वाम हो, वाम होइन

शनिबार, २८ असोज २०७४, १० : ०० सुरेश किरण

गएको हप्तादेखि राजनीतिमा एउटै कुराको चर्चा छ– वाम एकता । जहाँ गए पनि वाम एकताकै कुरा । वाम एकता देशमा यसरी चर्चामा आएको छ, मानौँ गएको दुई हप्तादेखि देशमा वाम एकताबाहेक अरु केही भएकै छैन । भएकै छैन के भनौँ, केही सानातिना घटना भएका छन् । तर, वाम एकताको सामु त्यो कुनै उल्लेखनीय घटना होइन । जस्तो कि राजधानीमा दिनदहाडै एक निर्माण व्यवसायीको हत्या भयो । त्यो कुनै ठूलो घटना होइन, खासगरी वाम एकताको सामु । कमल थापा पनि देउवाको सरकारमा आउने भए, यो पनि कुनै ठूलो घटना होइन, वाम एकता सामु ।

आफूमा अलिकति बढी वामपन्थ आउनेबित्तिकै अरुलाई दलाल, नोकरशाही, सामन्तवादी, साम्राज्यवादी, प्रभुत्ववादी देखिहाल्छन् । अनि, त्यस्ता दलाल, नोकरशाही, सामन्तवादी, साम्राज्यवादी, प्रभुत्ववादीसँग बस्न सक्दैनन् । र, छुट्टिएर अर्को पार्टी खोलिहाल्छन् । जो जति धेरैपटक फुटेको छ, त्यो त्यति नै असली वामपन्थी हो ।

वाम एकताजस्तो महŒवपूर्ण घटना भइरहेकै अवस्थामा केही बुद्धिजीवीले यो वाम एकताको कडा आलोचना गरेको पनि पाइयो । उनीहरूको तर्क रहेछ, यो कुनै वाम एकता होइन । किनभने एकता गर्ने तीन पार्टी जो छन्, उनीहरू वामपन्थी नै होइनन् । जो वामपन्थी नै होइनन्, उनीहरूको एकतालाई कसरी वाम एकता भन्ने ?
अहिले विवाद यतातिर आएको छ । यथार्थमा यो विवाद गरिरहनपर्ने विषय भने होइन । किनभने अहिले एकता गर्ने तीन पार्टी वामपन्थी होइनन् भन्ने कुरो त उनीहरूले एकता गरेबाटै थाहा भइसक्यो नि । वास्तवमा उनीहरू वामपन्थी नभएकै कारण यो एकता सम्भव भएको हो । वामपन्थी भएको भए यस्तो एकता हुन्थ्यो ? यो पार्टी एकता हुनु नै उनीहरू वामपन्थी नहुनुको प्रमाण हो ।
वामपन्थीको एकता र विभाजनको परम्परा हेर्नुस् । वामपन्थी वामपन्थी रहुन्जेल एकता हुँदैन । जब वामपन्थ त्यागेर अन्तको पन्थ समाउँछ, तब एकता हुन्छ । अहिले पनि त्यही भएको हो । जबसम्म उनीहरू वामपन्थी रहे, तबसम्म एकता सम्भव भएन । अब वामपन्थी रहेन, तब एकता पनि सम्भव भयो ।
नेपालमा वामपन्थीको इतिहास भनेकै फुटको इतिहास हो पनि भनिन्छ । विज्ञ इतिहासविद् त यही भन्छन् । नेपालमा वामपन्थीले अहिलेसम्म केही गरेको छ भने यही फुट्ने काम मात्रै गरेको छ । जतिजति उनीहरू वामपन्थी हुन्छन्, त्यतित्यति नै बढी फुट्ने गर्छन् । आफूमा अलिकति बढी वामपन्थ आउनेबित्तिकै अरुलाई दलाल, नोकरशाही, सामन्तवादी, साम्राज्यवादी, प्रभुत्ववादी देखिहाल्छन् । अनि, त्यस्ता दलाल, नोकरशाही, सामन्तवादी, साम्राज्यवादी, प्रभुत्ववादीसँग बस्न सक्दैनन् । र, छुट्टिएर अर्को पार्टी खोलिहाल्छन् । जो जति धेरैपटक फुटेको छ, त्यो त्यति नै असली वामपन्थी हो । अहिलेसम्म नेपाली वामपन्थमा भएकै यही हो । अनि यही नै नेपाली वामपन्थीको इतिहास हो ।
तर अहिले एकता गरेका एमाले र माओवादीलाई हेर्नुस् । उनीहरू आफ्नो इतिहास बिर्सेर एकता गरिरहेका छन् । जसले आफ्नो इतिहास बिर्सन्छ, उसले आफ्नो देश पनि बिर्सन्छ । जसले आफ्नो देशै बिर्सन्छ, त्यसलाई कसरी वामपन्थी भन्ने ? वास्तवमा आफ्नो इतिहास बिर्सेकै कारण उनीहरू वामपन्थी होइनन् भन्ने पुष्टि हुन्छ ।
उनीहरू वामपन्थी होइनन् भनेर पुष्टि गर्ने अरु पनि केही प्रमाण छन् । जस्तो, उनीहरू वामपन्थी भएको भए एकता गर्न बहस चलाउनैपर्ने केही मौलिक विषय छन्, जसमा सहमति नगरी वामपन्थीहरूको कुरै अघि बढाउन सकिँदैन । जस्तो कि, चीन समाजवादी देश हो कि साम्यवादी देश हो ? यसमा बहस हुनैपर्छ । यदि यसमा कुरा बाझियो भने एकता हुँदैन । त्यस्तै, भारत साम्राज्यवादी मुलुक हो कि विस्तारवादी मुलुक ? यसमा पनि मतैक्य हुनुपर्छ । नभए एकतै हुँदैन । क्युबाले अमेरिकासँग सम्बन्ध बढाएको ठीक हो कि गलत ? पेरुका कम्युनिस्ट नेता गोन्जालो जेलमै बस्नुपर्छ कि बाहिर निस्कनुपर्छ ? उत्तर कोरियाले क्षेप्यास्त्र हान्दा पश्चिमतिर हान्नुपथ्र्यो कि दक्षिणतिर हान्नुपथ्र्यो ? यी जम्मै कुरामा मत मिल्नैपर्छ । मत मिलेन भने एकता पनि मिल्दैन ।
बरु नेपालको आफ्नै विषयमा भने कुरा मिले पनि ठीक छ, नमिले पनि ठीक छ । नेपालका कम्युनिस्ट नेपालकै कुरालाई लिएर विभाजित हुँदैनन् । विदेशको कुरालाई लिएर विभाजित भइदिन्छन् । अहिले यस्तो कुनै पनि विषयमा बहस भएन । न चीनको कुरा उठ्यो, न भारतको । कसरी उठ्नु ? कम्युनिस्ट भए पो उठ्नु !
अर्को प्रमाण हो, डा. बाबुराम भट्टराई । उहाँले त वामपन्थ नै छोडिसक्नुभएको थियो । उहाँ आफूलाई वामपन्थी भन्न रुचाउनु हुन्न । वामपन्थीको ठाउँमा नयाँपन्थी भन्न उहाँलाई बरु मन लाग्छ । यो नयाँपन्थी पनि यही एकीकरणमा मिसिन आयो । वामपन्थी नै भएको भए उहाँ किन आउनुहुन्थ्यो ? वामपन्थी पार्टी त्याग गरी पूर्णरूपमा अवामपन्थी बनिसकेको मान्छे फेरि वामपन्थमै फर्कन्छ ? खोलो फर्केको कहिल्यै देख्नुभएको छ ? खोलो फर्किंदैन भने बाबुराम किन फर्किनुहुन्छ ?
जेहोस्, यो एकीकरणबाट अरुले केही नपाए पनि बाबुराम र प्रचण्डले भने धेरै कुरा पाएका छन् । बाबुरामले त जीवन दानै पाएभन्दा पनि हुन्छ । प्रचण्डले ४० प्रतिशत पाए । बरु एमालेले चाहिँ के पायो ? यो पार्टी एकीकरणबाट एमालेले के पाएको छ ?
एमालेकै एकजना चल्तापूर्जा नेतालाई यो प्रश्न राखेको थिएँ । जवाफ आयो, ‘करिश्मा मानन्धर पायो नि ! करिश्मा मानन्धर पहिले नयाँ शक्तिकी मात्र हुनुहुन्थ्यो । अब एमालेकी पनि हुनुभयो ।’ यो एकीकरणबाट एमालेले पाएको सबैभन्दा ठूलो उपलब्धि सायद यही हो । छ अर्को उपलब्धि ?








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad