coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

एमाले दिल र कांग्रेसी खेल

यतिखेर देश चुनावमय छ । कांगे्रस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उनको कार्यकालसँग छायाँका रूपमा जोडिएर आउने भवितव्य, प्रतिगमन, दुर्घटना, बांगो नियत वा षड्यन्त्रको शंका र संशय पनि यथावतै छ । मिलेका वामपन्थी र तर्सिएका कांग्रेस, दुवैका कारणले राजनीतिको सरल रेखीय यात्रा अक्षुण्ण र अप्रभावित नहुने हो कि भन्ने चिन्ता जनमानसमा व्याप्त छ ।

फोनमा मौजुद रहेको सेवा, सामथ्र्य वा गुणले घडी, रेडियो, टिभी, क्यालकुलेटर, फोन र फ्याक्सको बजार एकैसाथ संकटमा पर्नुमा फोनको दोष नरहेजस्तै देशभक्त हुन राजभक्त हुनैपर्ने, लोकतन्त्रवादी हुन कांग्रेस हुनैपर्ने र क्रान्तिकारी हुन हतियार उठाउनैपर्ने जडता तोड्नुमा एमालेको दोष छैन ।

खास गरी पाँच जना पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी ओली, एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति अध्यक्ष बाबुराम भट्टराई (हाल भट्टराई बेग्लै भए) एउटै चुनावी मोर्चामा उभिएको यो राजनीतिक परिदृश्य नेपालको इतिहासमा अभूतपूर्व घटना हो । बिहानीले दिउँसोलाई जनाउँछ । प्रगतिशील, देशभक्त र लोकतन्त्रवादीहरूको यही गठबन्धनले चुनावमा सुविधाजनक बहुमत पाउनेछ र आगामी दशकमा नेपालको बागडोर कुशलतापूर्वक समाल्ने छ । एमालेको पहलमा कांगे्रसलाई गृह निर्माणमा सहकार्यका लागि आह्वान गरिनेछ । किनकि राजनीतिक स्थिरताका खातिर राष्ट्रिय सरकार आवश्यक छ । एकता कसैका विरुद्ध छैन भन्नुका पछाडि कांग्रेसको भयले नभई चौडा छाती र खुला दिलले काम पाएको देखिन्छ । एमालेको उद्धारमा बाँच्नुभन्दा कांगे्रसले बग्नु वेश ठानेको खण्डमा बाहेक एमालेको शब्दकोशमा संकीर्णतालाई स्थान रहनेछैन । सम्मानित प्रतिपक्षको स्थानमा कांग्रेस रहनेछ । जनताको निगरानी र प्रतिपक्षको खबरदारीमा रहेर वामपन्थीहरूले मुलुकको समृद्धि र राष्ट्रिय स्वाभिमान रक्षाको कार्यभार पूरा गर्नेछन् । अहिले प्रश्नहरू खडा छन् कि किन एमाले आफूप्रतिका भ्रम चिर्दै सबैको विश्वास जितेर महानायकीय भूमिकामा पुगेको छ र किन कांगे्रस राष्ट्रिय राजनीतिको मियो हुने गरेको विरासतको रक्षा गर्ने सामथ्र्थ गुमाएर लक्ष्यवर्ती राजनीतिको बाटोमा काँडो बन्न अग्रसर छ ? किन एमालेले विराट् सम्भावनाको भू्रण बोक्न सकेको छ र किन कांग्रेस बेत सुकेको बूढी गाई जस्तो ऊर्जाशून्य र अमर्कण्य बनेको छ ? यी सबै प्रश्नको उत्तर जान्न एमाले दिल र शीलसम्म पुग्नुपर्ने हुन्छ र कांग्रेसले पस्किँदै आएका युगदेखि युगसम्मको संकीर्णता र कृतघ्नताको पराकाष्ठाको शृंखला हेर्नुपर्ने हुन्छ ।  

‘महान् साम्राज्य ठूला ठूला प्रतिमा र उचा उचा आशनले बन्दैन बरू एक महान् हृदयले बन्ने गर्छ ।’ एसएस राजामौलीद्वारा निर्देशित साउथ इण्डियन चलचित्र बाहुबलीकी पात्र देवसेनाको यो कथन आजको सन्दर्भमा राष्ट्र, शक्ति केन्द्र र दलको हकमा निर्विवादरूपले लागू हुन्छ । पृथ्वीनारायण शाहको विशाल हृदयले यो देशको भौगोलिक एकताको आधार खडा भएको हो । विश्वेश्वरप्रसाद कोइरालाको साधनाको बलमा कांग्रेस उठ्नु र मदन भण्डारीको मति, गति र सरस्वतीको पोषण पाएर एमाले जनजनमा स्थापित हुनु नेपालको भावनात्मक एकताको आधारशिला हो । परिपक्व राजनीतिक दलहरू नै कुनै पनि देशका लागि अटल सौभाग्यका सूचक हुन् । सत्य यस्तो भए पनि बिपीको शेषपछिको कांग्रेस र कोइराला परिवारमा विचार र आदर्श, इमान र जमान, त्याग र दूरदर्शिताको खडेरी देखियो । कांग्रेसको मूल चरित्र अन्य दलहरूसँग भाइचारापूर्ण सम्बन्धभन्दा उपयोगितावादी, खुला मिजासभन्दा अहंकारी, उदार होइन मुनाफामुखी रहँदै आएको छ । कोइराला परिवारले कांग्रेसभित्रका टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, शेरबहादुर देउवालाई अपमान ग¥यो । आज देउवाको नियत पनि रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि, कुलबहादुर गुरुङमाथि अनुकूल, असल र उत्प्रेरित पार्ने खालको नभई उपयोगितावादी, दमनकारी र दोहनकारी नै देखिन्छ । आफू पाँच पटक दोहरिनुभन्दा अरू कसैलाई भावी प्रधानमन्त्री घोषणा गर्ने दिल, दिमाग र दूरदर्शिता देउवामा देखिँदैन । जहिले पनि अन्य सहकर्मी र दलहरूलाई आफ्नो अभीष्ट सिद्ध गर्नका खातिर खेताला बनाउनु कांग्रेस नेताहरूले बसालेको खराब संस्कार हो ।
 एमाले कांग्रेसभन्दा पृथक् स्वभावको छ । नायकमा पाइने सुगन्ध भनेको मिल्नेसँग नौनीको डल्लो र चिल्नेसँग बिच्छीको चल्लो हुनसक्ने सामथ्र्य हो । महेन्द्रकालीन पञ्चायतको बेला हतियार उठाउनु तर कमजोर राप्रपासँग हात मिलाउनु; बहुमतको दम्भले मात्तिएको कांग्रेससँग पौँठेजोरी खेल्नु तर ३७ सिटमा खुम्चिँदा निराश हतास कांग्रेसलाई काँध थाप्नु; हतियार बोकेको माओवादीको गर्दन थापेर सामना गर्नु र सेनापति काण्डका बेला उत्कर्षमा रहेको माओवादीसँग दुस्मनी साँधेर लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिनु तर त्यही माओवादी २५ सिटमा झरेको बेला सहकार्य र एकताका लागि दिल खोलेर अग्रसर हुनुले एमाले कसैको पनि दुःखको बेलाको एम्बुलेन्स हो र उन्मादको बेला नशा उतारिदिने पहलमान हो भन्ने प्रस्ट हुन्छ । एमाले आफू भला त जगत् भलाको आचारसंहितामा विश्वस्त छ । अरूलाई दोष दिनु समयको बर्बादी हो, बरू राम्रो म हुने प्रयास गर्नुपर्छ । दिल, शील र मेल नै शक्तिको मुहान हो ।
यो एमाले मर्यादा कांग्रेसलाई सह्य र स्वीकार्य छैन । मर्यादामा रहेको एमाले कांग्रेसको चुनौती बनेको छ र बेचैनीको विषय पनि । सत्यसँगको दुस्मनी आज कांग्रेसलाई भारी पर्दैछ । आगोको राप र ताप छोप्न खोज्दा रातो हाँडी कालो भएजस्तै एमालेप्रतिको ईष्र्या र जलनले कांग्रेसमा खिया लाग्दैछ । कांग्रेससँग देशका निम्ति जीवन आहूति दिने सहिदको वीरगाथा कम छैन । विरासत र जनमतले साथ नदिएकाले एमाले सामु तल पर्नुप¥यो भनेर रोइलो गर्ने अवस्था पनि छैन । छिमेकीको वव्रmदृष्टि वा विश्व भूराजनीतिक खेलको सिकार भएर पतन भइयो भनेर उम्किने बहाना पनि कांग्रेससँग छैन । एमाले अध्यक्ष केपी ओलीले एकैसाथ पृथ्वीनारायण शाह, विश्वेश्वरप्रसाद कोइराला र मदन भण्डारीको विरासत रक्षा गर्ने इमानदार प्रयास गर्नु र त्यसमा जनता जनार्दनको सराहनीय साथ रहनुलाई कांग्रेसले आफूविरुद्ध युद्धको घोषणा ठानेर अर्घेल्याइँ गर्दैछ । फोनमा मौजुद रहेको सेवा, सामथ्र्य वा गुणले घडी, रेडियो, टिभी, क्यालकुलेटर, फोन र फ्याक्सको बजार एकैसाथ संकटमा पर्नुमा आई फोनको दोष नरहेजस्तै देशभक्त हुन राजभक्त हुनैपर्ने, लोकतन्त्रवादी हुन कांग्रेस हुनैपर्ने र क्रान्तिकारी हुन हतियार उठाउनैपर्ने जडता तोड्नुमा एमालेको दोष छैन ।
यसप्रति असहमति, अरुचि छ र प्रतिवाद गर्नु नै छ भने जनता गुहार्नुपर्नेमा देशीविदेशी प्रभु गुहारेर कांग्रेस आफ्नै पतनलाई निमन्त्रणा कार्ड पठाउँदै छ । एमालेले माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने क्रममा जबज निर्माण ग¥यो । कांगे्रस समाजवादमाथिको बहस छाडेर लम्पसारवाद सुदृढ पार्दैछ । राणा, राजा, पञ्चायत र माओवादीमाथि आरोप लगाउनासाथ प्रभुहरूको निगाहा भएर झोली भरिएकाले कांग्रेसको बानी बिग्रिएको छ । सामान्य र सहज अवस्थामा पार्टीले प्रतिस्पर्धामा खरो उत्रनुपर्ने हुन्छ । विदेशको धाप, छाप र आशीर्वादले पार लाग्दैन । स्वच्छ प्रतिस्पर्धा, जनसेवाको राजनीति र विकास राजनीतिमा कांग्रेस आफूलाई ओभानोमा परेको माछा ठान्छ र नाफामुखी भएकाले तिललाई पहाड बनाएर हस्तक्षेप निम्त्याउन अभ्यस्त छ । अहिले पनि एमालेमाथि आरोप लगाउने चेष्टा जारी छ । शान्ति प्रक्रियामा आएको माओवादी भड्किने खतरा टरेकोमा हर्ष मान्नु त कता हो कता ? वामपन्थी एकतामा संविधान कार्यान्वयनमा खतरा देखेर सिस्नोले चिलेन पातीले चिल्योको मन्तर फुकिँदै छ । त्यही माओवादीलाई आफूले एमाले ताछ्ने बन्चरो बनाउन मिल्ने, दुई वाम एक ठाम हुँदा आकाश खस्यो, धरती फाट्यो जस्तो गरी कोकोहोलो मच्चाएर विदेशी गुहारिहाल्ने दोहोरो मापदण्ड जनतालाई थाह छ ।
 जबजको पथप्रदर्शनमा हिँडेको एमालेले यथास्थिति, असमानता र हिंसाको चंगुलबाट राजनीतिलाई सुरक्षित अवतरण गराएपछि राजावादी, लोकतन्त्रवादी र क्रान्तिकारी शक्तिहरू आफैँ दुई भागमा विभक्त देखिन्छन् । राजावादीहरूको इमानदार पंक्ति आज एमालेको देशभक्तिको मुक्तकण्ठले प्रशंसा गर्छ भने एक पंक्ति एमाले विरोधी बलियो मोर्चाको पर्खाइमा देखिन्छ । कांग्रेसभित्रको एक तप्का एमालेको लोकतन्त्रका प्रतिको अटल निष्ठामा हर्षित छ र फेरि लोकतन्त्रका लागि लड्नु नपर्ने अवस्था आएकामा पुलकित छ । कम्युनिस्टहरूको ठूलो पंक्ति एमालेसँग सहकार्य र एकताको संघारमा उभिएर सुखैसुख नदिए पनि सुखदुःख जिउँला साथैमा–को मुडमा छ भने सत्यलाई ढिलो आत्मसात् गर्ने कुलत बसेको छिटफुट हिस्सालाई उसैको आग्रह भारी परेको देखिन्छ ।
एमालेको उदयमा कसैको नराम्रो छैन । बिपी र पुष्पलालको जीवन संघर्षमै बित्यो । एमालेको दिल थियो, त्यसैले त कृष्णप्रसाद, गिरिजाप्रसाद, शेरबहादुर देउवा र सुशील कोइरालाले चढ्नलाई बलियो काँध पाए । माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन गिरिजाप्रसादले देखाएको सदाशयता त त्यसअघि कांगे्रसले एमालेप्रति गरेको कृत्य शृंखलाप्रतिको प्रायश्चित्त मात्र थियो । शान्ति, समृद्धि र स्वाभिमान जनताको चाहना हो । जनताको अगुवा भएकाले एमाले कार्यभार वहन गरेको मात्र हो । एमालेका प्रतिको अनावश्यक शंका, ईष्र्या र पिछा जीवनको आखिरीमा सुशील कोइराला र सिंगो कोइराला क्याम्पलाई निकै महँगो साबित भयो । समय छँदै गल्ती नसच्याएमा देउवा र पौडेललाई पनि एक दिन न्याउरी मारी पछुतो हुनेछ । कांग्रेस काँचो अन्न र जिउँदो मान्छे आज नभए भोलि काम लाग्छ भन्ने ज्ञान नभएको पार्टी हो । अन्तिम घडीमा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको घाँटीमा पानी हाल्ने एमाले नै भएजस्तै भोलिका दिनमा देउवा र पौडेलहरूको बुढेसकालको सहारा पनि एमाले नै हुनेछ । त्यसैले कोकोहोलो मच्चाउनु र रोइलो गर्नुका पछि कुनै तर्क र औचित्य छैन ।

प्रकाशित: २९ आश्विन २०७४ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App