७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रभावशाली नेताको घर धाउँदै आकांक्षी

बागलुङ- स्थानीय निर्वाचन मार्फत सिंहदरबार गाउँमा पुगेको भनिए पनि राजनीतिक दलहरुले त्यो संस्कारलाई लागू गर्न सकेका छैनन्। मुलुकमा संघीयताको अभ्यास भैरहँदा दलहरुको केन्द्रीकृत अभ्यासमा लिप्त छन्। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लाबाट केन्द्रमा नाम सिफारीस भएपछि नेताहरु राजधानीमा प्रभावशाली नेताहरुको घर धाउन सक्रिय छन् । क्षेत्रीय समितिले उम्मेदवार बन्न चाहाने आकाँक्षीको निवेदन संकलन गर्ने र जिल्ला समितिले त्यसलाई अनुमोदन गरी केन्द्रमा पठाउने बाहेक अन्य काम यहाँ भएको छैन। उम्मेदवार छनोटको अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने भएपछि सबै आकाँक्षीहरुको नाम केन्द्रमा जस्ताको त्यस्तै सिफारीस गरी पठाएको नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेल बताउँछन्।

 यहाँका नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलहरुको पनि अवस्था उस्तै छ । काँग्रेसमा उम्मेदवार आकाँक्षीको संख्या एक सयको हाराहारीमा छ भने अन्य दलहरुमा केही कम छन्। उम्मेदवारको आकाँक्षा देखाएर सिफारीसमा परेका जिल्लाका अधिकांश दलका नेताहरु अहिले राजधानी केन्द्रित हुन थालेका छन। जिल्ला कमिटीबाट सिफारीस भएर आएका दलका उम्मेद्वारहरु टिकट आफ्नो हात पार्न भन्दै राजधानी हानिएका हुन । जिल्लाबाट सिफारीस भएर आएका उम्मेद्वारका नामावली केन्द्रमा पठाइए पछि निर्वाचनमा टिकट आफ्नो पक्षमा पार्न लभिङ गरिरहेका छन । जिल्लाबाट प्रतिनिधि र प्रदेश सदस्यमा उम्मेद्वार सिफारीसमा परेका दलका नेताहरु आफु निकट मन्त्री, नेता तथा प्रभावशाली व्यक्तिहरुलाई भेट्न भ्याइ नभ्याइ छ । दलनिकट स्रोतका अनुसार व्यक्तिगत वा सामुहिक रुपमा भेट्नेक्रमलाई नेताहरुले तीव्रता दिएका छन।

 सकेसम्म र आफै र आफु नभए पनि आफु निकट व्यक्तिलाई उम्मेदवारको टिकट दिलाउन दौडधुप बढिरहेको बताईन्छ । ‘जनअनुमोदित भएर जनताको सेवा गर्नकै लागि राजनीतिमा लाग्ने हो,’ उम्मेदवारको होडमा रहेका एक नेताले भने,‘यो बेलामा टिकट आफ्नो पक्षमा पार्न लबिङ र भेटघाट हुनुलाई सामान्य अर्थमा लिनुपर्छ ।’  मंसिर १० र २१ गते हुने प्रतिनिधी र प्रतिनिधि सभाको निर्वाचनका लागि खासगरी प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका जिल्ला नेताहरु राजधानी गएका हुन । उनीहरु अहिले गुटगत रुपमा आफ्नो पक्षमा टिकट हात पार्न चर्को लबिङमा छन् ।

आसन्न निर्वाचनमा उम्मेदवार आकाँक्षी देखिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसदहरु रत्ना शेरचन, राज्यमन्त्री चम्पादेवी खड्का, सांसद प्रकाश शर्मा पौडेल, ज्ञानकुमारी छन्त्याल, पूर्व सासंदहरु नरबहादुर पुन ‘निरज’, पूर्व सांसद टंकप्रसाद कँडेल,पार्टी सभापति दीपेन्द्रबहादुर थापा, पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, मणिभद्र शर्मा कँडेल, नेपाल महिला संघकी केन्द्रिय सदस्य पार्वती आचार्य, काँग्रेस जिल्ला सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम, नेताहरु ओमकार थापा, जगदीशचन्द्र उपाध्याय, नेविसंघ सह—महामन्त्री हरिहर शर्मा, काँग्रेस क्षेत्रीय सभापतिहरु चिरञ्जीवी गौतम, नारायण शर्मा पौडेल, दोर्ण कुँवर लगायतका जिल्ला नेताहरु राजधानी पुगेका छन्।

 एमाले बागलुङबाट उम्मेदवार सिफारीस भएकाहरु पनि अहिले राजधानीमै छन्। जिल्ला तहका अधिकाँस नेताहरु अहिले काठमाडौंमा एमाले कार्यकर्ता बताउँछन्। एमालेमा पनि क्षेत्र, जिल्ला र प्रदेश समिति हुँदै उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकारी स्थायी कमिटीमा पुगेको छ । एमालेबाट वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी, गोविन्द नेपाली, अध्यक्ष ईन्द्रलाल सापकोटा, पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा, नेताहरु हिराबहादुर केसी, सूर्य पाठक ममतादेवी शर्मा, गिता शर्मा, शान्ति अधिकारी र सावित्रा राना लगायत अन्य सिफारीसमा परेका उम्मेदवारहरु आकाँक्षी राजधानी पुगेका छन् । उम्मेदवारीको होडमा लागेका जिल्ला तहका नेताहरु दैनिक जसो कुनै न कुनै केन्द्रीय नेतालाई भेटिरहेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन् ।

जनताको काम गरेर यहाँको उम्मेदवार बन्नुको साटो नेताहरु रिझाएर उम्मेदवार बन्ने चलन बढेको भन्दै सामाजिक सञ्जालमा चिन्ता समेत जाहेर हुन थालेको छ। गाउँमा गएर जनताको काम गरेको तस्विर राख्लान् भन्दा नेताको सेवा गरेको तस्विर राखेका छन् भनेर सामाजिक सञ्जालमा टिप्पणी समेत हुन थालेको छ। २०७० को संविधानसभा निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा क्लीन स्वीप गरेको नेपाली काँग्रेसलाई यस पटक विरासत जोगाउन निकै ठूलो संघर्ष गर्नुपर्ने देखिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र केन्द्रस्तरबाटै चुनावी तालमेल गरेर जाने सहमती गरेपछि काँग्रेसलाई जनमोर्चा लगायतका दलहरुलाई साथमा लिनुपर्ने बाध्यता सिर्जना भएको छ । यद्यपी राष्ट्रिय जनमोर्चा बाम गठबन्धनको नजिकजस्तो पनि देखिएको छ । यसबारेमा राष्ट्रिय जनमोर्चाले अन्तिम निर्णय गरिसकेको छैन। जिल्लामा मतदाता आफ्नो पक्षमा पार्न लाग्नुपर्ने बेला नेताहरु राजधानीमा टिकटको तानातानीमा लागेको भन्दै कार्यकर्ताहरुले असन्तुष्टी समेत व्यक्त गर्न थालेका छन्।  

प्रकाशित: २८ आश्विन २०७४ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App