७ वैशाख २०८१ शुक्रबार
समाज

जग्गा विवादमा दाजुभाइको हत्या, एक घाईते

बाजुरा- जग्गा बाँडफाँटको विषयलाई लिएर दुई दाजुभाइको हत्या भएको छ भने एक जना घाईते भएका छन्। त्रिवेणी नगरपालिका–८ का मोहन गिरी र गोरख गिरीको परिवारबीच जग्गा विवादले उग्ररुप लिँदा दुई जनाको हत्या भएको हो।

गोरख गिरीका छोरा २० वर्षका योगेन्द्र गिरी र १६ वर्षका दिनेश गिरीले खुँडा, खुकुरी र जिआईपाईपको प्रयोग गरी मोहन गिरीका छोरा ३२ वर्षका अर्जुन गिरी र २७ वर्षका नौले गिरीको हत्या गरेको प्रहरीले बताएको छ। अर्का २१ वर्षका छोरा नरेश गिरी गम्भीर घाईते भई फालासैनमा उपचार भईरहेको प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले बताए। बुबा मोहन गिरीको पनि टाढाबाट हानेको ढुंगा लागेर टाउकोमा चोट लागेको छ।

मोहन गिरी र गोरख गिरी सहोदर दाजुभाइ हुन् । एउटै बाबुका सन्तान उनीहरुबीच विगतदेखि जग्गा बाँडफाँटमा कुरा नमिलेकोले पारिवारीक विवाद हुँदै आएको विषयलाई लिएर घटना भएको हो।

खुकुरी खुँडाको प्रहारबाट गम्भीर चोट लागेका अर्जुन गिरीको उपचारका लागि लिँदै गर्दा बीच बाटोमा मृत्यु भएको थियो । भने नौले गिरीको घटनास्थलमै मृत्यु भएको हो । नौलेका शरिरका अंग समेत अगल बनाएर हतियारले छेदबिच्छेद पारी विभत्स ढंगबाट हत्या भएको छ।

भनाभन हुँदै गर्दा एकाएक खुँडा, खुकुरी ल्याएर उनीहरू माथि प्रहार भएको थियो। हत्यामा संलग्न बुबा गोरख गिरी, छोराहरु योगेन्द्र गिरी, दिनेश गिरी र गणेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ। गणेश विहान फरार रहेका थिए । उनलाई बडिमालिका नगरपालिकाको रापकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

बंश नै नाश गर्ने गरी सिंगो परिवारको नै हत्या गर्ने योजना सहीत घटना घटाईएको हुन सक्ने अनुमान गरिएको छ। दुबै दाजुभाइका घरपनि सँगै जोडिएका छन्। घटना शनिबार विहान ७:२० बजेतिर भएको थियो।

यतिबेला प्रहरी टोली घटना स्थलमा रहेको छ । एक टोलीले संलग्नहरुलाई समातेर मार्तडी आएको छ। भने अर्को टोलीले घटनाबारे अध्ययन गरिरहेको निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले बताए।

प्रकाशित: २८ आश्विन २०७४ ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App