८ वैशाख २०८१ शनिबार
कला

‘छक्का पन्जा’को डबल ह्याट्रिक

काठमाडौं- अघिल्लो वर्ष सर्वाधिक कमाइ गरेको फिल्म ‘छक्का पन्जा’ले राजधानीमा शुक्रबार साँझ आयोजना भएको ‘पाँचौं इनास अवार्ड’मा सर्वाधिक ६ विधामा अवार्ड पाएको छ । फिल्मका लागि वर्षा राउत ‘उत्कृष्ट सह–अभिनेत्री’, दीपाश्री निरौला ‘उत्कृष्ट नव–निर्देशक’, केदार घिमिरे ‘उत्कृष्ट हास्य कलाकार’, अञ्जु पन्त ‘उत्कृष्ट पाश्र्व गायिका’, राजनराज शिवाकोटी ‘उत्कृष्ट संगीतकार’ र कविराज गहतराज ‘उत्कृष्ट कोरियोग्राफर’ बने ।
अवार्डमा फिल्म ‘जात्रा’ले ‘उत्कृष्ट चलचित्र’को अवार्ड पोल्टामा पार्दा सो फिल्मकै नायक विपिन कार्की ‘उत्कृष्ट नायक’ र सम्पादक मित्र गुरुङ ‘उत्कृष्ट सम्पादक’ भए । त्यस्तै मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’का लागि मिलन ‘उत्कृष्ट निर्देशक’, नायिका दिया पुन ‘उत्कृष्ट नव–अभिनेत्री’ र संगीतकार ताराप्रकाश लिम्बू ‘उत्कृष्ट पाश्र्व गायक’ को दाबेदार बने ।
त्यस्तै फिल्म ‘डाइङ क्यान्डल’का लागि रविन आचार्य र दीपंकर सिग्देल ‘उत्कृष्ट छायांकन’, सिर्जना सुब्बा ‘उत्कृष्ट नायिका’, फिल्म ‘पुरानो डुंगा’का लागि माओत्से गुरुङ ‘उत्कृष्ट सह–अभिनेता’, ‘लभ लभ लभ’का लागि सुरज खड्का ‘उत्कृष्ट नव–अभिनेता’, ‘लुट २’ का लागि सौगात मल्ल ‘उत्कृष्ट खलपात्र’ र राजकुमार उप्रेती ‘उत्कृष्ट द्वन्द्व निर्देशक’, ‘घामपानी’का लागि दीपेन्द्र लामा ‘उत्कृष्ट पटकथा’ र ‘पलाँस’का लागि दयाराम पाण्डे ‘उत्कृष्ट गीतकार’ भए ।
कार्यक्रममा फिल्म ‘घामपानी’ र निर्देशक दीपेन्द्र के खनाललाई ‘उत्कृष्ट चलचित्र’ र ‘उत्कृष्ट निर्देशक’का रूपमा ‘जुरी अवार्ड’ दिइएको थियो । त्यस्तै फिल्म ‘तुइमति’, ‘दर्पणछाया २’, ‘नमस्ते नेपाल’ र ‘फन्को’लाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरियो ।
एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ दिइएको थियो । त्यस्तै, राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की, नृत्यांगना विमला श्रेष्ठलाई ‘इनास विशिष्ट सम्मान’ दिइएको थियो ।
अवार्डमै अनलाइन खबर डटकमका पत्रकार विजय सुवेदी ‘आवाज’, ठूलोपर्दा डटकममा जीवन पराजुली र रेडियोकर्मी लोकराज अधिकारीलाई जनही १० हजार रुपैयाँ राशीको ‘सक्रिय पत्रकारिता पुरस्कार’ दिइएको थियो । यस्तै रेडियो अडियोका अमितचन्द्र अधिकारीलाई ‘इनास सम्मान’ प्रदान गरियो ।

प्रकाशित: २९ आश्विन २०७४ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App