coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समानुपातिक बन्दसूची आज

काठमाडौं- प्रतिनिधिसभा र प्रदेसभाका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउने कार्यक्रम छ । बन्दसूची बुझाएसँगै औपचारिक रुपमा चुनावी प्रक्रिया सुरु हुनेछ ।
निर्वाचन आयोगमा दर्ता भई समानुपातिकतर्फ ८८ वटा दलले चुनाव चिह्न लिइसकेका छन् । निर्वाचन आयोगले आइतबार बन्दसूची बुझाउन र कात्तिक ६ सम्म त्यसमा संशोधन गरी पेस गर्ने समय दिएको छ । राजनीतिक दलहरू आइतबार उम्मेदवारको प्रारम्भिक बन्दसूची तयार गरी पछि संशोधन गर्ने मनस्थितिमा छन् ।
समानुपातिक सूचीको अन्तिम टुंगो लगाउन शनिबार साँझसम्म एमाले स्थायी समितिको बैठक बस्न सकेको छैन । बिहीबार बसेको बैठकमा प्रारम्भिक छलफल भएको सचिव योगेश भट्टराईले बताए । पछि संशोधन गर्नेगरी आइतबार प्रारम्भिक सूची पेस गरिने उनले बताए ।
समानुपातिकतर्फ ५० प्रतिशत महिलासहित दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व हुनेगरी बन्दसूची तयार गर्नुपर्ने बाध्यताले दलहरूलाई असजिलो भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन प्रक्रिया भदौ २४ बाट सुरु भएको हो । ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको निर्वाचन कार्यतालिका प्रकाशित भएपछि औपचारिक प्रक्रिया सुरु भएको हो’, उनले भने, ‘समानुपातिकतर्फ कुन–कुन प्रदेशबाट कति दलले भाग लिने भन्ने निक्र्योल भइसकेपछि दलहरूलाई चुनाव चिह्न दिइसकेका छौं । आइतबार दलहरूले सूची पेस गर्दैछन् ।’  
प्रतिनिधिसभाका लागि समानुपातिक सूची तयार गर्दा दलित १३.८, आदिवासी जनजाति २८.७, खस आर्य ३१.२, मधेसी १५.३, थारु ६.६ र मुस्लिम ४.४ प्रतिशत तोकिएको छ । प्रदेशसभाका लागि जनसंख्या र जातीय आधारमा प्रतिशत तोकिएको छ ।
प्रत्यक्ष उम्मेदवारले २५ लाख खर्चिन पाउने
निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्पmका उम्मेदवारलाई गोष्ठी र अन्तरक्रियामा ८ लाख रुपैयाँसहित २५ लाखसम्म खर्च गर्न पाउनेगरी खर्चको सीमा तोकिदिएको छ । त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष उम्मेदवारले १५ लाख रुर्पयाँसम्म खर्च गर्न पाउने छन् । चुनावमा जित्ने निहुँमा जथाभावी खर्च रोक्न आयोगले खर्च सीमा तोकेको हो ।
समानुपातिकतर्फ संघीय संसद्का उम्मेदवारले जनही २ लाख रुपैयाँसम्म र प्रदेशसभा समानुपातिक उम्मेदवारले जनही एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेगरी आयोगले सीमा तोकिदिएको छ ।

प्रकाशित: २९ आश्विन २०७४ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App