झरेको हुनसक्ने शंका लाग्यो । कुनै जनावरले लग्यो कि भन्ने शंका लागेपछ उनी चिच्याउन थालिन् । टोलभरका छरछिमेक जम्मा भए । सबैले सक्दो खोज्ने प्रयास गरे । कतै नभेटेपछि बिहान नहुँदै पीडित परिवार इलाका प्रहरी कार्यालय खजुरी पुग्यो । त्यहाँ औपचारिक उजुरी पनि दियो । तर, प्रहरीले देखाउनुपर्ने जस्तो गम्भिरता देखाएन ।

छोरा गुमाएकी आमाले छोरा जीवित रहेकोसम्म आशा राखेकी थिइन् । छिमेकी जिल्लाबाट आएर पाल्नकै लागि छोरालाई चोरेका अनुमान लाउन सक्ने कुनै आधार नै थिएन । घटनाको करिब १० दिन बितेपछि उनकै आशंकामा प्रहरीले सोही गाउँका वीरे भन्ने वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएपछि घटनाको अनुसन्धान साँघुरियो ।

वीरेकै बयानका आधारमा राधाकृष्ण मण्डल पक्राउ परे पनि उसले केही भनेन । तर, प्रहरीले दिलीप मण्डलबारेमा सुइँको पाए र दिलीप पक्राउ पर्ने बित्तिकै धनुषा एंव सिरहा प्रहरीको संयुक्त टोली लिलाको घरमै पुगेपछि सात महिने शोबनलाई सकुशल आमाको जिम्मा लगाउन सफल भएको धनुषा प्रहरी प्रमुख एसपी सिंहले बताए ।

अहिले वीरे र शोबनलाई चोर्न मुख्य भूमिका निर्वाह गर्ने धनुषाकै नगराइन नगरपालिका, झिझाका बाला पासमान फरार छन् । सुरुमै पक्राउ परेका वीरेलाई  प्रहरीले मिलेमतोमै भगाएको आरोप पीडितपक्षको छ । प्रहरीले भने घटना अनुसन्धानको सुरुवातमा वीरेको स्पष्ट संलग्नता नदेखिएपछि तारेखमा राखेर अनुसन्धान अगाडि बढाएको र पछि सबै खुलेपछि ऊ फरार भएको जनाएको छ ।

 

प्रकाशित: २९ आश्विन २०७४ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App